पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

गोरखा:     गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल व्यवसायीहरु खुशी भएका छन् ।  त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिए । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।   बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छ । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ । 

पाल्पा:   स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते भएकी मगरलाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको एक लाख छ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।  अस्मिताको निवास रामपुर नगरपालिका–६, तालपोखरा पुगेर रकम हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङ, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, नमस्ते पाल्पा दक्षिण कोरियाका संस्थापक कोषाध्यक्ष तथा नेपाल प्रतिनिधि मोहन थापा, स्टेप रामपुरका उपाध्यक्ष जमुना राना, प्रशिक्षक कमल राना लगायतको उपस्थितिमा अस्मिता र उनका दाजु कृष्ण घर्ती मगरलाई रकम प्रदान गरिएको हो ।  रकम हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले अस्मिताको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै समाज र राष्ट्रलाई चिनाउने खेलाडीहरूका लागि राज्यको नजर पुग्नु आवश्यक रहेको बताए । जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङले अस्मिता प्रतिभावान उदाउँदो खेलाडी रहेको बताउँदै जिल्ला भलिबल सङ्घले पनि आवश्यक पहल गरिरहेको बताए ।  । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा खेलप्रतिभाको जिम्मा राज्यले लिनु पर्ने अवस्थामा युवाहरूले अभियान सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै राज्यको नजर पुग्नु पर्नेमा जोड दिए ।  स्टेप रामपुरका खेल प्रशिक्षक कमल रानाले मकाउ मगर सङ्घबाट प्राप्त ५० हजार, नमस्ते पाल्पा कोरियाबाट प्राप्त ३१ हजार, सञ्जय मेमोरियल फाउण्डेशनबाट प्राप्त १० हजार सहित जिल्ला भलिबल सङ्घ, नगर भलिबल सङ्घका पदाधिकारी लगायत विभिन्न संस्था तथा व्यक्तिहरू बाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको जानकारी दिए । अस्मिताले गत वर्ष १८ मुनिको राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेलेकी थिईन् । साथै राष्ट्रिय स्तरको सिनियर महिला भलिबलमा समेत सहभागिता जनाउन सुरु गरेकी छिन ।  अस्मितालाई यसअघि अध्ययनरत विद्यालय कुँवरवर्ती ईङ्गलिश बोर्डिङ स्कुल तिलोत्तमा रुपन्देहीले पनि उपचारको लागि एक लाख प्रदान गरेको थियो । गत कार्तिकमा दैनिक अभ्यासको क्रममा लिगामेन्ट गएपछि मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउँदै आएकी छिन । 

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।  टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन् ।  पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् । उनीहरुसँगै सोही दिन पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने उनले बताइन् । 

काठमाडौं:    नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान  सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।  प्रजातन्त्र सेनानी  स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । गोवर्द्धन शर्माको सर्वस्व हरणपछि उहाँलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो । गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती छन् ।  उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए ।

दैलेख:    दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणका लागि भैरवी गाउँपालिका–१ भिरखेतमा ४५ रोपनी जग्गा अधिग्रहण गरी स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको छ । अहिले उक्त क्षेत्रमा रिग हाउस अर्थात ड्रिल गर्ने मुख्य पोइन्ट निर्माणको ८० प्रतिशत काम सकिएको खानी तथा भूगर्व विभागका आयोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । उनका अनुसार कामदार बस्ने क्याम्प लगायतका काम तीव्र गतिमा भइरहेका छन् । नेपालको दैलेखमा रहेको भू–भाग पेट्रोल र ग्यासको स्रोतका रुपमा विश्वकै महत्त्वपूर्ण स्थान हुनसक्ने अहिलेसम्मका अध्ययनले देखाएको प्रमुख नापितले जानकारी दिए । अन्तिम ड्रिलिङबाट के कति परिमाणमा ग्यास र पेट्रोल छ भनेर पत्ता लाग्ने जनाउँदै यसले देशकै आर्थिक अवस्था सुधार गर्ने महत्त्वपूर्ण स्रोत प्राप्त हुनेमा आशावादी भएको उनले बताए ।   नापितका अनुसार जमिनमुनि चार किलोमिटर डिल गरेर अध्ययन गरिने छ । “ड्रिलिङका लागि ठूलो मेसिन चीनबाट मागाइएका छ । त्यहाँबाट कलकत्ता बन्दरगाहासम्म आउन एक महिना लाग्दछ । कलकत्ताबाट १५ दिनभित्र दैलेख आइपुग्छ”, उनले भने । ठूला सवारीसाधन ल्याउनका लागि कर्णाली राजमार्ग र साँगेतडाको सडक निर्माण पनि तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । दैलेखमा विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को काम सुरु भएको थियो । नेपाल सरकार, खानी तथा भूगर्व विभाग र चीनको जिओलोजिकल सर्वे कम्पनीबीच रू दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटटेल्युरिक र जिओ केमिकल सर्वे सम्पन्न गरेपछि अन्वेषणका लागि थप बाटो खुलेको थियो ।  दैलेखको विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक जग्गाको मुआब्जा विवाद रहेकामा सोको समाधान गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए । भुषालको अगुवाइमा सबै पक्षसँग समन्वय गरेर समास्या समाधान गरिएको थियो । जिल्लामा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी–१ भिरखेतका २७ घरपरिवारको ४५ रोपनी जग्गाका लागि प्रतिरोपनी रू एक लाख ७५ हजारका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको छ ।

काठमाडौं:    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।  महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।  “खर्बौंको ‘डिलिङ’ क्रिप्टोमार्फत भइरहेको सूचना छ, सरकारले त्यसलाई अवैध मानेको छ, हुण्डी र विदेशी मुद्राको कारोबार नयाँ ढङ्गले भइरहेको छ, प्रतीतपत्र (एलसी) खोल्नेमा नयाँ प्रवृत्ति देखिएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसले अर्थतन्त्रमा नयाँ समस्या पैदा गरेको छ, ठूल्ठूला अपराधकर्ममा क्रिप्टोकरेन्सीको प्रयोग भइरहेको छ, हालैको सुन काण्डमा पनि क्रिप्टोको प्रयोग भएको देखिएको छ, यसलाई कुनै हालतमा नियन्त्रण गर्नुपर्छ ।” क्रिप्टोकरेन्सीको अनुसन्धान गर्न दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसका लागि कानुनी प्रावधानको कमी सरकारले महसुस गरेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताउनुभयो । सहकारी ठगीलाई नियन्त्रण गर्न सरकारले कानुन निर्माण गर्ने तयारी गरेको उहाँको भनाइ छ ।  “कानुन संशोधन गरेर सहरकारीलाई पुनःपरिभाषित गर्ने र त्यस आधारमा सहकारी सञ्चालन गर्नुपर्छ, सहकारीलाई बैंक जस्ता संस्थाका रुपमा गतिविधि गर्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “गठन आदेशद्वारा नियामक निकाय गठन, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने सरकारको निर्णय छ ।” सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताउनुभयो । “सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।  महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पछिल्ला दिनमा आर्थिक अपराधका शृङ्खला बढेको अवस्थामा यससम्बन्धी अपराधको अनुसन्धान गर्न विशिष्टकृत संरचना बनाउनुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणका आधारमा अनुसन्धान, अभियोजन र न्याय निरुपण हुने प्रणालीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्न विशिष्टीकृत ब्युरो स्थापनाका लागि गृहकार्य थालेको बताउनुभयो । अपराध अनुसन्धानप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै उहाँले प्रविधिमैत्री अनुसन्धानलाई अगाडि बढाउन प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विद्युतीय अपराधले सिर्जना गरेका चुनौती समाना गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ । उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको हो । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । गत पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए ।

काठमाडौं:     कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रंग भेटिएकाले नखान सरकारले आग्रह गरेको छ ।  विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो । त्यसैले विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशोधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ ।