काभ्रेपलाञ्चोक: यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बेथानचोकका किसान ती जरा ९झ्यास० र ढुंगा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्। बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ। बर्खामा बाढी आएर बगाउलाझैं हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन्। बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए। आफैले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ। बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो। विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए। माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ। डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए। बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ। कतिपय त गाडीको सहायताले अरू ठाउँमा लगेर थुपार्ने गरिरहेका छन्। स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए। जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए। भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आउनुभएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताए। ‘जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्यो। उनले पीडा सुनाउँदै भने, ‘अहिलेसम्म राहत कतैबाट पाएकी छैन।’ बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्। सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो। बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन्। रोशी खोलाको नौ किलोमिटर सिमांकन सकियो यसैबीच असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमांकन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमांकनकार्य सकिएको छ। दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमांकन सकिएको हो। बाढीपहिरोले खोलाको सिमांकनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए। बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो। भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमांकन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए। अधिकृत भुुसालका अनुसार खोलाको सिमांकन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ। पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’ सहितको कार्य प्रारम्भ गरिएको हो। तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए। उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ। उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ। व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए। उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ। आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ। स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन्। पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको थियो। उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ। यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो। सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले भने। कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्। चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो। यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ।
ताप्लेजुङ: पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौं: साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
विराटनगर: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो(२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो । उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अङ्कमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताउनुभयो । “मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ ।” उहाँले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताउनुभयो । त्यस अवसरमा उहाँले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिनुभयो । “विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रले इमान्दारीपूर्वक राज्यको काममा सहयोग गरिरहेको उल्लेख गर्दै एक्स्पोले निजी क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पो सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । एक्स्पो यही माघ २० गतेसम्म सञ्चालन हुने छ ।
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
काठमाडौं: नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रवार एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा विश्व अधिकारीलाई ल्याइएको छ । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । काठमाडौँमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतलाई सरुवा गरिएको छ । उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन् । नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ । भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ । उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ । नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ ।
काठमाडौं: सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ । दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।
जनकपुर: प्रदेश सभामा प्रस्तुत गरेको भाषा विधेयक मधेस प्रदेश सरकारले फिर्ता लिएको छ । विधेयकको मधेसमा तीव्र विरोध भएपछि सरकारले आजको प्रदेश सभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेको हो । शिक्षामन्त्री रानीकुमारी तिवारीले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको थियो । मन्त्री तिवारीले नै गत बुधबारको बैठकमा प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमा थारू, मगहीलगायत भाषालाई समावेश नगरेको भन्दै मधेसभर विरोध भएपछि सरकारले विधेयक फिर्ता लिनु परेको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाउनुभयो । प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गर्नुभयो । उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको छ । प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य समस्याका कारण आज तय भएका उपत्यका बाहिरको सवै कार्यक्रमको भर्चुवल बटै सहभागिता जनाइ रहनु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । मौसमी रुघाखोकी कारणले चिकित्सकले आरामका लागि सुझाब दिएको बताइएको छ । आज पाल्पाको बगनासकाली गाउँपालिकाको भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उदघाटन सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तया भएको थियो ।

