तनहुँ: सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । उक्त मन्त्रालयका अनुसार ७४।२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो । प्रदेश सरकारले सामाजिक विकास कार्यालयको भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ ।
काठमाडौं: नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ । एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताउनुभयो । साथै उहाँले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उहाँले बताउनुभयो ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । “खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भन्नुभयो । जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल हुनुभएको छ ।
काठमाडौं: हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
काठमाडौं: नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । ब्रह्मचारिणी देवीको स्वरुप संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
गोरखा: गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । ‘विपद्का कारण काठमाडौ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामीसबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने । यस अघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । साथै प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ । यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप सचिव प्रविण ढकाल सदस्य रहनेगरी समिति गठन गरिएको हो । समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतीको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताउनुभएको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनुपर्दैन । उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।” उहाँले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारीदिनु दिनुभयो । विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उहाँले बताउनुभयो । उहाँले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको जनाउनुभयो । यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ ।
काठमाडौं: नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ । समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिती थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पु¥याउनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो । कूल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी) बिजुली बङ्गलादेश पुग्नेछ । प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ । ती दुवै आयोजनाको बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेकाले पनि सहज भएको बताइन्छ । प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ । पूर्ववत् समझदारी अनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ । आज भएको सम्झौता मध्यकालीन हो । प्रतियुनिट आठ रुपैयाँ १७ टाका ९नौ रुपैयाँ ३० पैसा० मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको हो । ‘टोकन’ कै रुपमा भएपनि नेपालको बिजुली बङ्गलादेश पुग्नु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । बुधबार मात्रै दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, दुई देशका सचिवस्तरीय संयन्त्रको निर्णयानुसार आज सम्झौतामा हस्ताक्षर भएको हो । केही दिनभित्रै प्राधिकरणले बङ्गलादेश बिजुली निर्यात सुरु गर्ने जनाइएको छ । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल हुँदै आएको थियो । यसैबचिमा दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको बुधबार मात्रै सम्पन्न भयो । सो बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो । यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बङ्गलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ । त्यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ । गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । पुनः दोस्रो पटक गत साउन १३ मा नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो । यस्तै, नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो । तत्कालीन समयमा बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो । बङ्गलादेशको अन्तरिम सरकारले पनि बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो । यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । यो अर्को महत्वपूर्ण विषय हो । साङ्केतिक रूपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैँमा महत्वपूर्ण हुने सरकारको बुझाइ छ । प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता अनुसार, प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन । यस्तै सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ । सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ ।

