म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताउनुभयो । “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “सुनछहरामा पूर्वाधार विकास र प्रर्वद्धनको आवश्यकता छ ।” भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत हप्ता समुन्द्रि सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाईमा रहेको सुनछहरा पुगेर फर्किएको थियो । किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् । छहराको भित्र रहेको गुफाको भित्ताहरु पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा ९रिम०ले बताउनुभयो । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाईजाले बताउनुभयो । हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप बिशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरु वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दो बस्तिको सामान लिएर जानुपर्छ । पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताउनुभयो । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिदैन् । पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा जानुभएका सुरेन गुरुङले बताउनुभयो । सुनछहरा हँुदै रिखार, धौलागिरि आधार शिविरको अस्टे«लीयन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।
काठमाडौं: निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेबु्रअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् । एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको बताउँदै उहाँले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । ‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु । दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो ।’ उहाँले भन्नुभयो– ‘नयाँ पुस्ताहरुलाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’ उहाँले लायन्स क्लबहरूले मानवीय सेवामा गरेका कार्यक्रमहरुको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।
अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही पहिरोमा परी मृततका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उहाँलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताउनुभयो । उहाँका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
काठमाडौं: आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ । यस्तै, कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवलाय गठन गर्ने तयारी भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ । संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ । कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुख्य कार्यक्रमको तयारीलाई भव्य तुुल्याउन समावेशी प्रतिनिधित्व हुनेगरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ । संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ । यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गर्नुभएको थियो । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानवजीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते हुनुभएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो । निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । “उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,” उहाँले भन्नुभयो । शनिबार बिहान ८.४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीनवटा कोठा जलेका थिए भने रु ५० लाख बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएको सो मन्त्रालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो । विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ । यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन् । विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ । गलत मनसायले सामजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ । उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ । आव २०८०र८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ ।
कैलाली: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उहाँले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह गर्नुभएको हो । “लागुऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,” मन्त्री देउवाले भन्नुभयो, “सकरात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागुऔषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।” लागुऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।” मन्त्री देउवाले लागुऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागुऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।”

