ललितपुर: मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।” उहाँले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राख्नुभयो । “दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।” सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्नुहुँदै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।” मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।” एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो । “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”, प्रधानमन्त्रीले भन्नुभयो । बिरामीलाई अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गर्नुभयो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कायमुकायम मुख्यसचिव, स्वास्थ्य मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।
जुम्ला: तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उहाँले बताउनुभयो । यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो । स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो । तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो । “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उहाँले भन्नुभयो । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताउनुभयो । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उहाँले भन्नुभयो, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।” अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिनुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बर्दिया: बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते जनाइएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको डसाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । प्रहरीका अनुसार बालकलाई सर्पले डसेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । सर्पको डसाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन ९ब्राह्मण० पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । बाल्मिकी क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउनुहन्छ । “प्रदूषणयुक्त विषविषालु जीवलाई नागले पान गरेर चराचर जगत्लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिती निर्धारण गरे”, उहाँले भन्नुभयो ।
बागलुङ (ढोरपाटन): गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उहाँको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।

