काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:   नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क भ्वाइस र नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने भएको छ। भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनले ५ दिनका लागि उक्त क्षेत्रमा निशुल्क भ्वाइस र एसएमसस सेवा उपलब्ध गराइने बताए। ुहाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ । यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । ‘नेपाल टेलिकमबाट जारी सूचनामा भनिएको छ’,  सूचना आदान(प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पांच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा Sms सेवा उपलब्ध गराइएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi  सेवा उपलब्ध गराइनेछ ।

काठमाडौं:    नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ।  शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्प परी मृत्यु भएका तथा घाइते परिवारलाई ५० प्रतिशत रकम दिने जानकारी दिएको हो। क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि(२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’  क्यानले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।  आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको  भिडन्त पक्का गरेको हो। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।

पोखरा:   पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ ।   लामो समय पिसाबसम्बन्धि रोगले थलिएका उनको शनिबार विहान निधन भएको सुनिल उलकले बताए ।    ‘लामो समय बिरामी हुनुभयो । आज निधन भएको छ,’ उनले भने, ‘केही दिन शवलाई अस्पतालमै राखिन्छ । सोमवार अन्त्येष्टि गर्ने तयारी छ ।’ स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो ।  उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् ।  स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए ।  उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए ।   स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।

काठमाडौं:    शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।  नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।  जसमा जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी,  रूकुम पश्चिममा ३७ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।  यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।  साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनुभएको छ । 

काठमाडौं:    जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।  साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ ।  यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री  जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनुभएको छ । 

सुर्खेत:   शुक्रबार रातिको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। उपमेयर सिंहका काका जय सिंहले पनि भूकम्पमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्। नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

काठमाडौं:    मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।  जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायत देशभर नै महसुस भएको छ।  पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिको विवरण आउन बाँकी छ। 

पोखरा:    पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  पोखरा लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।   

पोखरा:    पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँठो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।    पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।   मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले  व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् ।  व्यापार भन्दा पनि प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । फुल आवश्यक परेमा वडा स्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न उहाँले अनुरोध पनि गर्नुभयो ।  पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।