प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

  ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’   लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ ।   नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।   पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताउनुभयो । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताउनुभयो । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।   नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन”, उहाँले भन्नुभयो ।   पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताउनुभयो ।    नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।   आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”   ‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने  जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’   यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके”, उहाँले  भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।   अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”   कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश  श्रेष्ठले बताउनुभयो ।   असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।   ‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असारमास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’

काठमाण्डौँ :       सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

पोखरा :    नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतूल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई खुलेआम चुनौती दिएर जनताको आवाज बुलन्द गर्ने र जनताको अधिकार प्राप्तिमा अग्रणी भूमिका खेल्ने नेता नै भण्डारी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।   नेकपा (एमाले) ले अङ्गिकार गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता जननेता भण्डारीको ७१ औं जन्मजयन्तिका अवसरमा प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले भण्डारीले प्रतिपादन गरेको जबजमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रताका सवालमा चर्चा गरेका हुन् । जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा रहेको वक्ताहरुको जिकिर छ । माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै प्रभावित रहेको वक्ताहरुको भनाई छ ।     प्रमुख वक्ता एमाले स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही मार्गमा अघि बढाउने सिद्धान्त नै जबज रहेको भन्दै नेता भण्डारीले सहयोद्धाहरुकै असहयोगका बीच यसलाई स्थापित गराएको बताए । ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ । यसको जरो जबज नै हो । पार्टी, नेता नरहेपनि देश र लोकतन्त्र रहनुपर्छ ।’– अधिकारीले भने ।    अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै उनले सञ्चारजगत झनै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले आफू पनि पीडित भएको स्मरण गर्दै भने– ‘कुनैबेला मलाई रातो पासपोर्ट बेच्यो भनेर कूप्रचार गराइयो, चुनावमा हराइयो । तर, त्यसबेला पासपोर्ट फिर्ता गर्ने ३ जनामा नरहरि आचार्य, सुवास नेम्वाङ र म नै थिएँ । म हारेँ, तारानाथ रानाभाट जिते, प्रतिगमनको मतियार बने, म त बन्थिनँ नि । त्यसरी स्वतन्त्रताको दुरुपयोग हुँदा व्यक्ति मात्र होइन, सबैलाई असर पर्छ ।’   अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहँदै अर्का वक्ता वरिष्ठ एवं स्वतन्त्र पत्रकार नारायण कार्कीले राजनीतिक दलीय प्रतिष्पर्धामा होमिने, जनताको अभिव्यक्ति कुण्ठित नहुने गरी सिद्धान्त नै आफै बनाएर अघि बढेको कम्युनिष्ट पार्टी नेकपा एमाले आज राष्ट्र हाँक्ने पार्टी बन्नुको श्रेय मदन भण्डारीलाई नै जाने बताए । उनले भण्डारीको अस्वभाविक मृत्यु प्रकरणबारे छानविनमा एमालेको उदासिनताका बारेमा पनि प्रश्न उठाए ।    उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको पनि सीमारेखा हुने बताए । अहिले पत्रकारहरुले राजनीतिक पद प्राप्तिको माध्यम पत्रकारिता बनाउनु दुःखद विषय भन्दै पत्रकारिता राजनीतिक दल र नेताबाट प्रभावित बनेको गुनासो गरे ।   एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज भीम कार्कीले नेपाली बाम आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने दुरदर्शी राजनेता भण्डारी रहेको बताउँदै जसले सयौं वर्षका लागि विचार निर्माण गरी जबज प्रतिपादन गरेको बताए । ‘२०४७ सालको संविधान विश्वकै उत्कृष्ट भनियो । तर, नेता भण्डारीले २७ बुँदे असहमति उहीबेलै प्रकट गर्नुभयो । त्यसको १९ वर्षपछि जनआन्दोलनको बलमा लेखिएको अन्तरिम संविधानमा ती सबै बुँदा समेटिएको छ ।’ – कार्कीले भने– ‘ नेता भण्डारीको दुरदर्शिताकै कारण मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति नभएपनि आज सर्वोच्च नेताका रुपमा स्मरणमा रहनुभएको छ ।’   एमाले गण्डकी उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले नेपाली कम्युनिष्टको मूल विचारधारा नै जबज रहेको बताए । ‘प्रचण्डहरु अन्ततः यही लाइनमा आउने चरणमा हुनुहुन्छ । पार्टी एकतासम्म गरेका हौँ । उहाँहरु अझै सच्चिन जरुरी रहेको मलाई लाग्छ ।’ – आचार्यले भने ‘समाज र पार्टी लोकतान्त्रिकरणको एजेण्डा उठाउने मदन भण्डारी नै हो ।   एमाले गण्डकी सदस्य एवं प्रेस चौतारी फाँट ईञ्चार्ज रामकृष्ण ज्ञवालीले विश्वमा कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु कम्युनिष्टको नयाँ सिद्धान्त जबज प्रतिपादन गर्ने नेता मदन भण्डारी भएको बताए । जबजबका १४ विशेषतामा दोस्रो बुँदा नै अभिव्यक्ति स्वतन्त्रता रहेको उनको भनाई छ ।    प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरे भने सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रेस चौतारी गण्डकीले प्रकाशन गरेको भित्तपात्रो समेत कार्यक्रमा अतिथिहरुबाट सार्वजनिक गरिएको थियो । 

    पोखराः     गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र समग्र मुलुकको जिविकाको मुख्य आधार खेतीपाती नै रहेको भन्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् ।    उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ ।’ यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ दिवस मनाइएको छ ।    विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।    मुख्यमन्त्री पोखरेलले यस अवसरमा सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’   

काठमाडौँ :       काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।        पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।    होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।        सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताउनुभयो । नागरिकको सहजताका लागि कामपाले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।  

  गोरखा :      आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले असार १९, २० र २१ गते जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।   कोरोनाका कारण २ वर्ष यता हुन नसकेको प्रतियोगिता यस वर्ष भने वर्खामै भएपनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यस अघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए,’ उनले भने,‘अहिले वर्खामै भएपनि प्रतियोगिता गर्नु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ वर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भएपनि यसले जिल्लाको खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर ३ दिनको बनाएका छौं,’ उनले भने,‘हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट्याक बनाएर रङगशालामा गरिनेछ ।’   सहभागिताका लागि सबै स्थानीय तहहरुलाई टेलिफोन मार्फत जानकारी गराइसकिएको छ ।  प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराते ताइकान्दु र टेबल टेनिस लगायतका विद्यामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । ‘अब स्थानीय तहहरुले १७ गते अघि पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझ सम्म बिजेता खेलाडी पठाइसक्नु पर्नेछ,’ अध्यक्ष बस्नेतले भने,‘जिल्लाका बिजेताहरु २२ गते प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाई पोखरा पुग्नेछन् ।’ प्रदेश स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने बताइएको छ । त्यहाँ बिजेताहरुलाई राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जानेछन् । सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो ।  प्रतियोगिताका लागि बजेट प्राप्त नभएपनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकहरुको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।

कञ्चनपुर :       कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताउनुभयो ।   “अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् । 

झापा :     सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ ।   सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ ।   यता रतुवा खोलाले गौरादह–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।   वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल–बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

काठमाण्डौँ :       मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गर्नुभएको थियो । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गर्नुभएको छ । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उहाँले बताउनुभयो ।    गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।     सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ । स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न गाह्रो भएको छ ।    पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले खट्टेबाट जाने गरेका थिए । त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ । मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन् । तर हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छ ।    हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो । सो पुलभन्दा माथिल्लो क्षेत्रमा यात्रा गर्न गाह्रो रहेको स्थानीयवासी हस्त पण्डितले बताउनुभयो । बिरामी हुुँदा र खाद्यान्न ढुवानीमा समस्या पर्ने गरेको उहाँको भनाइ छ । सरकारले सकेसम्म चाँडो यहाँको समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।    असार लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारीले बताउनुभयो । खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उहाँ र उहाँको परिवारमा छ । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ ।” असार सुरु भएसँगै भारी वर्षाका कारण नदीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नदीमा बनाइएका अस्थायी संरचनामा बाढीले क्षति पुर्याउन थालेको छ ।    गत वर्षको बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि मेलम्ची तथा हेलम्बु क्षेत्रको माथिल्लो भेगका स्थानीयवासीले कष्टकर जीवन बिताउँदै आएका छन् । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुल र ईन्द्रावती पाँच पोखरी जोड्ने अस्थायी पुलमा क्षति पुगेपछि आवतजावत बन्द छ । वैकल्पिक बाटो प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पालिकावासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वैकल्पिक बाटो सुधारको काम गरिरहेका छौँ ।”   प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षायाममा आउने बाढीपहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको अभाव छ । मेलम्ची खानेपानी आयोजना भन्दा माथिको तटीय क्षेत्रमा अझै पनि जोखिम रहेको छ । सो विषयमा खानेपानी मन्त्रालयसँगको समन्वयमा एशियाली विकास बैंकले अध्ययन गरेको थियो ।   पूर्वतयारी गरिरहेको तथा विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणको काम पनि भइरहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । यस वर्षको सङ्घीय सरकारले बजेटमा मेलम्चीको फट्टे र इन्द्रावती नीदमा पुल बनाउन बजेट विनियोजन गरेको छ ।    चाँडै पुल सम्पन्न भएर नागरिकको जनजीवन सजिलो हुने यहाँका पालिकाको अपेक्षा छ । अस्थायी पुलमा क्षति पुगेसँगै मेलम्चीहुदैँ पाँच पोखरी, इन्द्रावती, हेलम्बुलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ । सरकारले गत वर्षदेखि नै वैकल्पिक सडकको कुरा उठाउँदै आए पनि त्यो पूरा नहुँदा नागरिकको जनजीवन सजिलो हुनसकेको छैन ।    पुल बजारबाट अम्बाथानसम्मको सडक निर्माण मेलम्ची खानेपानी आयोजनाले गरेको थियो । वर्षा पहिले आयोजना कुनै पनि काम नहुने हुँदा सडक निर्माण र मर्मत गर्ने तत्काल योजना आयोजनाको छैन । स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले पालिकाले सडक खुलाउन लागेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।   उहाँले भन्नुभयो, “पालिकाहरुले आयोजनासँग सडक निर्माणका लागि रकम माग गरिरहेका छन् ।” गतवर्ष वर्षामा क्षति भएको चनौटे पुल बगाएपछि बेलिब्रिज बनेको छ । त्योभन्दा माथि फलामको पुल बनाइएको भए पनि अहिले क्षति भएको छ । त्यो ठाउँमा गाडी जाने गरी बनाउन सकिन्छ कि सकिँदैन भनेर पहिले बुझ्नुपर्ने उहाँले बताउनुभयो ।    अहिलेका लागि वैकल्पिक सडक नै यी पालिकामा सडक सञ्जाल जोड्ने विकल्प भएको आयोजनाले जनाएको छ । सुन्दरीजल हुँदै अम्बाथान पुग्ने सडक खोल्ने काम केही अघि बढेको छ । हेडवर्कमाथि ठूलो चट्टान तोड्न समय लागेको र त्यो सकिएपछि पहुँच पुग्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक खोलेपछि अरनिको राजमार्ग अवरुद्ध हुँदा पनि त्यसको विकल्प बन्न सक्छ ।”    वैकल्पिक सडक निर्माणका लागि आयोजनाले चालु आवमा ट्र्याक खोल्ने र स्तरोन्नति गरेको छ । सडक विभागबाट ठेक्का निस्केर काम अघि बढाइने उहाँले बताउनुभयो । गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएपछि अस्थायीरूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने  ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।    गत वर्ष क्षतिग्रस्त संरचना बनिनसक्दै पुनः यो वर्ष वर्षाले यहाँका सडक र संरचनामा क्षति पु¥याउन थालेको छ । मेलम्ची हुँदै माथिल्लो भेगसम्म जाने मेलम्ची, दुवाचौर र इन्द्रावती, पाँच पोखरीका स्थानीयवासी प्रभावित हुन थालेका छन् । गत वर्ष घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । स्थानीय तहबाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको छ ।