कैलाली: कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा १० जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो । घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भन्नुभयो, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन् । केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौँ ।” बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “नेपालमा मनसुन अझै डेढ महिनाभन्दा बढी समय रहन्छ, देशका अधिकांश भागमा सरदरभन्दा बढी पानी परेर जमिन गलेका कारण विपद्का घटना हुनसक्ने भएकाले चनाखो हुँदै थप कदम चाल्ने काम भइरहेको छ ।” गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब रु पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिनुभयो । “थप रु १७ करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए । गृहमन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिनुभयो । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्वतयारी गरिरहेको उहाँले बताउनुभयो । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापरुको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेका अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको गृहमन्त्री लेखकको भनाइ थियो । बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताउनुभयो । गत असार २८ गते नारायणगढ–मुग्लिङ खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । गृहमन्त्री लेखकले भन्नुभयो, “सिमलताल दुर्घटनाका सम्बन्धमा गृहमन्त्रीस्तरको निर्णयबाट सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन भई यसले प्रतिवदेन पेस गरेको छ । प्रतिवदेनले यस प्रकारका घटना आगामी दिनमा हुन नदिन र सम्बन्धित निकायले गर्नुपर्ने सुझाव पेस गरेको छ ।” बैठकमा सांसदहरुले गृहमन्त्री लेखकलाई सडक असुरक्षित भएका, विकासको ढाँचा परिवर्तन गर्नुपर्ने, विपद्बाट पीडितलाई राहतमा ढिलाइ नगर्न, क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन, पूर्वतयारीलाई प्राथमिकता दिन, चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
काठमाडौं: प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवं समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आज तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटल लिमिटेडका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिसँग छलफलपछि उक्त समितिका नाममा रहेको चलअचल सम्पत्तिको विवरण तथा सम्पत्तिको सञ्चालन तथा सदुपयोग हुनेगरी कार्ययोजना बनाई समितिमा पेस गर्न निर्देशन दिइएको हो । “तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटलबीच भएको सम्झौतालाई समयानुकूल संशोधनमार्फत राज्यको हितमा हुनेगरी कार्यान्वयन गर्न कार्ययोजना बनाई समितिमा यथाशीघ्र पेस गर्न निर्देशन दिइएको छ”, समितिको निर्णयमा भनिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समितिअन्तर्गत सञ्चालन भएका सम्पूर्ण होटल तथा रिसोर्टको यथास्थितिबारे जानकारी गराउन माग गर्नुभयो । “तारागाउँ विकास समितिका सम्बन्धमा विगतदेखि नै ठूलो विवाद भइआएको छ । सरकारले विवादको दीर्घकालीन समाधानसहित स्पष्ट दृष्टिकोण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “समिति र अख्तियारबीच सो सम्बन्धमा फरक धारणा भए पनि सरकारले टुङ्गोमा पु¥याउनेगरी काम गर्नुपर्छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तारागाउँ रिजेन्सी होटल लिमिटेडले गैरकानुनी ढङ्गले राज्यलाई क्षति पु¥याउने गरी काम गरेको देखिएको बताउनुभयो । उहाँले अख्तियार र मन्त्रालयबीचको तादम्यता नमिल्दा विगतका विभिन्न समितिले दिएका निर्देशन कार्यान्वयन गर्न समस्या भएको जानकारी गराउनुभयो । समितिका सदस्य नारायणप्रकाश साउदले समस्या समाधान हुने गरी काम अगाडि बढाउन सुझाव दिँदै समस्या समाधान गर्नेगरी कार्ययोजना ल्याउन आवश्यक रहेको बताउनुभयो । अर्का सदस्य भीमप्रसाद आचार्यले तारागाउँ विकास समितिका नाममा भएको जग्गा हड्प्ने कार्य भएको देखिएको उल्लेख गर्दै कार्ययोजना ल्याउनुपर्नेमा सहमति जनाउनुभयो । तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशीले समस्या समाधान समिति एक्लैले गर्न नसक्ने उल्लेख गर्दै सरकारको साथ आवश्यक भएको बताउनुभयो । सो अवसरमा तारागाउँ रिजेन्सी होटल लिमिटेडमा तारागाउँ विकास समितिको शेयर संरचना, लगानी र प्रतिफल, विभिन्न समयमा गठित समितिका सुझावका विषयमा सांसदहरुले छलफल गर्नुभएको थियो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन, परीषालगायत काम क्यालेण्डरअनुसार तोकिएको समयमा हुने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकास र गुणस्तर वृद्धि गर्न राजनीतिक स्थिरता आवश्यक पर्दछ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले संसद्मा पहिलो र दोस्रो ठूला दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले रोजेको विषय वा क्षेत्रमा पूर्ण मेहनत र लगाबका साथ अध्ययन गरे असफल हुनु नपर्ने बताउनुभयो । विद्यार्थीलाई विज्ञान तथा प्राविधिक वा व्यवस्थापन वा कुनै पनि विषयमा विज्ञता हासिल गर्नेतर्फ लाग्न उहाँले आह्वान गर्नुभयो । “यसका लागि मेहनत र लगाब चाहिन्छ । मेहनत ग¥यो भने सफलता प्राप्त गर्न सम्भव छ । दुवैखुट्टा नभएकाले पनि सगरमाथा चढेकाको उहाहरण छन्”, मन्त्री गुरुङले भन्नुभयो । विद्यार्थीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्नेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो । बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफ्नो लक्ष्यप्राप्तिका लागि दृढ भएर लाग्न सबै विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले एसइईमा उत्तीर्ण विद्यार्थीलाई समान्न पत्र प्रदान गर्नुभएको थियो । विद्यालयबाट एसइईमा सहभागी ५७ जना नै उत्तीर्ण भएका थिए । ए प्लस हासिल गर्ने विद्यार्थी १३ जना रहेका विद्यालयले जनाएको छ ।
गोरखा: धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो । लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ । रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँचजनाको मत्यु भएको थियो ।
भोजपुर: इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो । बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताउनुभयो । बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ । गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँले बताउनुभयो । बाटो बनाउन रु १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो । बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु।एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ ।
बागलुङ (ढोरपाटन): बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोख्नुभयो । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उहाँले बताउनुभयो । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
नवलपरासी: यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताउनुभयो । “गत आवमा सवारीसाधन करवापत रु २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत रु पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार छ सय ९० राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो । प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् । आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उहाँले जानकारी दिनुभयो । “गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”, प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन् । जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । चालक अनुमति पत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उहाँले बताउनुभयो । छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

