काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पोखरा:   आगामी सातादेखि हुने २४ औं आहा!रारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ ।  सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे ।  उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।  प्रतियोगितामा भाग लिने १२ टिममध्ये हालसम्म ११ टिमको टुंगो लागिसकेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, थन्डर नर्थ युनाइटेड क्लब भारत, आयोजक सहारा क्ललबे समेत भाग लिने छन् ।  प्रतियोगिताको मुख्यप्रायोजक सधैँ झैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।  हाम्रो खेलकुद युट्यब च्यानलले प्रत्यक्ष प्रसारण गर्ने प्रतियोगिताको उपप्रायोजकमा पोखरा मनपा वडा ९ कार्यालय, सहउपप्रायोजक चरक मेमोरियल हस्पिटल, पोखरा हो ।  यस्तै, विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।  गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।  आहा! रारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।

कास्की:   सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उहाँले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका छौँ । सुशासनका लागिसमेत महत्त्वपूर्ण पाटो हो ।” सरकारले बैँकिङ कारोबार, राहदानी तथा मालपोतका लागिसमेत राष्ट्रिय परिचयपत्रलई मुख्य आधार मान्ने मन्त्री गुरूङको भनाइ छ । “राष्ट्रिय परिचयपत्र उच्च प्रविधियुक्त भएकाले आधुनिक र भरपर्दो रहेको छ । यसमार्फत धेरै काम हुन्छ । बायोेमेट्रिक प्रणालीमा चल्ने भएकाले तलमाथि चोरी गर्न नसकिने खालको छ । नागरिक एपमा प्रयोग गर्दासमेत यसलाई आधार मान्छौँ,” सञ्चारमन्त्री गुरूङले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा हालसम्म दुई लाख सात सय १६ राष्ट्रिय परिचयपत्र प्राप्त भएकामा स्थानीय तहका वडा कार्यालयमार्फत ७५ हजार सात सय १८ जनालाई वितरण गरिएको बताउनुभयो । 

कास्की:    सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध सरकारी वकिलपछि पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि उच्च अदालत पुग्नुभएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।  अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको थियो । जिल्ला अदालत कास्कीले दिएको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले दिएको निवेदन सोमबार दर्ता भएको छ । उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा आदेश हुने उल्लेख गर्नुभयो ।  “यसअघि उच्च सरकारी वकिलको कार्यालयको पनि निवेदन परिसकेको छ” पनेरुले भन्नुभयो, “लामिछानेज्यूको निवेदन दर्ता भएको छ । मङ्गलबार यो निवेदन सिङ्गल बेन्चमा जान्छ । जिल्लाबाट कैफियत प्रतिवेदन माग हुन्छ । प्रतिवेदन प्राप्त भएपछि उच्चको संयुक्त इजलासले निवेदन बमोजिम हुने वा नहुने निर्णय लिन्छ ।” यसअघि नै सूर्यदर्शनका प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइएको छ । उच्च सरकारी वकिल कार्यालयको निवदेनपछि माघ ८ गते उच्चले सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको थियो । पुस २५ गते धरौटीमा छाड्न आदेश भएकोमा २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निवदेन पठाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनपछि उच्च सरकारी वकिलको कार्यालयले सोमबार उच्चमा निवेदन दर्ता गराएको थियो । उच्च सरकारी वकिलको निवेदनपछि भएको आदेश बमोजिम जिल्ला अदालतको कैफियत प्रतिवेदन प्राप्त भएपछि निवेदकको माग बमोजिम आदेश हुने वा नहुने उच्च अदालतले निर्णय गर्नेछ ।  उच्च अदालत पोखरामा यसरी तल्लो अदालतका निवेदन र प्रतिवेदन सुन्ने र आदेश दिने नै तोकिएको छ । सूचना अधिकारी पनेरुले हरेक बिहीबार यस्ता प्रतिवेदन सुन्ने र आदेश हुने उल्लेख गर्नुभयो । सूर्यदर्शन सहकारी प्रकरणमा एक अर्ब ५१ करोड रुपियाँ बिगो मागदाबीसहित ६३ जनाविरुद्ध दायर भएको मुद्दा विचाराधीन छ ।

धनगढी: अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ । ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो । शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू/भदैनी नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् । पोस्टमार्टम पछि मात्रै घटनाका तथ्यहरू खुल्ने डीएसपी भण्डारीले जानकारी दिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौँ त्यसपछि केही कुरा बाहिर आउला ।’ अछाममै पोस्टमार्टमको व्यवस्था भए पनि घटना गम्भीर भएकाले शव नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ। उनीहरूको शव अलगअलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् । शव भेटिएको स्थानमा मरेको गोरु फालिएको थियो । त्यहाँ नै शव फाल्दा गन्ध गोरुको आउने र आशङ्का नहुने मनसाय देखिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पनि घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताए ।

रुपन्देही:  रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरा:    मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको प्रतिस्पर्धामा १० जना प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेण्ड्ली सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।   प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको  नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवल सहित फस्र्ट रनरअप आकृति थिङ्ग तामाङ बनिन् । सोनिका मोक्तानले मिस पपुलर सहित सेकेण्ड रनरअप हुदा पुर्णिमा ब्लोन तामाङ मिस कल्चर सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् । विजेता तथा उपविजेताहरुलाइ प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष  शिवु ब्लोन, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य श्री सुजन ब्लोन तामाङ, बर्षा तामाङ, अर्पणा तामाङ, मोनिका तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । यसैगरि प्रतियोगितामा मञ्जिता पाख्रिनले मिस फोटोजेनिक, प्रिन्सेस घिसिङ तामाङले मिस कन्फिडेण्ट, पुर्णिमा थिंङ्ग तामाङले बेस्ट वक, सुनिता तामाङले ब्युटी विथ पर्पोज, सुप्रिया गोले तामाङले बेस्ट स्माइलको सबटाइटल जितिन् । यस्तै सुमिना तामाङले मिस ट्यालेण्ट,  जमुना लामाले बेस्ट स्किन एण्ड हेयरको सबटाइटल जितिन् ।  सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, निर्णायकहरु गीतकार तीर्थ तामाङ, कलाकार जानुका बोहोरा लगायतले पुरस्कार वितरण गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातीको भाषा, संस्कार र संस्कृतिको प्रर्वद्धन हुने बताए ।  कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए ।  कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा, कमला गुरुङ रहेका थिए ।  गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारी लगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

काठमाडौं:  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।   आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई बिजनेस दिन आग्रह गरेका थिए । समितिमा अल्झिएर रहेका विधेयक, अघिल्लो संसददेखि थाँती रहेका केही विषय लगायतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए  ।  उनले सदनलाई सहज ढंगले अघि बढाउन आफूहरूको सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको बताए । त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारिताका साथै महत्त्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिए  । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उनले बताए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरूलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको जानकारी दिए  ।   संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रूपमा छलफल गर्ने तय भएको छ ।  त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।

काठमाडौं:   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताए ।  मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उनले राखे। उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा  गम्भीरताका साथ लागेको जानकारी दिए । हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । ‘अब हुलाकको नीति परिवर्तन हुन्छ’, मन्त्री गुरुङले भने, ‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’ सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरूलाई आग्रहसमेत गरे । ‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्’, उनले भने ।  सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराएकी थिइन् ।

पोखरा:    नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने  कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् । यसैगरी  सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका  संयोजक रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।   कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए ।  अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए । आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए। राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।