काठमाडौं: देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । यही माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।
रुकुमपश्चिम: रुकुमपश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका छन् । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । प्रहरीका अनुसार स्थानीय युवाविचमा विवाद भएको थियो । विवादपछि होहल्ला गर्दै हिडेका युवालाई सम्झाइ बुझाइ गर्न खोज्दा केही युवाहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाइ छ । प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । कालोसूचीमा परेकाहरुमा लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुर ७ चितवन लगायत छन् । खोपनिधि लोहनी, शंकर प्रसाद लोहनी र लेखनिधि लोहनी मुख्य व्यक्ति भएको यो कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीलाई सडक डिभिजन कार्यालय भरतपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यसैगरी कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, कोहलपुर–११ बाँके पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले सिफारिस गरेको थियो । तीन वर्ष कालोसूचीमा परेका अन्य निर्माण व्यवसायीहरुमा पद्मा कुमारी शाही मुख्य व्यक्ति भएको शर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी(८ कालिकोट र ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि कीर्तिपुर छन् । ओम गौरीशंकरको मुख्य व्यक्ति मीनबहादुर भण्डारी छन् । यसैगरी सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ । सडक डिभिजन दमौलीकै सिफारिसमा खड्गदेवी कन्स्ट्रक्स बन्दीपुरलाई दुई वर्ष कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्ति डिलबहादुर गुरुङ छन् । यसैगरी दीपक गौतम मुख्य व्यक्ति भएको गजुरमुखी निर्माण कम्पनी, इलाम, राजाबहादुर झा मुख्य व्यक्ति भएको नव निर्माण बिल्डर्स प्रालि, जनकपुर, स्वप्निल पौडेल मुख्य व्यक्ति भएको एस।बि।एम। इन्जिनियरिङ एसोसियट्स, काठमाडौं दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।
ढोरपाटन: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गाउँगाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताएका छन् । बागलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहमा पूर्णरुपमा अधिकार नआएको बताए । सीमित स्रोत साधन हुँदा पनि गण्डकी प्रदेशले प्राथमिकताका आधारमा जनतालाई सेवा सुविधा दिइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उनले स्थानीय पालिका घरआँगनको सरकार भएको हुँदा नागरिकको हरेक समस्या बुझ्न र समाधान गर्नतर्फ लाग्नुपर्ने उनले बताए । “हामी सङ्घीयताको कार्यान्वयनको चरणमा छौँ, जनताले हामीहरुबाट धेरै अपेक्षा गरेका छन् तर सीमित स्रोत साधान र पूर्ण रुपमा अधिकार आउन नसक्दा नागरिकको जनचाहनाअनुसार काम हुन सकेको छैन, यद्यपि प्रदेश सरकारले धेरै विकास गरेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “अब कुनै पनि नागरिक स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउने पर्ने छैन, गण्डकी सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लगेको छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकीमा कोदोको रक्सीलाई ‘ब्रान्डेड’ बनाउनका लागि गृहकार्य गरिरहेको जानकारी दिए । विदेशी रक्सी खुलेआम बिक्री हुने तर स्थानीयस्तरमा उत्पादन भए चीजलाई निषेध गर्न नहुने उनको भनाइ छ । यस वर्षदेखि प्रदेश सरकारले जनताले खानेपानी महङ्गो हुन्छ भनेर लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महसुल निःशुल्क गरेको उनले बताए ।
काठमाडौं: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
तनहुँ: पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नं।को मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र।३–०२–००९प ८५३० नं।को मोटरसाइकल ठक्कर खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ बस्ने वर्ष २६ को सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । दुर्घटनामा घाइते भएपछि रानालाई आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १२ बजे चिकित्सकले मृत घोषणा गरेको उनले जनाए । मिनी ट्रक र त्यसको चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ । शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् भने प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् । त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् । तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।
काठमाडौं: उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचनपछि उनले यस्तो बताएका हुन् । उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे । उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए । ‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गरे । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उनले भने, राजनीतिक नेताहरुका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गरिरहेका छन् । चलिरहेको छ भन्नेकुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्नेकुरा बल्ल भयो ।’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो ।’’ उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।
पोखरा: कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा समूह, विद्यालयलाई सहयोग, बिरामीको औषधीलगायत ७० भन्दा बढी योजनामा ७ लाख रुपियाँभन्दा बढी खर्च गरेका थिए । चालु आर्थिक वर्षमा जनस्वास्थ्यमा ५० हजार, खेलकुद तथा युवा प्रोत्साहनमा १ लाख र विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत डेढ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन् भने केही विद्यालयमा सहयोगको तयारी भइरहेको सुवेदीले जानकारी दिए । सुवेदीले राजनीतिलाई पेसाका रूपमा नभई समाजसेवाका रूपमा अघि बढाउनुपर्ने मान्यता आफ्नो रहेको बताउँदै जीविकोपार्जनका लागि जनप्रतिनिधिले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्ने धारणा राखे । आफूले पाएको सबै रकम जनताकै सेवामा खर्च गर्ने उनले प्रतिबद्धता दोहोर्याए । ‘कुनै पनि गरिब जनता उपचारको अभावमा मर्नुनपरोस्’ सुवदीले भने, ‘जनप्रतिनिधि भइन्जेल सधैँ म जनताको दुःखमा साथमै रहने छु ।’ उनले आफ्नो कामलाई आन्दोलनको संज्ञा दिँदै जनप्रतिनिधि जागिरे होइन भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए । पोशाक वितरण कार्यक्रममा साविक रूपाकोट गाविसका पूर्व अध्यक्ष टीकाराम पगेनीले राजन जस्ता युवाको राजनीतिक चेतनासहितको कार्यशैलीले आशाको किरण देखा परेको बताए । नेकपा एमाले कास्की क्षेत्र नम्बर १ इन्चार्ज र गण्डकी प्रदेश सदस्यसमेत रहेका पगेनीले अबको विकासको मोडल उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए । नेकपा एमाले गण्डकी प्रदेशका सदस्य विष्णु पुनले समृद्धिको अभियान राजन जस्ता त्यागी र सकारात्मक सोच भएका युवा राजनेताहरूबाट मात्रै सफल हुन सक्ने धारणा राखे । जनताको सेवामा लाग्ने राजन र राजन जस्ता युवाहरूका पक्षमा आफू सधैँ लागिरहने पुनको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठले आफ्नो आम्दानी विद्यार्थीका लागि खर्चेर राजनले असल जनप्रतिनिधिको परिचय दिएको बताए । रूपाका विद्यालयमा मात्र नभई हरेक बस्ती र कुनामा पुगेर सेवा गर्दै आएका राजनबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने बताउँदै श्रेष्ठले विश्वशान्तिका विद्यार्थीका लागि गरेका सहयोगप्रति धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारीको स्वागत तथा शिक्षक बाबुराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय युवा सङ्घ, रूपाका अध्यक्ष सुजन श्रेष्ठ, उपाध्यक्ष हिमाल गुरुङ, खेलकुद महासङ्घ, कास्कीका सदस्य खेम गुरुङलगायतको सहभागिता रहेको थियो ।

