गुल्मी: मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी फागुन २० गतेसम्म सडक बन्द गरिएकोे जनाएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुभयो । सडक बन्द भएपछि कार्यालयले वैकल्पिक मार्गका रुपमा सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडक प्रयोगमा ल्याएको छ । कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्न गुल्मी र अर्घाखाँची जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ ।
काठमाडौं: हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गर्नुभएको हो । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको थियो । इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ । केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गर्नुभएको थियो । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उहाँले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ । “ शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेख्नु भएको छ, “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।”
काठमाडौं: सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा गर्दा पूर्वतयारी पूरा भएका आयोजनामा मात्र विनियोजन हुन नसक्नुलगायतका कारण उल्लेख गरेको हो । यस्तै, वन क्षेत्रको उपयोग, आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, क्षतिपूर्तिलगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत बजेट विनियोजन गर्ने प्रवृत्ति विद्यमान रहेकाले सार्वजनिक खर्चमा अपेक्षित सुधार नभएको स्पष्ट पारिएको छ । आयोजनाको निर्माण गर्ने मोडालिटी, कूल लागत, विस्तृत आयोजना प्रतिवेदन र आयोजनाको आर्थिक, सामाजिक, वित्तीय, प्राविधिक तथा भौगर्भिक पक्षको वस्तुगत विश्लेषण एवम् मूल्याङ्कन गरी बजेट प्रस्ताव गर्न नसकेका कारण बजेट कार्यान्वयन कार्ययोजनाको परिपालना हुन नसक्नुलाई पनि मन्त्रालयले कारणको रूपमा पहिचान गरेको छ । “स्रोत सुनिश्चित भएका आयोजनाहरूमा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको सङ्ख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आउनुका साथै अधुरा आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ,” अर्थ मन्त्रालयले भनेको छ । संविधानको परिकल्पनाअनुसार तीनै तहका सरकारका बीचमा पर्याप्त समन्वय र सहकार्य हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रम, कतिपय अनुदानका कार्यक्रम र विकास आयोजनाहरू समेत दोहोरो पर्न गई खर्चको प्रभावकारिता एवम् स्रोतको समन्यायिक वितरणमा समेत नकारात्मक असर पर्न गएको स्पष्ट पारिएको छ । विकास आयोजनामा आयोजना प्रमुखलगायत कर्मचारीको समयमा पदपूर्ति नहुने, छिटो छिटो सरूवा हुने, निर्माण सामग्रीको निर्वाध उपलब्धता नहुने र श्रमिक व्यवस्थापनसम्बन्धी कार्य समयमै हुन नसक्ने प्रवृत्ति कायमै रहनु पनि कम खर्चको कारक बनेको अर्धवार्षिक समीक्षामा उल्लेख छ । कतिपय निकायको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्डलगायतका कानूनमा संशोधन वा नयाँ कानून तर्जुमा समयमै हुन नसकेका कारण अर्धवार्षिक अवधिसम्म पनि खर्चको आधार नै तय नहुने अवस्था रहेको मन्त्रालयको ठहर छ । वैदेशिक स्रोतमा सञ्चालित आयोजनामा सरकारको तर्फबाट व्यहोरिने समपूरक कोषको रकम न्यून प्रस्ताव हुने गरेको र वैदेशिक सहायताबाट सञ्चालित कतिपय आयोजनामा विकास साझेदारले निर्धारण गरेको खरिद प्रक्रिया र लेखाङ्कनसम्बन्धी व्यवस्था पालना नहुँदा तोकिएको शर्त पूरा नभई समयमै शोधभर्ना प्राप्त हुन नसकेको मन्त्रालयले जनाएको छ । कतिपय नयाँ आयोजना तथा कार्यक्रमका लागि अवण्डामा राखेको रकम समयमा बाँडफाँट हुन नसक्दा आयोजना कार्यान्वयनमा ढिलाई हुने गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समिति र मन्त्रालयगत विकास समस्या समाधान समितिबाट पहिचान भएका समस्या समाधानका लागि प्रस्तावित सुझाव कार्यान्वयन हुन नसक्दा सोही समस्या दोहोरिएको समीक्षामा स्पष्ट पारिएको छ ।
काठमाडौं: कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो । बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो । मौसुफले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
सिन्धुली: झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उहाँले जानकारी दिनुभयो ।
लमजुङ: बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनुभएको थियो । उहाँ गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उहाँ हालसम्म हाजिरी हुन आउनुभएको छैन । कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ । सेवाग्राहीले समस्या भोग्नु परेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्र्पक बिहिन जस्तै हुनुभएको छ, यहाँ नआउने भए सरूवा फिर्ता लिए हुन्थ्यो, कि आउने भए बेलैमा आए कर्मचारीले तलब पाउने थिए, सेवाग्राहीले सेवाहरू प्राप्त गर्ने थिए ।” गुरूङलाई निमित्त कार्यालय प्रमुख तोकिए पनि उहाँलाई आर्थिक एवं महत्त्वपूर्ण कार्याहरू गर्ने अधिकार दिएको छैन । सेवाग्राहीका महत्त्वपूर्ण काम गर्न आफूलाई अधिकार नभएकाले समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार २६ जना दरबन्दी रहेको यस कार्यालयमा जम्मा ८ जना मात्रै दरबन्दीका कर्मचारी रहेका छन् । गुरूङले भन्नुभयो, “यसअघि पनि कार्यालय प्रमुख नहुँदा आफू असारदेखि मङ्सिरसम्म निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको र त्यो बेलामा अरू कोही कार्यालय प्रमुख नआएको तथा न तोकेकाले अधिकार मैले पाएको थिए । तर अहिले उपसचिव अधिकारीलाई नै प्रमुख तोकेर पोखराबाट सरूवा गरेर यहाँ खटाएकाले आफूलाई अहिले सबै अधिकार नहुँदा विभिन्न समस्या उत्पन्न भइरहेकाले सम्बन्धित निकायमा पटकपटक खबर गर्दै आए पनि सुनुवाई हुन सकेको छैन ।” यस मालपोत कार्यालयमा एक वर्षदेखि पटक पटक कार्यालय प्रमुख फेरिदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्र जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमुखको आगमन तथा सरूवा भएको छ । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेको उनीहरूको दुःखेसो छ । यस वर्ष चिरिञ्जीवी पौडेल कार्यालय प्रमुख भएर आउनुभयो तर एक महिनामै सरूवा हुनुभयो । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भयो । जेठ महिनामा हरेन्द्रकुमार श्रेष्ठ आउनुभयो, तर असार महिनामै सरूवा हुनुभयो । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदैआएको थियो । पछिल्लो पटक गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनु भए पनि उहाँ पनि पुस महिनामै सरूवा हुनुभयो । त्यसयता कार्यालय प्रमुखमा कोही आउनुभएको छैन । प्रमुखका रूपमा कास्कीबाट अधिकारीलाई सरूवा गरिए पनि उहाँ लमजुङमा हाजिर नहाउँदा समस्या भएको हो । यहाँ कार्यालय प्रमुखसँगै खरिदार ५ जना, कम्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु ९टाइसिन० एक जना, कार्यालय सहयोगी एक जना खाली रहँदै आएको निमित्त कार्यालय प्रमुख गुरूङको भनाइ छ । उहाँले भन्नुभयो, “दरबन्दीअनुसार कर्मचारी कम हुँदा सेवाप्रवाहमा समेत समस्या तथा कर्मचारीलाई बढी भार हुने गरेको छ ।”
काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । शनिबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उहाँले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पार्नुभयो । “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ”, गृहमन्त्री लेखकले भन्नुभयो । तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उहाँले सञ्चारमाध्यमसँग अनुरोध गर्नुभयो ।

