पाल्पा: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताउनुभयो । उहाँले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताउनुभयो । वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उहाँले जानकारी दिँदै वातावरण परिवर्तनले देशले भोग्नुपरेको बताउनुभएको छ । वन्यजन्तु र मानवबीच चलिरहेको द्वन्द्वका कारण मानिसले धेरै दुःख पाइरहेको हुँदा अब वन ऐन संशोधन गरेर समस्या समाधान गर्न खोजिएको जानकारी दिनुभयो । “हात्ती, बाघ, गैँडा, बाँदरजस्ता वन्यजन्तुका कारण मानिसले धेरै दुःख पाइरहेको अवस्था छ, बँदेल र बाँदरलाई नयाँ नीति ल्याएर कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानको प्रयास गर्न खोजिएको छ”, मन्त्री शाहीले भन्नुभयो । विकास निर्माण र वनबीचको अत्यन्त नजिक सम्बन्ध छ तर साना कारणले अप्ठ्यारो स्थिति सिर्जना भएको हुँदा सबै समस्या समाधान गर्नका लागि ऐन संशोधन र परिमार्जन गर्न लागिएको उहाँले जनाउनुभयो । यसले गर्दा आगामी दिनमा मानव समुदायले वनबाट भोग्नुपरेका समस्या धेरै समाधन हुने उहाँको भनाइ छ । फरक प्रसङ्गमा मन्त्री शाहीले कालीगण्डकी डाइभर्सनको चिन्ता र चासोलाई सरकारसमक्ष राख्ने बताउनुभयो । आगामी दिनमा यस क्षेत्रका नागरिकको सोचलाई साकार पार्ने कार्यमा आफू र मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयको तर्फबाट यो क्षेत्रको संरक्षण र प्रवद्र्वनका लागि आगामी बजेट निर्माणमा, सङ्घ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ । रामपुर सहरलाई आधुनिक हिसाबले योजना बनाइएको हुँदा सबैको साँझा सोच र प्रतिबद्धताका हिसाबले अगाडि बढ्न सकिने उहाँको भनाइ छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गर्नुभयो । “संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।” प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यावसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
काठमाडौं: सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । निर्देशिकाका आधारमा नियमन भइरहेका सामाजिक सञ्जाललाई विधायिका निर्मित कानुनले नियमन गर्ने गरी सरकारले विधेयक प्रस्ताव गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङका तर्फबाट विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । सङ्घीय संसद्बाट कानुन पारित भई कार्यान्वयनमा आएको छ महिनाभित्र हाल सञ्चालनमा रहेका प्लेटफर्महरू सूचीकरण हुनुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ । प्राप्त निवेदनका आधारमा सरकारले प्लेटफर्म दर्ताको अनुमति दिने छ । विधेयकले विद्युतीय प्रविधिको प्रयोगबाट साइबर स्पेसमा सिर्जना गरेको एप, वेबसाइट, ब्लग, एआई टुल्सलगायतलाई प्लेटफर्मको परिभाषामा समेटेको छ । अनुमतिपत्र नलिएका तथा रद्द भएका प्लेटर्फमलाई रोक लगाउन सक्ने विधेयकमा सरकारले प्रस्ताव गरेको छ । प्रस्तावित विधेयकको दफा ९ मा भनिएको छ, “विभागले यस ऐनबमोजिम अनुमतिपत्र प्राप्त नगरेको वा अनुमतिपत्र रद्द भएका प्लेटफर्मलाई नेपालभित्र सञ्चालन गर्न रोक लगाउने छ ।” दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवा प्रदायकले यस्ता प्लेटफर्म सञ्चालनमा रोक लगाउनुपर्ने छ । दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मले सम्पर्क विन्दु र व्यक्ति तोक्नुपर्ने व्यवस्था प्रस्तावित छ । सम्बद्ध निकाय प्रस्ताव सरकारले सामाजिक सञ्जाल दुरुपयोग रोकी प्लेटफर्म सञ्चालनका लागि सम्बद्ध निकाय तोकेको छ । प्रयोगलाई व्यवस्थित बनाउने अधिकारसमेत सम्बद्ध निकायलाई दिने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड तथा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य निकाय सम्बद्ध संस्था रहने छन् । विधेयकले अनुमतिपत्र प्राप्त व्यक्ति तथा संस्थाले पालना गर्नुपर्ने सर्त विधेयकमा प्रस्ताव गरेको छ । यस्तै प्रचलित कानुनविपरीत हुने सामग्रीलाई जाँचबुझपछि हटाउन निर्देशन दिन सक्ने व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । यस्तै अनुमति नलिई वा रोक लगाएका सामाजिक सञ्जाल सञ्चालन गरेको प्लेटफर्म सञ्चालकलाई २५ लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव विधेयकले गरेको छ । ट्रोल गरे प्रयोगकर्तालाई जरिबाना हुने छ । राष्ट्रहित प्रतिकूल कार्य गर्न, साइबर बुलिङ गर्न प्रतिबन्ध लगाइएको छ । साइबर स्टकिङ, आइडी तथा सूचना ह्याक, फिसिङ तथा एक्सटोर्सनलाई कसुर मानिएको छ । आइडी ह्याक गरेमा तीन वर्षसम्म कैद र १५ लाख रुपियाँसम्म जरिबाना वा दुवै सजायको प्रस्ताव विधेयकले गरेको छ । यस्तै कसैको निजी वा सार्वजनिक तस्बिर सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गरेमा, त्यस्तो कार्यको धम्की दिई आर्थिक लाभ लिएमा पनि कसुर मानिने छ । यस्ता कसुरमा तीन वर्षसम्म कैद र १५ लाख रुपियाँसम्म जरिबाना वा दुवै सजायको प्रस्ताव गरिएको छ । बीभत्स सामग्रीको प्रकाशन, अश्लील सामग्रीको प्रचार, डिपफेक भिडिओ अपलोडलगायतलाई पनि विधेयकले कसुर प्रस्ताव गरेको छ । अश्लील तथा मिथ्या सामग्री प्रचार गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव सरकारले गरेको छ । डिपफेक सामग्री प्रचार गरेमा दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिबाना वा दुवै सजायको प्रस्ताव विधेयकमा गरिएको छ । फेक आइडी बनाए कारबाही फेक आइडी बनाए, छद्मभेषी पहिचान निर्माण गरेमा पनि कसुर हुने छ । फेक आइडी, पेज तथा समूह बनाई सामग्री प्रचार गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपियाँसम्म जरिबाना हुने प्रस्ताव गरिएको छ । सामूहिक वा व्यक्तिगत रूपमा स्थायी वा अस्थायी समूह पेज वा अन्य आइडीबाट राष्ट्रहित प्रतिकूल कार्य गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । विधेयकले कसुरलाई पटके कसुरमा थप सजाय लिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ । दुरुत्साहन र उद्योगमा संलग्नलाई पनि मुख्य कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । प्रचलित अन्य कानुन अनुसारको कसुरमा बढी सजायको हकमा सोही कानुन अनुसार कारबाही गर्न बाधा नपर्ने व्यवस्था पनि विधेयकमा प्रस्तावित छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ– ‘आजको दिन नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको बलिदानद्वारा प्राप्त भएको प्रजातन्त्रदेखि इतिहासको विभिन्न कालखण्डमा महान योद्धाहरूको योगदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्त भएको छ ।’ यो दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
स्याङ्जा: भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन। भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन। विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए। उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन। तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ। पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन। निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो। एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए। चालिस–चालिस मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ। पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ। पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ। निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे। उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए। ‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ,’ उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौं। दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौं। पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ। बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ। हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुंगे पुलबाट वारपार गर्नुपर्छ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको आज महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ । भोलि हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । आज भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए । भने टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको थियो । हेल्प नेपाल २–१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
भक्तपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो । “अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।” प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । उहाँले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

