कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो । हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो । दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भन्नुभयो–हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न जरुरी छ ।” निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताउनुभयो । नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताउनुभयो ।
पोखरा: रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन कुमार चुल्याजु चयन भएका छन् । रोटरी क्लब अफ गण्डकीको २०२४/२५ को अध्यक्षमा चुल्याजु चयन भएका हुन् । क्लबको प्रेसिडेन्ट नोमिनीमा नवराज आचार्य, भाइस प्रेसिडेन्टमा डा. डिनेश कुमार विक, भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद तिमिल्सिना, सेक्रेटरीमा राजु कुमार पौडेल, ट्रिजरमा डा. सन्तोष कुमार विक, चेयर योङ जेनेरेशनमा कृष्ण बहादुर खड्का, चेयर मेम्बरसीपमा सिए अमित गडाल, चेयर द रोटरी फाउण्डेशनमा मनबहादुर विक, चेयर पब्लिक इमेजमा प्रकाश राज पौडेल रहेका छन् । यस्तै चेयर सर्भिस प्रोजेक्टमा मनोज रसाइली, मेम्बरमा कमल विश्वकर्मा, मेम्बरमा सकुन्तला श्रेष्ठ, चेयर पब्लिक इमेजमा ई.लक्ष्मी प्रसाद शर्मा, कार्यकारी सेक्रेटरीमा गौतम सुनार, न्यू जेनेरेशन कोडिनेटरमा जीवन अधिकारी, भोकेसनल सर्भिस कोडिनेटरमा ज्ञानबहादुर नेपाली, इन्ट्याक्ट कोडिनेटर इन्द्र प्रसाद भुवाई रहेका छन् । यस्तै एक्टिभ मेम्बर डिल प्रसाद पोखरेल, एक्टिभ मेम्बर जिवन ढुङ्गाना, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, प्रोफेसर मेम्बर विजय थापा, प्रोफेसर मेम्बर विवेक काजी चुल्याजु, प्रोफेसर मेम्बर पोस राज पौडेल, प्रोफेसर मेम्बर अनिल खड्का, प्रोफेसर मेम्बर प्रविण विजुक्छे, प्रोफेसर मेम्बर शिव अधिकारी, प्रोफेसर मेम्बर रामचन्द्र रानाभाट र प्रोफेसर मेम्बर प्रमोद वाग्ले चयन भएका छन् ।
बाजुरा: अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले जानकारी दिनुभयो । तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उहाँले बताउनुभयो । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । पहिरोमा परी चारजना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण सङ्कलन गरिने उहाँले बताउनुभयो ।
काठमाडौं: मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभएको छ । रासससहित मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार साँझ आफ्नो निवासमा आयोजना गर्नुभएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताउनुभयो । “नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो”, चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उहाँले भन्नुभयो । नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकहरुको टोली हाल नेपालमा रहेको जानकारी दिँदै उहाँले पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना राजदूत छन्ले व्यक्त गर्नुभयो । जलविद्युत्को विकासबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अन्तर्देशीय विद्युत् व्यापार फलदायी हुने उहाँले बताउनुभयो । अल्पविकसित राष्ट्रहरुको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यमा सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राजदूतले हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो बैठकले नेपालसहित विश्वका अन्य मुलुकलाई रोजगारीका निम्ति आफ्नो श्रमबजार खुला गरेको जानकारी दिनुभयो । चीनमा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीलाई त्यहीँ अन्तरङ्ग प्रशिक्षणको व्यवस्थाका साथ रोजगारीका अवसर पनि उपलब्ध हुने उहाँले बताउनुभयो । सिपिसीको तेस्रो बैठकपछि चीनमा लगानीका अवसरहरू पहिल्याउन उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल चीन भ्रमणमा रहेको बताउनुभयो । राष्ट्रपति सी चीनफिङको अध्यक्षतामा सम्पन्न बैठकले तीनसयभन्दा बढी कानुनी सुधारका घोषणा गरेको जानकारी दिँदै राजदूत छन्ले चीनले नेपालको विकासका निम्ति द्विपक्षीय सहायता बढाउने बताउनुभयो । “हामी नेपालको आर्थिक वृद्धिमा योगदान गर्न चाहन्छौँ, पर्यटन प्रवद्र्धन तथा जलविद्युत्को उत्पादनबाट त्यो सम्भव छ”, नेपालमा उत्पादित बिजुली चिनियाँ बजारमा खपत गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो । चीनले घोषणा गरेका सुधारबाट चीन र नेपालबीचको साझेदारी अझ घनिभूत हुने तथा चीनले हासिल गरेको विकासको प्रतिफल नेपालले पनि उपभोग गर्न पाउने विचार राजदूत छन्ले व्यक्त गर्नुभयो । देशको चौतर्फी विकासलाई नेपालका राजनीतिक दलका नेता तथा कर्मचारीले केन्द्रमा राखेर काम गर्न जरुरी भएको आफ्नो विश्लेषण सुनाउँदै अबको पाँच वर्षमा नेपालले विकासको गति लिनेमा आफू ढुक्क रहेको बताउनुभयो । परिश्रमी नेपाली जनताको विकासप्रतिको चाहाना पूरा गर्न नेपालको नेतृत्व सफल हुने उहाँले बताउनुभयो । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य नेपालमा पर्यटनका पूर्वाधार अपर्याप्त भएकाले अधिकभन्दा अधिक पर्यटकीय संरचना निर्माणमा चिनियाँ राजदूतले जोड दिनुभयो । उहाँले प्रविधि हस्तान्तरणका साथै अन्य प्राविधि सहायता विस्तार गर्न चीन तयार रहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले विकासका पूर्वाधार तयार गर्ने उदेश्यले राष्ट्रपति सीले अघि सार्नुभएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा आबद्ध सबै राष्ट्रको हित हुने र त्यसप्रति विमति जनाउनुपर्ने कारण नरहेको बताउदै केही प्राविधिक काम पूरा नहुँदा नेपालसँग विआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुननसकेको स्पष्ट गर्नुभयो । उहाँले केही समयभित्रै नेपाल–चीनबीच विआरआई साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो । बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको तर्क छ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेका उहाँको कथन छ । “हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौँ”, चिनियाँ राजदूतले भन्नुभयो ।
काठमाडौँको खुल्लामञ्चको स्तरोन्नतीक्रममा माटो सम्याउँदै काठमाडौँ महानगरको डोजर । तस्बिर: प्रदीपराज वन्त /रासस
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
म्याग्दी: पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो । यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताउनुभयो । पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् । यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताउनुभयो । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो त बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
काठमाडौं: ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो । जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ। एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।
हुम्ला: हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरामा परी ५० वटा भेडा मरेका छन् । बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिनुभयो । वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उहाँले बताउनुभयो । “लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरामा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ”, बोहराले भन्नुभयो । हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य रु ३० हजार पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरामा परी मरेपछि रु सात लाख ५० हजार बराबरको क्षति भएको पीडित धुन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“दिउँसो चरिचरनका लागि जङ्गलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिराले ठूलो नोक्सानी ग¥यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए”, उहाँले दुःखेसो पोख्नुभयो ।

