काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

बागलुङ:   बागलुङमा दुर्गा प्रसाई माथि हातपात भएको छ। नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रमका लागि बागलुङ आएका व्यवसायी प्रसाईमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन्। उनले प्रसाईंमाथि किन हातपात गरे ? भन्नेबारे भने खुलेको छैन। प्रसाई मञ्चमा उक्लने क्रममा गौतमले हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। गौतमलाई पक्राउ गरिएको केसीले जानकारी दिए। 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुनेछ । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।  शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।  नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्नुहुने कार्यक्रम रहेको छ ।

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईले प्रस्तुती दिने भएका छन् ।  महोत्सवको आठौँ दिन बिहीबार  चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने महोत्सवमा कारोबार समेत वढिरहेको आयोजकले जनाएको छ । महोत्सवमा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि कलाकार प्राज्ञ नगेन सिंहको कलाकृतिहरु  “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“ समेत भएरहेको छ । त्यसैगरी महोत्सवमा याकको अवलोकन, भेषभूषामा फोटो खिचाउने संगै नेपाल टेलिकमको निशुल्क सिमकार्ड लिनेको भीड रहेको छ । महोत्सवमा जारी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन, सेन्ट मेरिज, सरस्वती आवासिय मावि र बालकल्याण बिचको प्रतिस्पर्धामा सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सव अवधिभर रेभल एप मार्फट टिकट काट्नेहरु मध्ये गोलाप्रथाद्धारा एकजनालाई वल्र्डलिंकको इन्टरनेट एक महिना निशुल्क, होटल स्नो पिकमा एक जोडीलाई डिनर सहित बास बस्ने ब्यवस्था र लेकसाइडमा रहेको प्याराडिसो बार एण्ड ग्रीलमा एक जनालाई एक हजारको कुपनको ब्यवस्था गरिएको  र प्रत्येक दिन तीन जनालाई निशुल्क टिकटको ब्यवस्था गरिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन  निर्देशन दिएका छन् । बुधवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।  प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन  बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।  बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए ।  बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्ग्याउनुस्।’ प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्ग्याउन  निर्देशन दिनुभएको हो।

लमजुङ:   रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए । उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

चितवन:    चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फर्टिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

झापा:    झापाको बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । घाइते गणेशलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चितवन:     त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ।’ प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ। ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएकाले यकिन हुन्छ,’ अर्यालले भने। स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको पनि उनले जानकारी दिए।

पोखरा:    माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए।   श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँ मै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन ।   परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए।   उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ ।  दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।  अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए।  प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्।  दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो ।   पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।  आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ ।