काठमाडौं: कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गर्नुभयो । सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्वासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितलाई सङ्कलन भएको रु दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले जनताको रु १६ अर्बभन्दा बढी पैसा सहकारीमा डुबेकाले व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको एकमात्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरी धाँधली गरिएको बताउनुहुँदै फर्जी परिचयपत्र बनाएर गैर विद्यार्थीलाई मतदान गर्न लगाइएको कानुनी कारबाहीको माग गर्नुभयो । सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको क्रिकेट मैदानलाई पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि सुधार गर्न उहाँको माग थियो । सांसद रणकुमारी बलम्पाखीले सिन्धुलीको कमलामाई नदीले कटान गरी सयौँ घरमा क्षति पुगेकाले क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद रणेन्द्र बरालीले फागुनमा नेकपा (एमाले) बाट निर्वाचित स्थानीय सरकारका प्रमुख उग्रनारायण यादवले जातीय विभेद हुनेगरी भोज आयोजना गरेकाले कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । सांसद रमा कोइराला पौडेलले हालसम्म न्यून सङ्ख्यामा मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइएकाले सबै उद्योग, प्रतिष्ठानलाई सूचीकृत गर्न माग गर्नुभयो । सांसद राजकिशोर यादवले नागरिकता विधेयक कहाँ अड्किएको छ र कहिले आउँछ भनी प्रश्न गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन माग गर्नुभयो । सांसद रामकुमार राईले खोटाङ जिल्लाका विभिन्न स्थानमा १५ वर्षअघि सुरु गरिएको सडक अझै सम्पन्न नभई अवरुद्ध भएकाले छिटो काम गर्न माग गर्नुभयो । सांसद रामहरि खतिवडाले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न माग गर्नुहुँदै सभामुखले पत्रकार बिक्रीमा छन् भनी दिनुभएको अभिव्यक्तिप्रति सञ्चार क्षेत्रको आलोचना आएकोप्रति सभामुखको ध्यान गएको छ कि छैन भनी प्रश्न राख्नुभयो । सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्नुभयो । सांसद रुपा चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । सांसद रोशन कार्कीले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ नेपाली जनता सुकुम्वासी हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकाले ठोस काम गर्न माग गर्नुभयो ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने विषया अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा भोलि विश्वासको मत लिने कार्यक्रम तय भएको छ। त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए। यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत,केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले जानकारी दिए। महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।
काठमाडौँ: नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’ उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए । उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन । त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। आइतबार संसद् भवन नयाँ बानेश्वर बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न चार वटा मापदण्डलाई आधार बनाएको छ। पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार मानिने बताए। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने जानकारी दिए। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक बसेर कार्यासम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ। प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ । निर्वाचन तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको थियो । त्रिविको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट विपिन विक,नेकपा एमाले अनेरास्ववियुबाट प्रकाश विष्ट,नेपाली कांग्रेस निकट नेविसंघबाट श्यामराज ओझा, विप्लव निकट अखिल क्रान्तिकारीबाट मदन केसीलगायत चुनावी मैदानमा छन्। कूल तीन हजार चार सय ३६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा बिहान ११ बजेसम्म ६ सय मत खसेको अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदीप भट्टले अन्नपूर्णलाई जानकारी दिए । देशभरिका ६० आगिंक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरू भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए।
काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो । यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन्।

