काठमाडौं: नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनापछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए। तर उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको थियो।
काठमाडौं: आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
चितवन: चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
काठमाडौं: काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा।१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा: यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १२१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एवम् विदेशमा ख्यातीप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदार नाथ पौडेद्वारा लिखित एवम् निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा.डा.रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सि.के. श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भै छलफल एवम् अन्तरक्रिया गरिने छ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट बरिष्ठ नाट्यकर्मी सि के श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, बरिष्ठ नाट्यकर्मीहरू दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ नाट्यकर्मी सरुभक्त, अनुप बराल लगायत स्वदेशी एवम् विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १५० जना उपस्थिति हुनुहुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रमको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनुहुने पोखरेलले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकार र नेपाल र्याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं । उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ । एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।
पोखरा: सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ। सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुन लागेको हो । यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो । ९६औं अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ । प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो । विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो । यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ । उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ । यस्तै फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ । यसैगरी अर्थमन्त्री डा। प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ । नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ । गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा। नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ । फेस्टिभलमा हरेक दिन साङ्गीतिक प्रस्तुति छन् । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा। ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा। सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ । फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको र एघारौं संस्करणको फेस्टिभलमा आफूहरू देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आफूहरू आतुर रहेको आयोजक संस्थाका भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । यसैगरी आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको जनाए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो ।’ नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको उनको भनाइ छ । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनले जनाए । ‘यस्ता फेस्टिभल अरू पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ उनले भने । यसैगरी पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले यति बेला पोखरा शब्दहरूले दुलही जसरी सिँगारिएको बताइन् । ‘यहाँ यति बेला विचारहरूको ठूलाठूला महल ठडिँदै छन्,’ उनले भनिन्, ‘पोखरा यसै पनि कला–साहित्यको सङ्गम हो । गीत सिर्जनादेखि विभिन्न कलाकर्मका लागि मानिस खोजीखोजी पोखरा आउँछन् । यहाँको प्रकृति नै यस्तो छ, जसले जोकसैलाई सजिलै सिर्जनात्मक बनाइदिन्छ ।’ कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको भण्डारीको भनाइ छ । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभल आवश्यक भएको महसुस गरेको आफूहरूले बर्सेनि यस्तो फेस्टिभल गरिरहेको छ । ले सहयोग पु¥याउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ ।’ फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि भारीले जनाए । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ । फेस्टिभललाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

