काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

रुपन्देही:    हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।  नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले आज लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष डा।लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा ९स्पीड०, नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।  उपाध्यक्ष डा।लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्याउँदा विश्वभरिनै सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गैरवको विषय भएको बताउनुभयो ।  शान्ति दीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो । लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र सङ्घको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरुले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताउनुभयो । 

स्याङ्जा:    स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ ।  आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका-६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेका थिए । छोरालाई बचाउन नदीमा हाम फालेकी आमा रितुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  कालीगण्डकी नदीले बगाएको अवस्थामा शिलाभन्दा केही तलबाट आमा छोरालाई नै उद्धार गरेको भए पनि आमाको उपचारको क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीको भनाइ छ । छोराको अवस्था गम्भीर रहेको र उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । 

बाँके:    बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो । बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिनुभयो । बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो । यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।  नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहनुभएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।

काठमाडौं:    दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

काठमाडौं:    रामेछापस्थित मन्थली विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो। प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेको बताए। ‘अर्को निर्णय नभएसम्म हालका लागि दुवै पाइलटलाई जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ’, उनले भने। लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।

काठमाडौं:   नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ ।   सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।   यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ ।   यस्तै भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनामा भर्ना खुलेको छ ।   यसैगरी अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा पनि भर्ना खुलेको छ ।   दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

काभ्रेपलाञ्चोक:   काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उनले बताए । प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

काठमाडौंः    देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् ।  यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् । 

काठमाडौं:     सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे फैसला आज सुनाउँदै छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा गएको असोज ३ गते मन्त्रिपरिषद् बैठकले योगराज ढकालको आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्। गएको असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि हिजोका लागि सुनुवाइ निर्धारण भएको थियो । गएको असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।