काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो । “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।” उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।” जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उहाँले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताउनुभयो । “नेपालमा वैदेशिक लगानी प्राप्त भइरहेका मुलुकमध्ये जापान पनि एक रहेको छ, नेपालमा सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेका छन्, नेपाल सरकारले लगानीमैत्री तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्न नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिइरहेको विषयसमेत म महामहिममार्फत सम्पूर्ण जापानी लगानीकर्तालाई जानकारी गराउन चाहन्छु”, मन्त्री भण्डारीले भन्नुभयो । जापानीहरुका लागि नेपाल महत्वपूर्ण गन्तव्य भइरहेको र नेपालमा जापानी पर्यटकको अलग्गै प्रतिष्ठा रहेको उल्लेख गर्दै उहाँले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहित गर्न आग्रह गर्नुभयो । राजदूत तोरुले नेपाल र जापानबीच आगामी सन् २०२६ मा कुटनैतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै भविश्यका दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताउनुभयो । प्राकृतिक प्रकोप तथा विपद्मा दुई देशबीच आपसी सहयोग आदानप्रदान भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि जलवायु परिवर्तन एवं विपद्जन्य अवस्थामा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । तोरुले नेपाली जनताको मौलिकता अनुसार जापान सरकारले नेपालमा उद्योग स्थापनामा सघाउने बताउनुभयो । साथै उहाँले नेपाली वस्तुको जापानी बजारमा राम्रो माग रहेको उल्लेख गर्दै नेपाली उत्पादनको गुणस्तर र परिणाममा ध्यान दिए बजार विस्तारमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले नेपाली वस्तुको जापान निर्यातमा जापान सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
कैलाली: परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताउनुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।” मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताउनुभयो । केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहनुभएकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गर्नुभएको छ ।
काठमाडौं: पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताउनुभयो । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ । यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख इश्वर भण्डारीले बताउनुभयो । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महाशिवरात्रिको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ । प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै बदलिएका भ्रष्टाचारका तरिका र प्रवृत्तिलाई निस्तेज बनाउन आयोग सक्षम हुनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसूर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न आयोग चुक्ने र झुक्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । भ्रष्टाचारसम्बन्धी विधेयक लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ ।” राष्ट्रपति पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा जागृत गराउन सक्नुपर्ने बताउनुभयो । उहाँले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शीता एवम् निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्न पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभयो । बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने यसलाई जरैदेखि निर्मूल गर्न सकिने उहाँको भनाइ थियो । उहाँले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धिको आम नागरिकको चाहनालाई सुशासन र पारदर्शीताबिना जनताको घरदैलोमा पु¥याउन नसकिने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरूपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्ने छैन ।” राष्ट्रपतिले राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आमनागरिकले आ–आफ्नो तहबाट प्रवर्द्धनात्मक र निरोधात्मक कार्य गरी भ्रष्टाचारको न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरूरी रहेको धारणा राख्नुभयो । आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवर्द्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न आयोगले विविध रणनीतिका साथ सकारात्मक पहलकदमी लिइएको जानकारी गराउनुभयो । उहाँले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणलाई अनुसन्धान कार्यले हतोत्साही नबनाओस् भन्नेतर्फ सचेत रहँदै अनुसन्धान पद्धतिमा निरन्तर सुधार गरिरहेको स्पष्ट पार्नुभयो । प्रमुख आयुक्त राईले सूचना प्रविधिको उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई थप अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकरको प्रयास भए पनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमनलगायत सङ्घीय कार्यालयको सेवा प्रवाह जनअपेक्षाअनुरूप प्रभावकारी हुन नसकेको बताउनुभयो । “प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा झन् जटिल र खर्चिलो हुन गई जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “नागरिकलाई सरल र सहज सेवा दिनका लागि थप सुधारका उपाय अवलम्बन गर्न आवश्यक देखिएको छ ।” प्रमुख आयुक्त राईले सार्वजनिक स्रोत र राज्य शक्तिको प्रयोग गर्ने पदाधिकारीमा सदाचार संस्कृतिको विकास गर्न सचेतना, प्रचारप्रसार र सहकार्यको रणनीतिसमेत आयोगले अवलम्बन गरेको बताउनुभयो । सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको संवाह र सरकार नेतृत्वकर्ता हो भन्दै उहाँले नागरिक तहबाट आएको चासोलाई सम्बोधन गरी सशुासनको अवस्था सुधार गर्न सरकारको अगुवाइमा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख आयुक्त राईले पारस्पिरिक कानुनी सहायता ऐन र सुपुर्दगी ऐनजस्ता महत्त्वपूर्ण कानुन कार्यान्वयन भए पनि सम्बन्धित मुलुकसँग द्विपक्षीय सम्झौता हुन नसक्दा मुलुक बाहिर हुने गरेको भ्रष्टाचारसम्बन्धी लेनदेनका विषयमा पारस्पारिक कानुनी सहायतामार्फत आवश्यक तथ्य सङ्कलन गर्न समस्या देखिएकाले आयोगको अनुसन्धान कार्यमा कठिनाइ आइपरेको बताउनुभयो । उहाँले सम्बद्ध मुलुकसँग पारस्परिक कानुनी सम्झौता गरी सम्पत्ति शुद्धीकरण निवारणमा सकारले शीघ्र पलहदमी लिने विश्वास व्यक्त गर्नुभयो । समारोहमा राष्ट्रपति पौडेलले आयोगको स्मारिका–२०८१ लोकार्पण गर्नुभयो । राष्ट्रपतिले आयोगका उपसचिव विष्णुराज वेलबासे र प्रहरी नायब उपरीक्षक कमलकुमार खड्कालाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र आयोगका नापी अधिकृत रूविना शाहीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कारको राशि जनही रू ३५ हजार रहेको छ । सो अवसरमा सभामुख घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने पत्रकार र सञ्चार संस्थालाई पुरस्कृत गर्नुभयो । समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, मन्त्रिगण, उच्च पदस्थ कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो । ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रवर्द्धनमा सबैको जिम्मेवारी’ नाराका साथ आयोगले आज विविध कार्यक्रम गरी ३४औँ स्थापना दिवस मनाउँदै छ ।
महोत्तरी: जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ । “हेर्नोस, हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन÷चार पुस्ता देखिन्छन्” जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्नुहुन्छ, “यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन् , अनि किन सम्झुन् वनजङ्गल !” उहाँले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड (समूह) मा बँदेलको स्थायी बसोबास बढेको बताउनुभयो । जिल्लाको भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरमम्मै बँदेल बाक्लै बस्छन् । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन बढी बँदेल देखिने गरेका खैरवनीका बासिन्दा कौशीलाल यादव बताउनुहुन्छ । यतामात्र नभएर सीमापारीका छिमेकका भारतीय बस्तीमा पनि यिनको उधुम देखिने गरेको उहाँको भनाइ छ । बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतङ्क छ । उखु नकाटिउञ्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा–४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहाल बताउनुहुन्छ । बँदेलको आतङ्कले घाँसपात गर्न , खेतबारी हेरविचार गर्न र डुलफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ । पाँच÷सात वर्षअघि भर्खर वनबाट झरेका बेलामा जस्तो आक्रमण भने पछिल्लो बँदेल पुस्ताले नगर्ने गरेको दाहालको अनुभव छ । यो निरन्तर मान्छेको चहलपहलले बानी पर्दै गएर भएको हुनसक्ने यस भेगका बासिन्दा बताउँछन् । बँदेलले धेरैजसो स–साना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । “हामीले यिनको आतङ्कले पछिल्ला चार÷पाँच वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ” रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैन भन्नुहुन्छ, “अब त यिनकै लागि बाली लगाएजस्तो भएको छ ।” बँदेलजस्तै निलगाई पनि अब जिल्लाका सुदूर दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । नीलगाई चाही वनतिर ओहोरदोहोर गरिरहेका औरही नगरपालिका –४ बैरियाका रामस्नेही यादव बताउनुहुन्छ । “बँदेल त यतै स्थायी रुपले बस्न थालेका छन् , नीलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ” यादव भन्नुहुन्छ, “यद्यपि नीलगाई पनि ठाउँठाउँमा निकै सङ्ख्यामा देखिन्छन् ।” अब बँदेल र नीलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् । जिल्लाका १५ वटै स्थानीयतहका बस्ती वरपर अहिले बँदेल र नीलगाईको उत्पातले किसान दिक्क छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ । “हामी स्थानीयतह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गरै छौँ” बलवा नगरपालिकाको रौजाका मन्सुल कवारी भन्नुहुन्छ, “तर भरपर्दो कुनै उपाय खोजिएको देखिदैन ।” खासमा जिल्लाको उत्तरीक्षेत्रका वन नजिक वरपर वन मासिँदै बस्ती बढ्दै गएसँगै यी वन्यजन्तु दपेटिएर तलतिर झर्न लागेका यहाँका पाका जन बताउँछन् । वनमा अत्यधिक मानव चहलपहल बढ्दै जानु, सिकारीको दपेटाइ बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु तलतिर झर्ने क्रम बढेको भङ्गाहा–५ सीतापुरका कृषिविज्ञ रामबहादुर भुजेलले बताउनुभयो ।
सिरहा: सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताउनुभयो । “यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ”, उहाँले भन्नुभयो,“तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।” उहाँका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा।रामबरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उहाँले जानकारी दिनुभयो । नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिनुभयो । नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको छ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उहाँको भनाई छ । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उहाँले गुनासो गर्नुभयो । देवीदहको विकासका लागि आफुँले सकेको सहयोग गरिरहेको यसै वडाका वडाअध्यक्ष प्रथमलाल चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो,“वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।” गत वर्ष वडाको आठ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घटदै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बर्द्र्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाअध्यक्ष चौधरीको भनाइ छ ।
काठमाडौं: भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ । आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ । आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् ।
काठमाडौं: नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए । ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।
काठमाडौं: आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ । यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो । विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।

