काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
काठमाडौं: नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विभिन्न कलस्टरका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। उनले त्यसका लागि सातवटै प्रदेशबाट कम्तिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको बताए। विशेषतः आन्दोलनमा योगदान गरेका नेता–कार्यकर्तालाई प्राथमिकता राख्ने महासचिव पोखरेलको भनाइ छ। ुराष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयमा आजको बैठक बस्यो। बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि ७ वटै प्रदेशबाट विभिन्न कलस्टरका लागि तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका छौं। आन्दोलनमा योगदान गरेकालाई प्राथमिकतामा राख्छौं,ु महासचिव पोखरेलले भने। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रियसभा निर्वाचनमा शून्य नबनाउन प्रस्ताव गरेको विषय सार्वजनिक भइसकेको छ। यद्यपि एमालेलाई कति सिट दिने विषयमा सत्ता गठबन्धनले टुंगो लगाउन सकेको छैन। राष्ट्रियसभामा २० सिट रिक्त हुने भए पनि निर्वाचन आयोगले १९ सिटका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। एक सिट भने राष्ट्रपतिले मनोनीत गर्नेछन्।
काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीवार बिहान नेपाल आएका थिए । भारत फर्कनुअघि विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे । नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन बिजुली व्यापारलगायत चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । आज स्वदेश फर्किनु अगाडि जयशंकरले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन गरे।
काठमाडौं: सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । उनले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताए । आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने विषय नरहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा हिजो काठमाण्डौमा रहेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताए।
गोरखा: गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए। संस्थाले गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उनले बताए । अहिले वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् । संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत संयुक्तरुपमा साँचो हस्तान्तरण गरेर उपलब्ध गराए । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए। एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब रु दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने उनको भनाइ छ । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।
काठमाडौं: नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताए । फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो ।
काठमाडौं: भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

