भोजपुर : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी तीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरेलाई लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुसार्नी बिक्रीबाट भित्रिएको छ ।” गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुसार्नी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्राम हारहारीमा खुसार्नी उत्पादन भएको गाउँपालिकाको भनाइ थियो । खोर्सानी खेती विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने शाखा प्रमुख राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ खुसार्नीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यो याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार गरिएकोे छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”गाउँपालिकाभित्रका १५० बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुसार्नी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकहरुको भनाइ छ । किसानले उत्पादन गरेको खुसार्नी ठेकेदारले घरमै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँ लगायत ठाउँमा जाने गरेको छ । गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, “खुसार्नी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुसार्नी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुसार्नीमा जरा कुहिने रोगले सताएको छ । गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।” गाउँपालिका खुसार्नी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ । कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाइएको गाउँपालिकाको भनाइ थियो । छवटा वडा रहेको गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैका आधारमा लगानी गर्छौँ । अहिले आएर कृषकले निकै राम्रो आम्दानी लिँदै आएका छन् ।” गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरेको छ । त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको स्थानलाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ । त्यसको परिणाम पनि देखिन थालेको छ । हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रूपमा खुसार्नीलाई लिन सकिन्छ । कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ । श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकले व्यावसायिकरूपमा किवी खेती गरिरहेका छन् । किवीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।” यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छौँ । अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यावसायिक खेती गरिरहेका छन् । कतिपय कृषकले लगाएको किवीले फलसमेत दिन थालेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनायो । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ थियो । अकबरे खुर्सानीको फाइदा अरु खुसार्नीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नीलगायत दुखाइ पनि कम गर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।विभिन्न आकारका यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ थियो । अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको आचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयवासीको भनाइ थियो । ठूलो गोलो लाम्चो (मिठो बास्ना आउने) जातको अकबरे निकै पिरो र सबैले मन पराउने जात हो । नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने अकबरेमा क्याप्सिसीन पाइन्छ । यसबाट पेटसम्बन्धी मात्र होइन अन्य रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने सम्बद्ध विज्ञले बताए ।
म्याग्दी : जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५१ वर्षीय उहाँको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशक अघि २० वर्षको उमेरमा गरिबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनु भएका घिमिरेले दश वर्ष साउदीअरब र पाँच वर्ष भारतमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने राम्रै कमाइ हुन थालेको छ । हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल हुनुभएको छ । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गर्नुभएका यी घिमिरे दाजुभाइ मात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु पनि छन् । रहरले होओस् वा बाध्यताल पैसा कमाउनका लागि दैनिक सयौँ नेपाली युवा विदेशी भूमिमा जाने गर्दछन् । अधिकांश नेपाली विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइँलाई बिट मारेर स्वदेश फर्किनुभएका रोहोटेका ४८ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारी लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मुला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर उहाँले एकै याममा रु चार लाखभन्दा बढी कमाइ गर्दै आएको बताउनुभयो । “विदेशबाट फर्किएको १० वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ”, घिमिरेले भन्नुभयो, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।” गाउँमै रु तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गर्नुभएका घिमिरेले भन्नुभयो, “आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीे उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन ।”त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले पनि तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गर्नुभएको छ । दश रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको उहाँले बताउनुभयो । तरकारीसँगै गाउँमा धान, गहुँ, मकै, कोदोको पनि खेती गर्नुभएका घिमिरेले भन्नुभयो, “१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।” अहिले मानिसले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको उहाँको भनाइ थियो । आफ्नो गाउँ ठाउँमा कृषिका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने घिमिरेले बताउनुभयो । गतवर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा सहयोग पाएर टनेल बनाएको थिएँ, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको उहाँकोे गुनासो थियो । स्वदेशमै केही गर्न चाहने मानिसका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने उहाँरुको माग थियो । “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन” घिमिरेले भन्नुभयोे कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउलास भनेर गिज्याए तर पनि म आफ्नो काममा लागिरहेँ । विसं २०६६ देखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका उहाँले आठ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनु भएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु ८ लाखभन्दा बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझैँ विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,” घिमिरेले भन्नुभयो “उमेर ढल्केपछि मलाई चेत आयो तर मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”अहिले घिमिरेको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गरेर सरदर मासिक रु ८० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन् । उहाँले भन्नुभयो, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छ ।” घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घ संस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताउनुभयो । “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो” उहाँले भन्नुभयो । राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । घिमिरेकै सिको गरेर धेरैले तरकारी खेती गर्न थालेका छन् । अहिले बञ्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् ।
चितवन : जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न लागेका हुन् । कुमरोजका व्यवस्थापक हेम कार्कीले अहिलेसम्म २०० भन्दा बढी किसानको धानको बीमा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“चार सय बिघा जमिनको धानको बीमाका लागि बीमा कम्पनीमा निवेदन पठाइसकेका छौँ ।” अझै किसानको आवेदन आउने क्रम जारी रहेको बताउँदै व्यवस्थापक कार्कीले यो सङ्ख्या बढ्ने अनुमान गर्नुभयो । कुमरोजका किसानको धानको बीमाको प्रिमिय रकम तत्कालका लागि सहकारीले तिर्नेछ । पछि सहकारीले खैरहनी नगरपालिकासँग माग दाबी गरी लिने छ । उहाँले भन्नुभयो “यसो गर्दा किसानलाई भार पर्दैन ।” बीमाका लागि सरकारबाट स्वीकृत धान वा स्थानीय जात हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । नेक ब्लाष्ट(घाँटी मरुवा), गवारो, असिनापानी, फौजी कीरा, बाढीपहिरोजस्ता कारणले धानबालीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै बछौलीका व्यवस्थापक रामहरि दाहालले रत्ननगर नगरपालिका–३ देखि ९ सम्मका सातवटा वडाका किसानको धानको बीमा गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका तीन हजार ५०० किसानको धानको बीमा गर्न लागिएको छ । यस क्षेत्रको नौ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बीमा गर्न लागिएको हो । पालिकासँगको सहकार्यमा शिखर इन्सुरेन्ससँग बीमा गर्न लागिएको व्यवस्थापक दाहाले बताउनुभयो । उहाँले भन्नुभयो “धान खेती गर्ने किसानले हरेक वर्ष कुनै न कुनै समस्या झेल्नु परेपछि धानको बीमा गर्न लागेका हौँ ।”भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले धान खेतीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गर्न किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो । यसले गर्दा राज्य र किसान दुबैलाई फाइदा हुने उहाँको भनाइ थियो । नेपाल सरकारले बीमा रकममा नै ८० प्रतिशत छुट दिने गर्दछ । बाँकी २० प्रतिशत रकम रत्ननगर र खैरहनी नगरपालिकाले बेहोर्ने निर्णय गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । सुरुमा किसानले तिरेको २० प्रतिशत रकम नगरपालिकाले पछि व्यहोर्ने गरी निर्णय गरिएको हो ।
काठमाण्डौँ : नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदै छ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई सप्ताहव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद : राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
पाल्पा : पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
काठमाण्डौँ : आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ । मङ्गलबार रातिदेखि बुधबार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षारझरी भई केही स्थानमा भारी वर्षा र केही स्थानम भारी वर्षाको सम्भावना रहेको छ । सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षारझरी भई यस प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावनाका साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षारझरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षारझरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
हुम्लाः डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताउनुभयो । सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ का मनबहादुर रोकायले बताउनुभयो । आज बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ । सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ । अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । नियमित उडान नहुँदा यहाँका अधिकांश सर्वसाधारण हेलिकोप्टर प्रयोग पनि हुँदै आएको छ । औषधोपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ । उता डोल्पामा सडक सञ्जाल पुगे पनि स्थल मार्ग र हवाई मार्गमा बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाई मार्गतिर जोड दिने गरेका छन् । जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाज मात्र उडान भर्दै आएका छन् ।
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो । “चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भन्नुभयो, “अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।” त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् । “त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।”
म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँबजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दबाब र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको बताउनुभयो । “अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवतजावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाइँ गरिएको हो ।” रणवाङ, नयाँबजार र सहश्रधाराका २० जनाभन्दा बढीले सडकमा सामूहिक धान रोपेर विरोध जनाएका हुन् । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन बनेका छन् । विसं २०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारका रुपमा गत पुसमा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सञ्चालन नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ ,” उहाँले भन्नुभयो, “मन्त्रालयमा जानकारी गराएर बिरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।” २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । विसं २०७८ चैतसम्म थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागिसमेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको मङ्गला गाउँपालिका–२ का जीवन कार्कीले बताउनुभयो । सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तीव्र गति दिने बताउनुभयो । बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीनवटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दूरीको बेनीदेखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

