काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

तनहुँ:    गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।  पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।  बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एण्ड बञ्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।  “बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेका छौँ, सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ”, शर्माले भन्नुभयो, “अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा छौँ ।” शर्माका अनुसार सिसाको पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब रु एक अर्ब बजेट लाग्ने अनुमान छ । “डिपिआर तयार भएपछि बजेटको टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो, “सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।” बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेशनको नजिकै सिसाको पुल बनाउने योजना छ । “सत्र तले पाँचतारे होटल नजिकको जङ्गलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट तीन सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भिरमाथि हिँडेको अनुभव लिन सकिनेछ”, शर्मा भन्नुहुन्छ ।  बन्दीपुरमा निर्माणाधीन केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि केबलकारको व्यावसायिक सञ्चालनको तयारी भइरहेको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब निर्माणको अन्तिम चरणमा पुगेको शर्मा बताउनुहुन्छ ।  विसं २०८० को मङ्सिरभित्र पाँच तारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम सम्पन्न गर्ने लक्ष्य छ । बरालथोकमा पाँचतारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ ।  बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिज्जम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । 

काठमाडौं:    आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।  आगामी २०८० साल वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते विश्व मजदुर दिवस र वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ १४ गते रक्षाबन्धनको र भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको बिदा दिइएको छ ।  त्यस्तै असोज ३ गते संविधान दिवस, असोज २८ गते घटस्थापनाको बिदा दिइएको छ भने कात्तिक ४ (फूलपातीदेखि द्वादशीसम्म) देखि ९ गतेसम्म सार्वजनिक बिदा हुनेछ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मी पूजा, म्हपूजा/नेपाल संवत्गो/वद्र्धन पूजा र दुई दिन भाइटीकाको बिदा हुने घोषणा गरिएको छ । यसैगरी मङ्सिर ३ गते छठ पर्व, पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापू दिवसरयोमरी पुन्हीको बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसारको बिदा रहनेछ भने माघ १ गते माघी पर्व, माघ २७ गते सोनम ल्होसारको बिदा हुनेछ । फागुन २५ गते महाशिवरात्रि र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा घोषणा गरिएको छ । यसबाहेक दिन नतोकी इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले फागु पूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा घोषणा गरिएको छ । मन्त्रालयको सूचीअनुसार भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्राको बिदा दिइने उल्लेख छ । सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने घोषणा गरिएको ।  त्यस्तै महिला कर्मचारीका लागि असोज १ गते तीज र असोज २० गते जितिया पर्वको बिदा हुनेछ । पुस २७ गते पृथ्वी जयन्ती ९राष्ट्रिय एकता० दिवसको बिदा घोषणा भएको छ । फागुन २ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा घोषणा भएको छ ।  गृह मन्त्रालयले भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा उपत्यकाका लागि दिने निर्णय गरेको छ ।  सरकारले यसै वर्षदेखि दिन थालेको फागुन १ गते जनयुद्ध दिवसको बिदालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा तोकिएको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती, मंसिर ११ गतेको गुरु नानक जयन्तीको बिदा सम्बन्धित धर्मावलम्बीलाई मात्र हुनेछ । यसबाहेक सरकारले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ २१ गते, निजामती सेवा दिवस भदौ २२ गते र माघ १६ को शहीद दिवस मनाउने तथा ती दिनमा कार्यालय बिदा नहुनेसमेत घोषणा गरेको छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई दृष्टिगत गरेर बढीमा १८ दिन सार्वजनिक बिदाको व्यवस्था र समायोजन गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ । 

 पोखरा:  सहारा क्लब पोखराले सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सघाउने भएको छ ।    शुक्रबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान वर्ष खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ । सो हस्ताक्षर कार्यक्रममा सहारा क्लव पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिती रहेको थियो ।    सहारा क्लवले यसअगाडीका संस्करणमा पनि सोही विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो ।    आगामी बैशाख २३ गते शनिबार  पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७९ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका सचिव शशी कुमार पौडेलले बताए ।    मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाटपनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको भनाई छ ।   

पोखरा:  अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे । पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई ६–३ र ६–४ को सेटमा तथा लक्ष्मण तामाङले कर्ण तामाङलाई ६–१ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो नाम लेखाउन सफल भएका हुन्  । अब फाइनल प्रवेशका लागि अनुजले नविनसँग तथा राजनले लक्ष्मणसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत डबल्सतर्फको क्वाटरफाइनलमा गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जोडीले इन्द्र गुरुङ र इन्द्र गुरुङको जोडीलाई ४–६, र ६–१ र सुपरटाईमा १०–४ ले पराजित गरे । त्यस्तै, पदम गुरुङ र हुम आलेको जोडीले अनिल तुलाचन र लक्ष्मण तामाङको जोडीलाई ६–३ र ६–४ ले तथा राजन पौडेल र लोक गुरुङको जोडीले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ७–६ र ६–२ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले भिष्मराज पौडेल र माधव भण्डारीको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर शक्ति सर्माले जानकारी दिए । 

पोखरा:  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैगिंक  तथा घरेलु हिंसा सम्बन्धि  सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए । प्रक्षिकण कार्यक्रममा लैगिंक हिंसाको परिचय, लैगिंक हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्था र सो सम्वन्धमा घटेका घटनाका वारेमा उजुरी कहाँ र कहिले गर्ने भन्ने वारेमा जानकारी गराइएको थियो । गाँउ गाँउमा पुगेर लैगिंक तथा घरेलु हिंसाका वारेमामा सचेतना जगाउने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक टिकाराम पौडेलले यस्ता खालका कार्यक्रमले गाउमा सचेतना जगाउन मद्दत मिल्ने बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कमल प्रसाद बास्तोला, सामाजिक वातवरणीय आम समूहकी अध्यक्ष राधिका पौडेलले बोलेका थिए ।

पोखरा:  हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ । विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको उक्त कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले वताए । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न गरिएको हो । सो कार्यक्रममा १० वर्ष देखि ६५ वर्षसम्मका ३२ जना सहभागी रहेका थिए । उक्त समुह पोखराबाट फेदीखोला ३ भाटखोलाको पारिकोवारी सम्म मिनि वसमा र पारिकोवारी देखि वाँगे मैदान स्कुलसम्म स्थानिय जिपको यात्रामा रमाउदै गएको थियो । बाँगे गाउँमा खानपिन गरेपछि हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा शिव मन्दिर, गोराको वारी, वडा कार्यलय, हुदै डाँडाको पोखरासम्म पैदल यात्रा गरेको थियो भने उक्त चौताराबाट फर्किएर ऐतिहासिक कोट मन्दिर (काल भैरब मन्दिर) दर्शन गरी पैदल नै भाटखोलाको चिप्लेटी हुँदै भालुपहाडको अवलोकन गर्दै हाइकिङ सम्पन्न गरेको थियो । आगामी हाइकिङ चैत्र महिना २५ गते अन्तिम शनिबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा गरिने भएको छ । खाना र यातायात व्यवस्थापनको लागि सहज वनाउन सहभागी हुन इच्छुकले २० गतेसम्म नाम दर्ता गर्न अर्थ संयोजक टिका आचार्य सुवेदीले अनुरोध गरेकी छन् ।

  पोखरा:  गण्डकी प्रदेश प्रहरीले लक्षित जनसमुदायमा पुगी छोटो समयमा सरल र प्रभावकारी तरिकाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा स्थापनार्थ सचेतना अभिवृद्धि गर्ने  उद्देश्यका साथ लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ । यस अन्तर्गत गण्डकी प्रदेश प्रहरीले विद्यालयहरुमा प्रार्थनाको समयमा, टोल बिकास संस्था तथा आमा समुहहरुको नियमित बैठकको समयमा, विभिन्न क्लवहरुको खेल सुरुहुने समयमा, बस पार्कहरुमा प्रहरी कर्मचारी पुगी बिभिन्न विषयका शान्ति सुरक्षा सम्बन्धी पर्चा वितरण र छोटो अन्तरक्रिया गरी १० देखी १५ मिनेट सम्मको कार्यक्रम सञ्चालन गर्ने रणनीति तय गरेको छ । यस क्रममा सुरक्षा सचेतनाको कमि भएको समुदाय र विषय  पहिचान गरी  सोही समुदायमा आवाश्यक विषयको लघु सचेतनामुलक कार्यक्रमहरु सञ्चालन  गर्नेछ । यस लघु सचेतना कार्यक्रमहरु अन्तर्गत लागुऔषध दुर्व्यसनी नियन्त्रण, महिला हिंसा रोकथाम, सडक दुर्घटना न्यूनिकरण, बालबिबाह र मानव वेचबिखन रोकथाम, घरेलु हिंसा न्यूनिकरण, साईबर सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ  ।  लघु सचेतनामुलक कार्यक्रमहरु मार्फत नागरिकहरु सुसुचित भई आफ्नो समाजमा हावी रहेका लागुऔषध दुर्व्यसनि, महिला हिंसा, सडक दुर्घटना, बालबिबाह, मानव वेचबिखन, घरेलु हिंसा, साईबर अपराध लगायतका विषयमा आफु सचेत र सुरक्षित रहि प्रहरीलाई सुचना प्रदान गर्ने अपेक्षा राखीएको छ ।   नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएका उक्त कार्यक्रमहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नयाँ स्वरुप प्रदान गरी ११ ओटै जिल्लामा  निरन्तर सञ्चालन गर्न निर्देशन गरीएको छ ।          

पोखरा:  पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् ।   विहिबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताए ।    मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उनको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गरेका छन् ।    सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे । मैले आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनासले भने ।    उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उनले गरे । मेसिन निर्माण कार्यलाई उनले निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ ।’, उनले भने ।  मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनासले आफुले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनिय रहेको उल्लेख गरे । यसले अन्य विद्यार्थीलाई समेत प्रोत्साहन मिल्नेमा उनी विश्वस्त छन् ।   अभिनासले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको धारणा उनले राखे । पोखरा महानगरपालिकाले सभागृहमा बिजनेस प्रोमोशन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीहरुलाई प्रोत्साहन गर्दै आएको जानकारी गराए ।    अभिनासले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने अभिव्यक्ति उनको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयमा महानगर सदैव तत्पर रहेको उनले बताए ।    पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनास जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकाय देखि नीजि क्षेत्र समेत लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।    जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताए । अब सैद्धान्तिक तहको अध्ययन सँगै सीप विकासको गतिविधिलाई समेत अगाडि बढाउनुपर्ने धारणा उनको छ ।    गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफुले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको थियो । 

पोखरा:  जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ ।  धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराए । उनका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उनले बताए । अडिसनमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने उनले बताए । आफ्नो बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पुर्याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उनले गराए । कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटोलाई आफुले अनुसरण गर्दै आएको उल्लेख गरे । धर्मराज थापाका सिर्जनालाई प्रस्तुत गरी नयाँ कलाकारहरुलाई स्थापित हुन समेत प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा उनी आशावादी देखिन्छन् । कलाकारितामा निखारता ल्याउन प्रतियोगिताले सहयोग मिल्ने हुँदा इच्छुक प्रतियोगीहरुलाई सहभागी हुन उनको आग्रह छ । प्रा.कुञ्जराज थापाले स्वागत गरेको कार्यक्रममा कर्णप्रिय संगीतालयका निर्देशक संगीतकार करण तामाङले समेत बोलेका थिए ।