काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

ढोरपाटन:     उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।       आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।       स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उहाँले आग्रह गर्नुभयो ।      सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताउनुभयो । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।       उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग समबोधन गर्दै गएको छ, देशमा कहिले कोभिडले, कहिले अन्य प्रकोपले गर्दा आर्थिक अवस्था खस्कँदो थियो, अहिले चलायमान हुँदै गएको छ । नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।”      सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तनहुँ:    निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।      वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।      आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ ।  फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिइ सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । खम्बाको टुप्पोमा काठको ढकनी लगाइएको छ । त्यसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त खम्बा जडान गरिएका हुन् ।      नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब छ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब २०० रोपनी जग्गामा सञ्चालित केन्द्रमा नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ ।  गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसाहारी पंक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खान्छन् ।      गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रुपमा आहारा लिनुपर्ने बाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए ।       प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको स्थान परिवर्तन गरी त्यस नजिक खम्बा जडान गरी आरामस्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिवृद्धि र बासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रका रुपमा विकास गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ ।       साथै आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि  सेती तथा मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।      व्यासका वडा नं ३, ४, ५, ६, ७ तथा १०, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिकाका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिकाका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ । तीन प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत रहेको छ ।

खोटाङ:  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भए ।  हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर...’ बोलको गीत गाएका थिए ।  विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय रहेका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ ।  पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साङ्गीतिक क्षेत्रमै भविष्य खोजिरहेका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनबाट ब्याटल अडिसनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।  चारजना प्रशिक्षक रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिसनका लागि छनोट भएका प्रदीपले प्रशिक्षक उदय सोताङलाई रोजे । आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाएका चर्चित गायिका मेलिना राई र गायक तथा सङ्गीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सङ्गीतकार सोताङसँग जानेक्रममा अन्य प्रशिक्षकहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिए ।  घरपरिवार तथा विशेष गरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साङ्गीतिक यात्रामा लागेको बताउँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गरे । खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिसनकै क्रममा बताएका छन् ।  किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सङ्गीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त गरिसकेका छन् ।  प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिसन भने गुमाउने भएका छन् । ब्लाइण्ड अडिसनमा बेजोड प्रस्तुति दिएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका छन् ।  अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरहेका प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताए ।  “जहाँ रहे पनि जसरी भए पनि गीत÷सङ्गीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ, कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उनले  ब्लाइण्ड अडिसनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेखेका छन्, “खैर सम्पूर्ण शुभचिन्तकप्रति माया र हौसलाका लागि आभारी छु, मेरो गीत÷सङ्गीतसँगको यात्रा जारी रहिरहनेछ ।” साङ्गीतिक कक्षासँगै औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ सम्मको अध्ययन पूरा गरेका प्रदीपलाई साङ्गीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताए ।  केही वर्षअघि नै साङ्गीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिँदै प्रदीपले पुनः गीत÷सङ्गीतमै फर्किन प्रशिक्षक मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे...’ बोलको गीतले प्रोत्साहन गरेको बताए ।  भ्वाइस अफ नेपालको ब्याटल तथा अडिसनका प्रतिस्पर्धीलाई विदेशबाटै भए पनि अडिसन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्रले बताए ।  “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन, साङ्गीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह ग¥यौँ, परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ, तर देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उनले भने, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ, भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिसन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिसनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ ।” पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल..., रगतको नाता...’लगायत विभिन्न गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् ।  खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत÷सङ्गीतकै क्षेत्रमा योगदान गर्ने बताएका छन् । 

पर्वत:    गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।  नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो ।  सडक स्तरोन्नतीमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउउनुभयो ।  उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरावस्था देखाउने मुख्य उद्देश्य रहेको छ ।       वर्षेनी झण्डै रु १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन् । बाँसखर्क जोड्ने वारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ ।  ठुला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक  जगतबहादुर खत्रीले जानकारी दिनुभयो । सुन्तला बिक्रीबाट उहाँले यस वर्ष मात्रै रु ४० लाख आम्दानी हुने अपेक्षा गर्नुभएको छ । सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उहाँको गुनासो छ ।  उहाँले भन्नुभयोे, “साना खालका बोलेरो जीपमा थोरै थोरैै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठुलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता रहेको छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।” सडकका कारण गन्९तब्यमा पु¥याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या रहन्छ ।       ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ । गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताउनुभयो । यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ ।       प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरावस्थाका बारेमा जानकारी गराइ सडक स्तरोन्नती र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ । महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ ।  अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भए पनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ । जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् । सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गर्नुभयो ।       ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौँको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताउनुभयो ।  “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यसमेतले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उहाँले भन्नुभयो । करिब १० किलोमिटरको दुरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ ।  गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । यहाँका कृषकले गत वर्ष रु ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले रु १५ करोडसम्म आम्दानी हुने आकलन गरिएको उहाँले बत९ाउनुभयो ।  बाँसखर्कको अधिकांश सुन्तला काठमाडौँ पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको कृषकले बताएका छन् । व्यवसायिले यहाँका सुन्तला बुकिङ्ग गरिसकेका छन् । अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताउनुभयो ।  यहाँका २५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक परिवारले न्यूनतम रु पाँच लाखदेखि रु ४० लाखसम्म आम्दानी गर्दै आएका छन् । 

ताप्लेजुङ:    ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।      पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् ।  समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।        भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।      पाथीभरा धाम नेपालका प्रमुख शक्तिपीठमध्ये पूर्वकै एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरामा  विशेषगरी बडा दसैँ, तिहार, चैते दसैँ र अन्य चाडपर्वका बेला भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्छ । पाथीभरा देवीको दर्शनले मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास छ ।        दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थित गर्न समितिले नयाँ संरचना र सेवा सुधारका योजना क्रमशः सञ्चालन गरिरहेको छ ।  पाथीभरा क्षेत्रमा खानेपानी, पदमार्गमा शौचालय व्यवस्थापन, विभिन्न गाउँबाट पाथीभरा जाने पदमार्ग निर्माण, पूजास्थलका साथै मन्दिर परिसर व्यवस्थापन, मन्दिर परिसरमा वृक्षरोपण, पर्यटक प्रहरी पोष्टको स्थापना, पार्किङस्थलको निर्माणलगायतका कार्य गर्दै आएको समितिले जनाएको छ ।

चितवन:     गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।  आक्रमणबाट घाइते  निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।  निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । 

काठमाडौं:     सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।     सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ ।      मुलुकका सबै जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी ‘डेडिकेटेड’ सीमा सुरक्षा बलका  रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ ।  भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा दुई सय ५४ वटा ‘बोर्डर आउट पोष्ट’मार्फत आफ्नो कर्तव्य निर्वाहमा जुटेको छ ।         देशको दक्षिणी सीमातर्फ दुई सय एक, पूर्वमा २२, पश्चिममा २१ र उत्तरमा १० वटा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।  सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले भारत र चीनका सीमा सुरक्षा संयन्त्रसँगको सहकार्यमा सीमा सुरक्षा तथा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रु एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा  चालु आवको छ महिनामा रु एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको सहप्रवक्ता थापाले बताउनुभयो ।  विसं २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधानकार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह हुँदैछ । 

सोलुखुम्बु:    थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।   थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।  आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उहाँले बताउनुभयो । 

ढोरपाटन:    कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।  पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।  पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् ।  जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो ।  पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उहाँले सुनाउनुभयो ।