काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पोखरा:    गण्डकी ढुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आज (आइतबार) पदस्थापन गरिएको छ ।  नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रमाणपत्र वितरण गरे । यस्तै निर्वाचन समितिका संयोजक यामबहादुर खत्रीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।   माघ १५ गते सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनमा मनोज रसाइलीले अध्यक्षका पत्यासी इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका थिए । भने, अन्य सञ्चालक समितिका सदस्यहरुमा भने सर्वसम्मत निर्वाचित भएका थिए ।  समितिको सदस्यहरुमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देवबहादुर थापा, विष्णु  थापा र केशव श्रेष्ठ सर्वनिर्वाचित भएका थिए ।  प्रदेश सरकारले यातायात नियावली राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको होः मन्त्री जुग्जाली गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको बताएका छन् ।  गण्डकी ढुवानी प्रालिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले यातायात नियमावली राजपत्रमा प्रकाशित गर्ने क्रममा कर्मचारीले लेख्ने र मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र गरेको आरोप लाग्दै आएकाले मुख्यमन्त्रीसँगको छलफलपछि मात्र राजपत्रमा प्रकाशित गरेको बताएका हुन् ।  ‘कुनै पनि नियावली राजपत्रमा प्रकाशित हुँदा कर्मचारीले लेख्ने मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र हो भन्ने आरोप लाग्दै आएको छ’, मन्त्री जुग्जालीले भने, ‘गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८०, राजपत्रमा प्रकाशित गर्नु अगाडि मुख्यमन्त्रीसँगको छलफल र अध्ययनपछि मात्र गत बिहीबार राजपत्रमा प्रकाशित गरेका हौं ।’ उनले कुनै पनि नियम,ऐन र कानून बनाउँदा कुनै व्यवसायीलाई विस्थापित गर्ने गरी निर्माण नहुने समेत बताए ।  ‘हामी लोकतन्त्रमा छौं कुनै पनि कुरामा चित्त नबुझे लेख्न आलोचना गर्न पाउँछौं तर सबै कुराहरु बुझ्न आवश्यक छ’, उनले भने, ‘सरकारले नियम, ऐन र कानून बनाउँदा कुनै पनि व्यवसायीहरुलाई विस्थापित गर्ने गरी निर्माण गर्दैन यसमा व्यवसायीहरु ढुक्क हुनुहोला ।’ मन्त्री जुग्जालीले हिजोका दिनमा देखिएका समस्याहरु समाधान गर्दै आफुहरुलाई अगाडि बढेको बताए । ‘हिजो यातायात कार्यालयमा जाँदाको अवस्था र अहिलेको अवस्था हेर्नुहोला, प्रविधिसँग पनि हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘मन्त्रालयमा आएको करिव ९ महिना पुग्न लाग्यो, यातायात क्षेत्रमा तपाईहरुले २० औं वर्ष काम गर्नुभएको छ, तपाईहरु विज्ञ हुनुहुुन्छ तपाईहरु जस्तै व्यवसायीहरुसँग छलफल गरेर हामीले नियमावली बनाएका तयार गरेका हौं ।’ पदस्थापन कार्यक्रममा यातायात प्रालि राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्मा र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसी लगायतले मन्तव्य राखेका थिए । 

नवलपरासी:     बर्दघाट नगरपालिका(४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।  सुस्ता गाउँपालिक–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।  गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । विश्वकर्माको पाखुरामा गोली लागेको छ ।  गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

पोखरा:   नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको बताएका छन् ।  पोखरामा आज आयोजित (शनिबार) नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम प्रदेश सभालाई सम्बोधन गर्दै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अहिलेको सरकार तस्करहरुको नियन्त्रणमा रहेको उल्लेख गरे । ‘यसको हाम्रो १७ खर्वको बजेट हो । १३ खर्व बढी राजश्व उठाउन पर्छ तर अहिले ३५ प्रतिशत पनि राजश्व उठ्न सकेको छैन । किन यस्तो भइरहेको छ, गुरुङले भने, ‘चुनावको समयमा यिनीहरुले भ्रष्ट र तस्करसँग साठगाँठ गरे । सबै ठाउँमा सेटिङ गरे अनि राजश्व उठ्न नसक्दा अर्थतन्त्र चलायनमान हुन सकेन ।’ उनले चुनावको समयमा सबै ठाउँमा सेटिङ गरेकाले अहिले अर्थतन्त्र चलायन हुन नसकेको टिप्पणी गरे ।  उपमहासचिव गुरुङले नेकपाको सरकार हुँदा संसारको देशहरु मध्ये ७ प्रतिशत आर्थिक वृद्धिदर बढी हुनेमा नेपालसमेत रहेको दाबी गरे ।  ‘नेकपाको सरकार हुँदा संसार भर ७ प्रतिशत आर्थिक वृद्धिदर हुनेमा नेपाल समेत थियो तर त्यो कायम रहन सकेन, उनले भने, ‘नेपालमा लगानी ग¥यो भने नेपालमा उद्योग, व्यापार, व्यवसाय ग¥यो भने देशको आर्थिक वृद्धिदर देखि रोजगार ढोका खुल्ने अवधारणा ल्याएपनि अहिले सबै बन्द भए ।’ उनले विदेशका भएका युवाहरुलाई समेत नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरेपनि अहिलेको सरकारको कारण त्यो पुनः युवाहरुमा निराशामा परिणत गरेको उल्लेख गरे ।  पार्टीको जनवर्गीय संगठनहरु पाटीको नीति तथा कार्यक्रममा रहेर सञ्चालन हुन आवश्यक रहेको समेत उनले बताएका थिए । सरकार उधारोमा चलेको छ: पूर्व अर्थमन्त्री डा. खतिवडा   नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको सरकार उधारोमा चलेको बताए । ‘राजश्वमा सेटिङ भइरहेको छ । सरकारले राखेको लक्ष्य अनुसार राजश्व संकलनमा हुनेमा शंका छ, डा. खतिवडाले भने, ‘अर्थतन्त्र चलायमान हुन नसक्दा सरकारले निर्माण व्यवसायी देखि कृषि अनुदान, बीमामा अनुदान दिन सकेको छैन ।’ अहिले व्यापारीहरु उधारोको चङ्गुलमा फसेकाले त्यो उठाउन कानून बनाउन आवश्यक रहेकाले त्यसको मस्यौदा तयार गरेर सरकारलाई दिएको डा.खतिवताले बताए । उनले अहिलको शैक्षिक क्यालेन्डर बिग्रदा कलेज, क्याम्पसका विद्यार्थीहरु विदेश पलायन भइरहेको धारणा राखे ।  

पोखरा:     उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् ।  पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरू कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ ।” श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए । उनले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलका नेता, कर्मचारी तथा व्यवसायीले दबाब दिने गरेको उल्लेख गरे । उनले यही माघ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनको काम अघि बढाउने बताए । “राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर समझदारी बनाउने र त्यसका आधारमा समायोजन समिति घोषणा गर्छौँ, समितिले समायोजन कार्यक्रम तालिका प्रकाशित गर्नेछ”, उनले भने । 

पोखरा:     गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘व्यवसायीले चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँु, उनले भने, ुतोकिएको दुईभन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झन्झट हटाएका छौँ।’ एकै ठाउँमा मात्र व्यवसायीलाई केन्द्रित हुन नदिनका लागि आवश्यकताका आधारमा प्रदेशभरको रुट इजाजत दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। पाँच वर्षपछि दुई जिल्लामा परमिटको अव्यावहारिक नियम हटेकामा यातायात व्यवसायी र यात्रुले खुसी व्यक्त गरेका छन्। प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुङ, मुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुङ जिल्लाका ट्याक्सी, जीप व्यवसायी र यात्रुका लागि नयाँ व्यवस्थाले सहज हुने बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापाले बताए। ‘ट्याक्सी सेवा लिने धेरै यात्रुको आकस्मिक काम परेका र बिरामी नै हुने गर्छन्’, उनले भने, ‘एकपटकलाई मात्र जारी हुने पटके लिन राति र कार्यालयबाहेकको समयमा कर्मचारीलाई फोन गरेर उनीहरूको घर, निवास र डेरामा पुगेर पटके लिनुपर्ने समस्या हटेको छ।’ सम्बन्धित सार्वजनिक सवारी धनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत दिइने भएको हो। प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित पालिका वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गरिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए। राजपत्रमा प्रकाशन भएको नियमावली कार्यान्वयनका लागि मातहतका कार्यालयमा पत्राचार गरिएको उनले बताए। अन्तर प्रदेश मार्ग इजाजतको हकमा सम्बन्धित निकायको निर्देशनबमोजिम कार्यालयले मार्ग इजाजत जारी गर्नसक्ने व्यवस्था गरिएको छ। एउटा मार्गका लागि इजाजतपत्र प्रयोग गरिरहेको सवारी धनी वा व्यवस्थापकले सो मार्गमा सवारी चलाउने चालकले अर्को मार्गमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने मार्गको इजाजतपत्र लिनका लागि साविकको इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र संलग्न गर्नुपर्ने व्यवस्था राखिएको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्ली रिजालले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा सार्वजनिक र निजी गरी पाँच लाख सवारीसाधन दर्ता छन्।

पोखरा:   बेलायतको स्कटल्यान्ड एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीको निधन भएको छ । ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीको मृत्यु भएको प्रहरील बताएको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा भने समुन्द्री तटमा काम गर्थिन्।

सर्लाही:   जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।  उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो । ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।  छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन:    पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बन्द गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।  बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो ।  सवारीसाधन दैनिक चार घण्टा सवारीसाधन रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको थियो ।  मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिँदै छ । पुन थप भएको समय अनुसार फागुन १२ गतेसम्म दिउसो समयमा सडक बन्द हुनेछ । ३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १४ मिटर काट्न बाँकी छ । हाई पावरका तीन वटा एक्स्काभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले ढिला भएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।  ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ ।  बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

काठमाडौं:      हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ ।  सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ । यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए। त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि० सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन्  १९८७  डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ । रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताउनुभयो । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताए । सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए । सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताए । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।