महोत्तरी : जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ । प्रवक्ता प्रनाउ विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।
महोत्तरी : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाण्डौँ : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासोत रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव चार डिग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस छ ।
काठमाण्डौँ : नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गर्नुभएको हो । वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । त्यसैगरी सो कार्यक्रममा उक्त प्रतिष्ठनबाट प्रदान गरिने ‘स्रष्ट विशेष सम्मान’ स्रष्टा रुकु कार्कीलाई र ‘मातृभूमि मायादेवी पुरस्कार’ गीता खत्रीलाई प्रदान गरिएको थियो । मायादेवी मातृभूमि पुरस्कार स्रष्टा रुकु कार्कीले आफ्नी आमा मायादेवीको स्मृतिमा स्थापना गर्नुभएको हो । नेपाली साहित्य क्षेत्रमा निरन्तररूपमा लाग्ने नारी प्रतिभाहरूमध्येबाट स्रस्टाद्वय कार्की र खत्रीलाई यी पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान नेपालले जनाएको छ । यी पुरस्कारमा नगद राशिसहित सम्मानपत्र रहेको छ । सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कलाकार एवं स्रष्टाहरूको सम्मान गर्ने संस्कारले उनीहरुलाई आफ्ना क्षेत्रमा निरन्तररूपमा लाग्न प्रेरणा मिल्ने धारणा राख्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रतिष्ठनका अध्यक्ष कार्कीले नेपाली साहित्य क्षेत्रमा लागिरहेका नारीहरूलाई आगामी दिनमा पनि निरन्तररूपमा लाग्न प्रोत्साहित गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतिष्ठानले बर्सेनि पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको जानकारी दिनुभयो । सो कार्यक्रममा साहित्यकार डा रामप्रसाद ज्ञवाली, रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व डा शर्मा, खत्री र कार्कीलगायतले नेपाली साहित्य क्षेत्रका विविध विषयमा धारणा राख्नुभएको थियो ।
बाँके : बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्छ भन्नुभयो । गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन । जिल्लामा २० पुनःस्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरु २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् ।
काठमाण्डौँ : भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो । महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् । सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो । यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् । यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ । पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ । धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताउनुभयो । सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ । त्यसैले मदिरा चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ । सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन् ।
बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कोहलपुरतर्फ आइरहेको ना५ख ४२०४ नंको ट्रकले भे११प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते हुनुभएको छ । ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।
काठमाडौ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल,मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल,मट्टितेलको मूल्य १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।
काठमाण्डौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताउनुभएको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उहाँले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको बताउनुभयो । कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको पक्षमा जनतालाई सङ्गठित गर्ने हुँदा राष्ट्रियताको संरक्षणमा विदेशी शक्तिका सामू नझुकेकै कारण देशमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उहाँको भनाइ छ । पाँचदलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट कार्य न्यायोचित रुपमा हुन नसकेकाले नेकपा(एस)लाई उचित स्थान नदिइए पनि एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भएकाले अब बलियो सङ्गठन निर्माण गरी अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको मूल्यवृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने बताउनुभयो । जारी बैठकमा अध्यक्ष नेपालले चौतीस पानाको प्रतिवेदन पेश गर्नुभएको छ ।

