काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ७९ लाख १९ हजार दुई सय १५ बराबरको कारोबार भयो । प्रभु बैंक रु दुई करोड ६१ लाख सात हजार पाँच सय २८, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख ९९ हजार आठ सय तीन, हिमालयन डिस्टिलरी रु एक करोड ८० लाख ९५ हजार नौ सय ९२ र प्राइम बैंकको रु एक करोड ६२ लाख ८१ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावर नौ दशमलब ९६, कुमारी धनबृद्धि योजना तीन दशमलब ८५, इन्फिनिटी लघुवित्त तीन दशमलब ८० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब ६५ प्रतिशतले कमाएका छन् । त्यस्तै पिपल्प पावर नौ दशमलब ९७, बलेफी हाइड्रोपावर पाँच दशमलब १०, रिलायन्स फाइनान्स चार दशमलब ७२, स्ट्याण्र्डड चार्टड बैंक चार दशमलब ४३, बिन्दबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलब २३ प्रतिशतले गुमाएका छन् ।
भरतपुर : भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ । “यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन”, उहाँले भन्नुभयो । केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडाँै भित्र्याइने गरेको छ”, उहाँले भन्नुभयो । सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक–दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गर्नुभयो । “छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छाँै”, उहाँले भन्नुभयो, “नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।” उहाँले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन”, अध्यक्ष पन्तले भन्नुभयो । केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । “सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।” उहाँले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताउनुभयो । “चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो”, उहाँले भन्नुभयो । चितवनमा छ सय बिघामा मात्रै हरियो ९जिनाइन० केरा लगाएको घिमिरेले बताउनुभयो । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उहाँको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उहाँले बताउनुभयो । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् । चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । “राज्यले किसानलाई मल र बीउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन”, घिमिरेले भन्नुभयो । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ । भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउनुहुन्छ । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उहाँको भनाइ छ । केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ । नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । “चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौँ हो”, उहाँले भन्नुभयो, भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।” काठमाडौसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ । देशभर केराको कुल माग पाच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ ।
रेसुङ्गा, पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२-२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहनुभएको छ । उहाँको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुहुन्छ । उहाँले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउनुहुन्छ । उहाँले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पु¥याउनु भएको छ । उहाँले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गर्नुभएको हो । उहाँसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गर्नुभयो । उहाँसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उहाँले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिनुभएको छ । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गर्नुभएको छ । उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राख्नुभएको छ । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउनुहुन्छ । रोजगारी सिर्जना गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् । यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्नुहुन्छ । ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ”, गोकर्णले भन्नुहुन्छ । उहाँले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उहाँले झेलिरहेनुभएको छ । गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उहाँले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उहाँको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उहाँले बताउनुभयो । अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउनुहुन्छ । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ । मोटरसाइकल बेचेर लगानी गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्नुहुन्थ्यो । केही गर्ने हुटहुटीले उहाँले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गर्नुभयो । उहाँले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोप्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल हुनुभयो । उहाँले यसलाई सफलताको रूपमा लिनुभएको छ । वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आपूm घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो । “मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ”, गोकर्णले भन्नुभयो । घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उहाँको भनाइ छ । पागलको उपनाम पाएँ ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । “सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्”, गोकर्णले भन्नुभयो । कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउनुहुन्छ । “सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो । गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताउनुभयो । “वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उहाँको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउनुहुन्छ । हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उहाँ अरूलाई सुझाउनुहुन्छ । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ । “सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।” श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उहाँले बताउनुभयो । खेस्रामा पनि अब्बल गोकर्ण गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराउनुभएको छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताउनुभयो । उहाँले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गर्नुभएको छ । उहाँले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताउनुभयो । गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उहाँहरुलाई उपलब्ध गराइसक्नुभएको छ ।
कञ्चनपुर : कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहनुभएको छ । उहाँसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् । विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आउनु भएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित हुनुहुन्छ । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।” बाख्रा पालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँं तिहारजस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । दसँै तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि केही वर्षयता कारोबार घटेको मानसिंह बताउनुहुन्छ । “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलतोल बढी गर्छन्, मोल नै पाउँदैनौँ ।” उहाँको गुनासो छ । दसैँ–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् । पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन् । दसैँ खर्च जोहो गर्न मलासबाट तराई झरेका किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश वनेका छन् । चवन्नवटा खसीबोका लिएर मलासबाट महेन्द्रनगर झर्र्नुभएका कुरेनीका गोरे धामी आउने ग्राहकलाई खसी बोका देखाइरहनुभएको छ तर मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेका उहाँको गुनासो छ । “थोरै मात्र बिक्री भएका छन्, बिक्री नहुँदा त्यसै घर फर्काउने पर्ने अवस्था छ”, उहाँभन्नुहुन्छ, “कोरोना पछि खसी बोका बिक्री नै भइरहेका छैनन्, चार/पाँच वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो, त्यसले वर्षभरिको खर्च धानेको थियो ।” गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान जीतबहादुर धामी बताउनुहुन्छ । “खसी बोका केही हामीले पालेका छौँ, केही उधारोमा बिक्री गरेपछि दिने गरेर गाउँलेहरूबाट सङ्कलन गरेर ल्याएका छौँ”, उहाँ भन्नुहुन्छ, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ, बिक्री नहुँदा ऋण काढेर पनि गाउँलेको पैसा तिर्नुपर्छ ।” भारतबाट आयात हुने खसी बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको उहाँको भनाइ छ । “भारतबाट सहजै आउने हुनाले त्यस्ता खसी बोकाले बजार बिगारेको छ, चाडबाडले धेरै यताउता गएकाले पनि यसपटक बिक्री हुन सकेन ।” धामी भन्नुहुन्छ । महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको मलासबाट झरेका किसानहरूको गुनासो छ । “अहिले भिनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसी बोका राख्ने ठाउँ छैन”, करे धामी भन्नहुन्छ, “त्यसले समस्या छ, ठाउँ उपलब्ध गराए त्यस बापतको पैसा तिर्न पनि तयार थियौँ ।”
पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ । सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो । फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ । करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ । बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ । अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।
निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिनुभयो । सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ । सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो । नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ । “नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ । सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।
बागलुङ: सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ । सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उहाँले भन्नुभयो, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।” मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो । बेमौसमी सुन्तलाको प्रतिकिलो रु एक सय ८० मा बिक्री हुने गरेको छ । चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका उहाँले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उहाँले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।
पाेखरा: नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसँैका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।