काठमाडौं: हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धरानमा २७ मिलिमिटर वर्षा भएको छ । जनकपुरमा २०, सिमरामा १६, धनकुटामा सात, ताप्लेजुङमा पाँच, विराटनगरमा छ र जिरीमा सात मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं: नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्री तथा विशिष्ट कर्मचारी र व्यक्तित्वहरुलगायतको उपस्थिति थियो । उपराष्ट्रपति यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
पोखरा: पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभएको हो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ । सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित हुनुभयो । उहाँहरुलाई पत्रकारिता क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको सेन्टरले जनाएको छ । साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षिय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता जहिलेपनि जनताको पक्षमा र जनताका मुद्धा बोक्नुपर्नेमा जोड दिनुभयो । जनपक्षिय पत्रकारिताले जनताका आवाजहरु मुखरित गर्ने भएकाले यसले समाजको सवै क्षेत्र र तहको समृद्धिमा योगदान पुग्ने भनाई सहभागीको छ । पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्र प्रति उत्तरदायि हुन सक्दा भष्टाचार नियन्त्रण, सुशासन, सदाचारिता हुने भएकाले यसले समृद्धिमा योगदान पुग्नेमा जोड दिइयो । अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षिय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । जनपक्षीय पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्नु सञ्चारकर्मीहरुको मूल उद्धेश्य हुनुपर्ने बताउँदै उहाँले समाजवाद उन्मुख शासन व्यवस्थाको आधार तयार गर्न पनि पत्रकारिता आधारभुत जनतासम्म पुग्नुपर्ने बताउनुभयो । बरालले भन्नुभयो,“जनपक्षीय पत्रकारिताले समाज परिवर्तनका मुख्य एजेण्डाहरुलाई प्राथमिकताकासाथ उजागर गर्दे आमनागरिकमा चेतना फैलाउनुपर्दछ । हामीले देखेको समाजवाद र समृद्धिको यात्रा जनपक्षिय पत्रकारिताबाट मात्र सम्भव हुन्छ ।” प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षिय पत्रकारितालेमात्र निमुखा बर्ग र दबिएका र दबाइएका बर्ग र समूदायको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो । उहाँले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले अन्य भन्दा पृथक पहिचान कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । ५४ रोपनी क्षेत्रफल निर्धारण गरि प्रारम्भिक निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी, फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा, बिसौनी स्थल समेत निर्माण गरिएका छन् । आगामी दिनमा ढुङ्गे धारा, योगा मेडिटेसन स्थल, टि सप, बोटानिकल गार्डेन, साँस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचा, सुन्दर फोटो स्टेसन लगायतका पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरि पर्यटक भित्राउने लक्ष्य रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए । प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्त्व, जैविक विविधता र पर्यापर्यटन प्रबर्द्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाऊ पुर्याउने स्थानीयको धारणा छ । पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि गर्दै स्थानीयवासीको आयस्तर समेत उकास्ने अभियानका साथ आवधिक योजनाको रुपमा बृहत् पर्यटन पूर्वाधारको रुपमा विकास गर्न लागिएको पञ्चासे जैविक बिबिधता पार्कको यहीँ बैशाख १ गते नयँबर्षको अबसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ। नयाँबर्षको अबसरमा पञ्चासेको पर्यापर्यटन प्रबर्द्धनका निम्ति पञ्चासे सुनाखरी पदयात्रा नामक हाईकिङ्ग कार्यक्रम समेत आयोजना गरि पञ्चासे जैविक विविधता बिबिधता पार्कको समुद्घाटन गरिने बताईएको छ।
बागलुङ: पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो। लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए। न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
चितवन : भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताए। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ। भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो। 'रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो। तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो,' उनले भनिन्। खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ। सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ। यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन्। जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ। तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ। भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ। फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेलले बताए। रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए । कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ । स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ । काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो । आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ । कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् । त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । त्यस्तै बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए। उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे। प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए। यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे। उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए। नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो।
पोखरा: जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ। गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले गण्डकी प्रदेशका जिल्ला समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि.र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो। सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ। त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने , जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप –सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।

