काठमाडौं: ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवम् खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख भट्टले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयोे । नेपालीबीच आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने यस पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि उहाँले लिनुभयो । आफ्नो धर्म र जातिय सांस्कृतिक मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको भन्दै उहाँले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको बताउनुभयो । ‘नयाँ पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । विशेष अतिथि प्रतिनिधिसभा सांसद मनबहादुर गुरूङ, तामाङ घेदङुका संघीय उपाध्यक्ष दीपक तामाङ, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त योञ्जनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शान्ति तामाङ र स्वागत बोसबहादुर तामाङले गर्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार तामाङ जाति जनसंख्याको हिसाबले पाँचौ नम्बरमा रहेको छ । कुल जनसंख्याको ५ दशमलव ६ प्रतिशत अर्थात् १६ लाख ३९ हजार ८ सय ६६ जना तामाङ जाति नेपालमा बसोबास गर्दछन्। ५.५ प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्म अनुसार बौद्ध धर्मावलम्बी दोस्रो नम्बरमा छन् । २३ लाख ९३ हजार ५ सय ४९ अर्थात् ८ दशमलव २ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्दछन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरूबारे ध्यानाकर्षण गराउनुभएको हो । कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ । सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो ।
नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवास जंगलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो । हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौंँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ढोरपाटन: संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ। शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उहाँले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो । पृथक प्रसङ्गमा उहाँले सत्ता साझेदार दलबिच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताउनुभयो । बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवर्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ । सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
काठमाडौं: सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने प्रचलन रहेको छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको बताएका हुन् । मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए । “विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ देख्दा नेपाली शिक्षाको उज्ज्वल भविष्य प्रति अझ आशावादी बन्ने अवसर मिल्यो। गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको छ”, उनले भने । प्रदेश सरकारले घोकन्ते विद्या भन्दा पनि सीपमुलक शिक्षामा जोड दिएको भनाई उनको छ । सिक्दै कमाउँदै, अभिभावक शिक्षा, फ्राइडे फर फ्युचर जस्ता महत्वपूर्ण कार्यक्रमले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उनले उल्लेख गरे । उदाहरणीय सामुदायिक विद्यालयको उदाहरण प्रस्तुत गर्दै मन्त्री थापाले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गरे । “पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको देखियो । जुन आजको आवश्यकता हो । हरेक विद्यालयमा अब व्यवहारिक शिक्षाको खाँचो छ । विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरि जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय प्रशासनलाई सफल कार्यक्रमका लागि बधाई दिँदै सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् । तीन विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने विद्यालयका प्रगतिबारे जानकारी गराइएको थियो । स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शिक्षाको प्रवद्र्धन तथा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा वक्ताहरुले बालेका थिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गर्नुभयो । उहाँले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताउनुभयो । उहाँले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाउनुभयो । “हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी सहिदले देखाएको मार्गमा सधैँ अविचलित रहनेछौँ ।” कार्यक्रममा प्रतिनिधिसभाका उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार,सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु र विशष्ट व्यक्तिहरुको उपस्थिति थियो । यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकार ९मन्त्रिपरिषद्० को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।

