काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ। सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्। यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्। उनले नेपाल-र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्। गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो।जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए। पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन्। उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्या,व्यवसायीको पीडालगाय मुलुकमा देखिएका नकारात्मक संकेतलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे। महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।
काठमाडौँ: मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ । छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई पनि ६–० गोलले हराएको थियो । यस समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए । पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेबनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् । दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् । आयोजक उज्वेकिस्तानसहित सन् २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।
काठमाडौँ: निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।
काठमाडौं: भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् । पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् । फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् । आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । महिलातर्फ आलिया शीर्षस्थानमा आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् । दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् । अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् । कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् । कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।
काठमाडौं : सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवासुविधा उपलब्ध गराउँदै आएको छ। जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन्। यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा र मासिक ४० हजार दिने व्यवस्था छ। पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ। काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ। मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्डबमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ।
जाजरकोट: किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु-याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपियाँमा सो केन्द्र निर्माण गरिएको थियो । सो केन्द्रका लागि आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । सो केन्द्र कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो । सङ्कलन केन्द्र प्रयोगविहीन भएपछि आफ्ना उत्पादन डोकोमा बोकेर पसल र गाउँघर चहार्दै बेच्न किसान बाध्य छन् । भेरी नगरपालिका–४ का एकदेव शर्माले सरोकारवाला निकायको लापरबाहीका कारण कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामै जीर्ण बन्दै गएको बताउनुभयो । कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । सहकारी संस्थाका प्रबन्धक राजु केसीले सङ्कलन केन्द्र छिट्टै सञ्चालन गरिने बताउनुभयो ।
पोखरा: घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ। आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो। माछापुच्छ्रे गाउँपालिका–७ (धम्पुस)का वडा अध्यक्ष वैकुण्ठ भण्डारीको टोलीले स्थलगत अवलोकनसँगै नापजाँच गरेको बताउनुभयो। करिब तीन वर्षअघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो। उक्त योजना केही संशोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो। उक्त परियोजना अघि बढाउन स्थानीय रूपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाउनुभयो। सडकको दायाँबायाँ पर्ने स्थानीय परियोजनाका लागि आवश्यक जग्गा दिन राजी भएको अध्यक्ष भण्डारीले बताउनुभयो। स्थानीय दलबहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले उक्त बाटो निर्माण प्रक्रियामा अब कुनै बाधा अवरोध नहुने बताउनुभयो। धम्पुसको घट्टेखोला, देउराली, खानीगाउँ हुँदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रक्रिया समन्वय अभावले गर्दा ढिलाइ भएको भन्दै प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल स्थलगत अनुगमनमा पुग्नुभएको छ। पूर्वमन्त्री बरालले प्रस्तावित आयोजनाले ग्रामीण सडक विस्तारका साथै स्थानीय कृषि, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो।

