पोखराः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनबाट प्रत्यक्षतर्फ पहिलो र समानुपातिक तर्फ दोस्रो बनेको नेपाली कांग्रेसले ३२ जनाको नाम सिफारिस भएको हो । यसमध्ये प्रतिनिधिसभा तर्फ कांग्रेसले गण्डकी प्रदेशबाट २ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष निर्वाचनमा दोस्रो र समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले ३४ जनाको नाम सिफारिस गरेका छ । यसमध्ये प्रतिनिधिसभा तर्फ गण्डकी प्रदेशबाट २ जना सिफारिस भएका छन् । प्रदेशसभा तर्फ कास्कीकाबाट ४ सिफारिस भएका छन् । यस्तै, निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ तेस्रो बनेको माओवादी केन्द्रले पनि १४ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । गण्डकीमा प्रतिनिधिसभा तर्फ माओवादीबाट १ जना सिफारिस भएका छन् । पहिलो पटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूले समानुपातिक तर्फ पाएको १३ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये गण्डकीबाट २ जना पुरुषको नाम सिफारिस गरेको हो । यस्तै, पाँचौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूले पाएको ७ जना समानुपातिक सांसदको नाम सिफारिस गरेको हो । जसमध्ये गण्डकीबाट कोही पनि परेनन् । यस्तो छ गण्डकी प्रदेशबाट समानुपातिक सांसदः (सूचीसहित) नेपाली कांग्रेस प्रतिनिधिसभा तर्फ १.जीवन परियार २.कुसुम थापामगर प्रदेश सभातर्फ १.दिलमाया पौबी २. टीकाकुमारी बस्याल ३. विमला गौचन ४. रेखा गुरुङ ५. सरस्वती गुरुङ ६. पार्वती तामाङ ७. सरस्वती अर्याल तिवारी ८. चम्पादेवी खड्का ९. कल्पना तिवारी नेकपा एमाले प्रतिनिधिसभा तर्फ १.एकनाथ ढकाल २.देवी भट्टचन प्रदेशसभा तर्फ १.यसोदा रिमाल २. देवका पहारी त्रिपाठी ३.कृष्णप्रसाद पाठक ४.प्रकाश केसी ५.विना थापा ६.निर्मला थापा ७.राजकुमारी भुजेल ८.लिलाबहादुर थापा ९.नन्दकला दमाई १०.गोविन्दबहादुर नेपाली माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ १. हितराज पाण्डे (पुरुष) प्रदेशसभा तर्फ १.दमयन्ती रुचाल २. कुसुम बुढा मगर ३.सुशीला सिम्खडा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फः १.डा.ढाकाकुमार श्रेष्ठ २. शिव नेपाली राप्रपा प्रदेशसभातर्फ १.पञ्चराम गुरूङ २.बिन्दु पहाडी प्रतिनिधिसभातर्फ राप्रपाबाट कोही परेनन् ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने उनले बताए । सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताए । पत्रकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिंदै उनले गण्डकी प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको स्पष्ट पारे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताए । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारे । विकास र पत्रकारिता संगसंगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उनले जोड दिए । श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताए । पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधंै साथमा रहने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताइन् । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उनले स्पष्ट पारिन् । आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिवद्धता जनाइन् । महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गरेका थिए । विभिन्न प्रस्ताव पारित साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसंग अपिल गर्दैै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरि आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सञ्चारगृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ । यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेण्डामाथि लिखितरुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टिकरण दिनुपर्ने र बिना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीको प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । प्रस्ताव समितिमा प्रकाश ढकाल, सन्देश श्रेष्ठ, रोहितराज पराजुली, खीमा गुरुङ, गौरव त्रिपाठी र सुरेश रानाभाट रहेका थिए । साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसाद बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।
पोखराः कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् । नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै खेलमा जित हाँसिल गरेका हुन् । दोश्रो सेटको खेलमा १–० ले पछि परेका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए । पहिलो सेटको खेल हाङले ६४ ले आफ्नों पक्षमा पारेका थिए । महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाल भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन् । प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन् । त्यसैगरि दोश्रो स्थान हाँसिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् । पुरुषतर्फ भारतका बंश नन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोश्रो स्थान हाँसिल गरेका थिए । विजयी खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कायस्थले पोखराले टेनिसमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए । वर्षेनी यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले खेलाडीलाई व्यवसायीकताको बाटोमा अघि बढाएको कायस्थको भनाई थियो । खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि टेनिस सिद्ध भएको उनले जनाए । पोखराको टेनिस विकासमा निजी क्षेत्रको अहम भूमिंका रहेको जनाउँदै अब सरकारी र कर्पोरेट क्षेत्रले पनि यसको महत्व बुझ्न आवश्यक रहेको औल्याए । आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै अब पोखरामा छिट्टैनै माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जनाए । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखरामा महोत्सवका मिति सार्वजनिक भइरहेका छन् । यसैबीच पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्ध स्टिल्स् राष्ट्रिय व्यापार मेला मंसिर १६ देखि जारी छ । आगामी पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव पोखरा महानगरपालिका २७ स्थित तालचोकमा आयोजना हुदैछ । त्यस्तै अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखरा लेकसाइडमा पुष १३ देखि १७ गतेसम्म हुने सडक महोत्सवको तयारीमा जुटेको छ । भने पोखराको अन्तिम महोत्सवका रुपमा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गर्छ । जुन ११ औं संस्करणको महोत्सव पुष २७ देखि माघ ९ गतेसम्म अमरसिंह चोरमा सञ्चालन हुनेछ । यसरी पोखरामा वर्षेनी मेला र महोत्सव गरि दर्जनौको सँख्यामा आयोजना हुने गर्छ । सो मेलाहरुको उद्देश्य भनेको स्थानीय उत्पादनको विक्री वितरण तथा प्रवद्र्धन गर्नु हो । त्यसैले देशका विभिन्न भूभागबाट व्यापारीहरुको जमघट हुन्छ । यसप्रकारका मेलाहरुमा व्यवासायिक प्रवद्र्धनसँगै हाँस्यव्यङ्ग्यसहित मनोसञ्जनका कार्यक्रमहरुपनि समावेश हुन्छ । तर पोखराको नयाँबजारमा जारी व्यापार मेलामा मनोरञ्जन भन्दा व्यापारलाई बढी प्राथमिकता दिएको छ । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी करिब २ सय ५० स्टल निर्माण भएका छन् । अटोमोवाइल्सका स्टलबाट सुरु हुने स्टल अन्तिममा चमेनागृहमा पुगेर टुङ्गिन्छ । सोही स्टलहरुमध्येको ३५ नम्बरमा एक अधबैशे भेटिन्छन् । उनी सुदुरपश्चिम प्रदेशका ५० वर्षिय मनिराज भट्ट हुन् । भट्ट र राष्ट्रिय व्यापार मेलाको सम्बन्ध पुरानो हो । उनलाई १८ वर्षे सम्बन्धले औद्योगकि व्यापार मेलामा तानिरहन्छ । ‘म २०६१ सालदेखि यो महोत्सवमा निरन्तर जोडिएको छु । मलाई पुरानो सम्बन्धले तान्यो, सुनगाभा न्यूजसँग भने, ‘पहिलेजस्तो अहिले त्यती व्यापार भएन । अरुबेलाजस्तो खासै मान्छे छैनन् । खै प्रचारप्रसार नभएरहोकी किन हो कुन्नी ।’ भट्ट विजयसालबाट (एक प्रकारको वनस्पती) बनाइएका अम्खोरा र गिलास बेच्न भीमदत्त नगरपालिका कञ्चनपुरदेखि पोखरा आइपुगेका हुन् । ‘विजयसालको अम्खोरा’ सुदुरपश्चिमको ब्राण्ड हो । जुन बहुउपयोगी तथा लोपउन्मुख वनस्पतिबाट बन्छ । कलात्मक ढंगबाट बनाइएका अम्खोरा र गिलास नकिनेपछि प्राय मेलामा पुग्नेहरुले त्यसबारे बुझेर फर्कक्छन् । भट्टका अनुसार उक्त गिलास वा अम्खोरामा बेलुकी पानी राखेपछि अर्काेदिन बिहान पानीको रंग बदलिन्छ । त्यो पानी पिउदा पेट र पिसाब सफा हुने, मधुमेह, ग्यास्ट्रिक, अल्सर, जन्डिस, कब्जियत लयायतका रोगहरु ठीक हुने विश्वास रहेको छ । ‘विजयासाल कञ्जनपुर आसपासमा पाईने प्रख्यात वनस्पति हो, तराइका फाँटहरुमा चुरेफेद, समथर भू–भागमा यो वनस्पति पाइन्छ, भट्टले भने, ‘प्राकृतिक जडीबुटी मध्येको बहुउपयोगी आयुवेर्दिक औषधिको रुपमा नेपाली समाजमा चलेको छ । यस वनस्पतिबाट बनेको साम्रागीमा पानी पिउँदा औषधीको काम गर्ने विश्वास छ ।’ उनको स्टलमा सो वनस्पतीबाट बनेको विभिन्न आकारका अम्खोरा र गिलास छन् । भट्टले आकार अनुसार १ हजार देखि २ हजार सम्मको मुल्यमा गिलास विक्री गरिरहेको बताए । ‘अहिले मेरोमा गिलास र अम्खोरा मात्रै छ । सानाको हजार पर्छ अनि ठुलो साइजको २ हजारसम्म पर्छ ।’ उनले भने । उनले आफ्नो प्रदेशमा विजयसालबाट बनेको सामानहरुको लोकप्रियता बढ्दो रहेको बताए । ‘यहाँ पनि विजयसालको बारेमा बुझ्नेहरुले किन्नु हुन्छ । हाम्रो प्रदेशतिर यो वनस्पतीबाट बनेको सामानहरुलाई ठुलो ठुलो कार्यक्रममा पनि मायाको चिनोकै रुपमा दिने चलन छ । यसको बहुउपयोगिता छ ।’ उनले भने । देशका विभिन्न मेला महोत्सवमा आफ्नो उत्पादन विक्री वितरण गर्दै हिडेका भट्टको कञ्चनपुरमा ‘भट्ट मेरिट काष्ठ उद्योग’ सञ्चालनमा रहेको छ ।
पोखराः प्रदेश खेलकुद परिषद गण्डकीले (आइतबार) पोखरामा एक कार्यक्रमकाबीच खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो । प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् । असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता संघलाई नगद रु २० हजार प्रदान गरेको छ । त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए । सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णु बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
कास्की: पद्म नर्सिङ होम कलेजमा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राख्दै आन्दोलित बनेका छन् । अनेरास्ववियुको सहयोगमा पद्म नर्सिङ होममा अध्ययनरत विद्यार्थीहरु कलेज अगाडी आज (बिहिबार) धर्ना दिदैं प्रशासनको ध्यानाकर्षण गरेका हुन् । बिएससी नर्सिङ तेस्रो तहमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठनलाई निरन्तरता दिन माग गर्दैै नाराबाजीसहित विरोध गरे । सुनगाभा न्यूजँग बोल्दै एक विद्यार्थीले अन्तिम परिक्षा (बोर्ड परिक्षा) नजिकिदासमेत प्रशासनले पठनपाठन सुचारु गर्न नसकेको गुनासो गरिन् । ‘हाम्रो क्लास भएको छैन । प्राक्टिकल पनि बाँकी छ । फर्म भरिसक्यौ । रुटिङ आउने बेला भइसक्यो कतिबेला आउँछ थाहै हुन्न, उनले भनिन्, ‘हामी सरको घरमा पनि गएर कलेज ल्यायौ अनि १८ गतेको डेट दिनुभथ्यो । तरपनि क्लास भएन अनि दाइहरुलाई (अनेरास्ववियु) बोलएम ।’ कलेज प्रशासनको चरम लापरबाही गरेकै कारण आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाई छ । ‘हामीलाई पढाईको महत्व छ । केटी/केटी भएको कलेज भनेर होकी के हो हामीलाई एकदमै हेपेर क्लास नै गरिदिएको छैन, नाम नखुलाउने सर्तमा भनिन्, ‘अझ हामीले फि तिर्न एक दिन लेट गर्याै भने फाइभ हन्ड्रेड चार्ज लाइदिन्छ । हाम्रै पैसा खाछ अनि लुकेर हिडिराछ ।’ त्यस्तै प्रदर्शनमै रहेकी अर्का विद्यार्थीले आफुहरुलाई सरले झुक्याउने गरेको बताइन् । ‘सरले जहिल्यै झुट बोल्नुहुन्छ । इभन घरै हुदापनि खाली बाहिर छु भन्नुहुन्छ ।’ उनले दुखेसो पोखिन् । विद्यार्थीहरुका अनुसार गत भदौदेखि उनीहरुको पठनपाठन ठप्प छ । उनीहरुले अन्तिम परिक्षाका लागि फर्म भरिसकेका छन् । तर कलेज प्रशासनले भने बेवास्ता गरेको उनीहरुको तर्क छ । ‘बाबा आमालाई कसरी भन्ने ? त्यत्रो खर्च गरेर पढाउनुभछ, कोही होस्टेलमै बसेका छन् कति रेन्टमा बसेर पढेका छन्, सबैको एउटै मेन्टालिटी हुदैन । हामीलाई पढाईको महत्व छ । तर प्रशासनले आलटाल मात्रै गरिराछ ।’ एक विद्यार्थीले भनिन् । विद्यार्थीहरुले प्रदर्शनको क्रममा ‘हाम्रो माग पुरा गर, कलेज प्रशासन होसियार, हाम्रो भविष्यमाथि खेलवाड गर्न पाइदैन, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराबाजी गरेका थिए । विद्यार्थीहरुको विरोध प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता महेन्द उपाध्याय लगायतको टोलीले साथ दिएको थियो ।
एक सातादेखि स्याङ्जाको क्षेत्र नम्बर २ अन्तरगत चापाकोटमा मतगणना हुन सकेको छैन । चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा रोकिएको मतगणना १२ गतेपछि मात्रै थाहा हुनेछ । मतदान केन्द्रमा बलपूर्वक केही व्यक्तिले फर्जी मतदान गरेको र करिब ९८ प्रतिशत मत खसेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेपछि त्यहाँ मतगणना हुन सकेको छैन । एमालेले पुनः मतदानको माग गरेपनि नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने एकोहोरो अडान राखेको छ । यसैबीच, चापाकोट मतदानस्थलमा खटिएका मतदान प्रतिनिधिले गत बिहीबार बुथ कब्जा भएको भन्दै पत्रकारले सम्मेलन नै गरे । यस केन्द्रको मतगणना गर्न निर्वाचन आयोग स्याङ्जाले हरसम्भव प्रयास गरेपनि असफल भएपछि आयोगको केन्द्रीय कार्यालयको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको छ । अनुसन्धानपछि टोली राजधानी फर्किएको र १२ गते यस विषयमा निर्णय हुने जानकारी प्राप्त भएको छ । अब यस केन्द्रमा मतदान हुने वा मतगणना हुने भन्ने विषय आयोगको प्रतिवेदनमा निर्भर हुनेछ । चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे मतदान केन्द्रमा समस्या देखिएकाे हाे । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरी मतदान गरेको एमालेको आरोप छ । यहाँ एमालेबाट पद्या अर्यालय, कांग्रेसबाट धनराज गुरुङ् मुख्य प्रतिष्पर्धामा छन् । त्यस्तै, राप्रपाबाट लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङलगायतका प्रतिष्पर्धी रहेका छन् । स्याङ्जा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले जीत हासिल गरिसकेका छन् ।
सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ । मतगणनाको सुरुवाति चरणदेखि अग्रता लिएकी रास्वपा उम्मेदवार गोमा तामाङ अहिले पछि परेकी छिन् । तामाङलाई जसपाका अशोक कुमार राइले १ सय १८ मतले पछि पारेका हुन् । तेस्रोमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत ल्याएका छन् भने चौथोमा ६ हजार ९२९ मतकासाथ स्वतन्त्र उम्मेदवार प्रदीप मेयाङ्बो रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार राईको ६ हजार ४६० मत रहेको छ ।
पोखरा: पोखरामा ९१ वर्षीय वृद्ध मुसी कुवर प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनु भएको छ । कास्कीमा बिहान चिसोका कारण अधिकांश मतदान केन्द्रमा मतदाता कम उपस्थिति रहेपनि अहिले उपस्थिति बढ्दै गएको तालबाराही मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद आचार्यले बताए । ‘बिहान मतदाताको संख्या अलि कम थियो’ उनले भने, बिहान चिसो मौसलले होला मतदाताको संख्या कम नै थियो । अहिले मतदाताको उपस्थिति बढेको छ ।’ आज ( आइतबार) देशभर मतदान भइरहेको छ । कास्कीको तिन निर्वाचनमा क्षेत्रमामा तीनसय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । कास्कीबाट २ लाख ६४ हजार ४ सय ५६ मतदाताहरु निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये १ लाख ४० हजार ३ सय ६९ जना महिला, १ लाख २४ हजार ८३ जना पुरुष र अन्य ४ जना मतदाता रहेका छन् । हेरौं तस्बिरमा...