काठमाडौं : आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य पछ्यारहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। पहिलो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरमा कुशल तेस्रो नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ललाई पनि गुमाएको थियो। यद्यपि, तेस्रो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै कुशलले एकदिवसीय करिअरको पाँचौं अर्धशतक बनाएका हुन्। दोस्रो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमाएको नेपाल कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पनि १६ रन बनाएर आउट भएका थिए। भीम ३० बलमा २४ रन बनाएर खेलिरहेका छन्। नेपालले १६ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाएको छ। नेपाललाई जितका लागि ३४ ओभरमा दुई सय १३ रन आवश्यक छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै,ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०,सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अन्नपूर्णलाई जानकारी दिए। उनी सप्तरी निवासी हुन् । गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त थियो। सोही रिक्त स्थान पदपूर्तिका लागि अन्सारीलाई सिफारिस गरेको हो।
काठमाडौं: भोलि (शुक्रबार) हुने उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग सम्बन्धित सबै पक्षमा आग्रह गर्दै मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको हो । उपराष्ट्रपतिका लागि शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । बिहीबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसैगरी, आयोगले चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो । सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न/गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’’
काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए। शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
दमक: दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
हेटौँडा: बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री हुनुहुन्छ ।
काठमाडौं: बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।
तनहुँ: तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ । सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ । वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् ।

