काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पोखरा:    वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।  मञ्चका सभापति राजु क्षेत्री (अपुरो)को संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।  मञ्चका कोषाध्यक्ष लबि क्षेत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।  मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्विटर टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्ने बताइन् । उक्त कार्यक्रमका लागि चन्द्रमोहन (अर्बिन) पौडेल, क्यामबहादुर घताने, पूर्णबहादुर शाही नर्वे, बिष्णुहरि अधिकारीले आर्थिक सहयोग गरेका थिए । यसैगरी महेन्द्र मा.वि. लाहाचोकका विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त विद्यालयमा एसइइ तयारीमा रहेका ५ जना विद्यार्थीलाई होस्टल खर्च अभावको विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीबाट जानकारी प्राप्त भएपछि उक्त सहयोग गरिएको छ । जसका लागि मञ्चका पदाधिकारी पूर्णबहादुर शाही (नर्वे) र अञ्जु लम्साल (काठमाडौं) बाट १६–१६ हजार, राजेश घले (हङकङ) बाट आठ हजार सहयोग भएको थियो । सोही अवसरमा पूर्णबहादुर शाहीबाट ५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । सहयोग ग्रहणपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले मञ्चको सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरे । कार्यक्रमका व्यवस्थापक सुशील श्रेष्ठले मञ्चका सचिव पुष्पराज अधिकारीको संयोजकत्वमा मञ्चले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सहयोग हस्तान्तरण गरेको जानकारीसमेत गराएका थिए ।  प्रदीप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका पदाधिकारी भुपेन्द्र सुनार, दिलिप रानाभाट, गोमा घले, राजु परियार, रूपा अधिकारी, देवी तिवारीले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए ।   

काठमाडौं:    काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क जाँदै गरेको बा।३ ख। ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर बसको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।

म्याग्दी:     म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरले जानकारी दिए। डिएसपी कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको टाउको र छातीमा चोट लागेको छ। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

पोखरा:    क्रान्तिकारी युवा संगठन नेपालले हुलाकमार्फत जनप्रतिनिधिहरुको तलब भत्ता खारेज गर्न माग गर्दै २० बुँदे माग प्रधामन्त्री कार्यालय पठाएको छ ।    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै २० बुँदे माग बुझाउन गएपनि समय नपाएपछि पुष ३ गते हुलाकमार्फत पठाएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिश भट्टले जानकारी दिए ।    क्रान्तिकारी युवा संगठनले उक्त माग प्रधानमन्त्रीले १० दिन भित्र पुरा नगरे दबाब दिन संघर्षका कार्यक्रमको तयारी रहेको पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको छ ।    क्रान्तिकारी युवा संगठन गण्डकीका इन्चार्ज प्रमोदले माग पत्रमा सबै तहका जनप्रतिनिधिहरुको तलब भक्ता खारेज, सबै तहका कर्मचारीहरुका सम्पत्ति छानबिनदेखि एनसेल, एमसिसी खारेज सम्मका मागहरु उल्लेख गरिएको बताए ।    उनले जनजिविका मागहरु राखेर भेट्न खोज्दा प्रधानमन्त्री प्रचण्डले समय नदिएको गुनासो गरे ।    ‘हामीले जनजिविकाका माग राखेका प्रधानमन्त्रीलाई भेट्न खोजेका थियौं तर प्रधानमन्त्रीले समय दिनुभएन’, प्रमोदले भने, ‘प्रधानमन्त्रीले समय नदिएपनि २० बुँदे मागपत्र हुलाक मार्फत पठाएका छौं, १० दिनभित्र पुरा नभएर संघर्षका कार्यक्रमबाट दबाब दिन्छौ ।’   गण्डकी इन्चार्ज प्रमोदले संगठनले राखेको मागहरु पुरा नभए जनसंघर्षका कार्यक्रमको आयोजना गर्ने  घोषणा गरेका थिए ।  

मनाङः    हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो, “चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।” चिसो पनि उसैगरी बढ्दै गएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उहाँले बताउनुभयो । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।” पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ । अन्य कार्यालयसम्बन्धी कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौँ ।” विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम पूर्णरूपमा रोकिएको छ । चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माणको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धी काम बन्द गरिएको विष्टले बताउनुभयो । त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पनि न्यून मात्रामा पर्यटकको आगमन भइरहेको बताउनुभयो । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर हामी घर कुर्ने र चौँरी हेर्न यहीँ बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा माउ चौँरी र युवावस्थाका चौँरीलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरूलाई ध्यान दिनुपर्छ ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका चौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दूध दुहुदैनौँ”, उहाँले भन्नुभयो, “लेकका खर्कबाट गाउँघर नजिक चौँरी ल्याइन्छ । नावर पनि चौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि चौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् । 

काठमाडौं:    कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ । परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np​ मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।  

काठमाडौं:    आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज चुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुईरदुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुईरदुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले राष्ट्रियसभा चुनावमा मतदान गर्नेछन् । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । बाग्मतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३÷३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २÷२ सदस्य निर्वाचित हुनेछन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ । अरु प्रदेशमा भने एमाले एक्लै प्रतिस्पर्धामा छ । आजै बेलुकीसम्म मतपरिणाम घोषणा भैसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

गोरखा:     गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल व्यवसायीहरु खुशी भएका छन् ।  त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिए । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।   बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छ । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ ।