काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिनुभएको हो । “तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।” प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्नुभयो भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गर्नुभयो । सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,सांसद धु्रवबहादुर प्रधानलगायत उपस्थित हुनुहुन्थ्यो ।
खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । “रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो । एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ । आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ । उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ ।”
काठमाडौं: कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ । ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी र पर्यटन क्षेत्रमा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । राजदूत ओलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख,सुस्वास्थ्यका साथै कम्बोडियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसअघि राजदूत ओलीले धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय,एसिया प्रशान्त विभागका महानिर्देशक छाय मकारालाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षमा विचारविमर्श गर्नुभएको थियो ।
तनहुँ: बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् । पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराउनुभएको छ । बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताउनुभयो । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेका छन् । उक्त सङ्ख्यालाई दोब्बर बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।” भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनःबन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ ।
काठमाडौं: खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।
पर्वत: पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो । चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् । सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो । यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो । फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ । यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो । पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताउनुभयो । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो । सांसद गिरीले भन्नुभयो, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।” पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताउनुभयो । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उहाँको भनाइ छ ।
पाल्पा: एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पार्नुभएको छ । उहाँले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताउनुभयो । उहाँले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउनुहुन्छ । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक रू ३० हजार बराबरको खर्च भएको उहाँले बताउनुभयो । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ । मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ । विश्वकर्माले खुकुरीका अलवा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि मेलाको अवसरमा बिक्रीका राख्नुभएको छ । “नेपालीको शान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीयस्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गरेको छु, खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आइरहेको छु”, उहाँले भन्नुभयो । स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताउनुभयो । यसभन्दा अगाडि १३ केजी तौल भएको रू ४५ हजार र २० केजी तौलको खुकुरी रू ५५ हजारमा बिक्री गरिसकेको जानकारी दिनुभयो । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १५ गतेदेखि सुरू भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ । मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ ।
काठमाडौं: काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।
कैलाली: कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले नि:शुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भन्नुभयो, “विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।” शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताउनुभयो । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भन्नुभयो, “त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।” राहत रकम हस्तान्तरणअन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई रू १० हजारका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक छदिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ । पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरू गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआइपुगुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ ।

