दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए ।
सल्यान: जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरी निरीक्षक सन्तोष खनालले आइतबार बिहान डिउटीमा खटिएका प्रहरीको आँखा छलेर ब्लाङकेट ओढेर ओछ्यानभित्र ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार उक्त व्यक्ति बिहान अबेरसम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासतबाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो । ब्लेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको छ । उनी गएको २५ गते जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए । उनलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । उनीसँग ब्लेड कसरी र कहाँबाट आयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौं : कप्तान रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए। भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले। ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के। यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए। यो खेलमा जित निकाले नेपालले लिग २ का दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ। आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हु्ँदै आएको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक संकटमा पर्ने खतरा देखिएपनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक संकट टरेको बताए । उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेकाले अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको जिकिर गरे। अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने,निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको उनले बताए। निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे। निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने,विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू आउने गरेको भन्दै उनले निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी रहेको बताए।
पोखरा: गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा अन्तरक्रिया गरिएको थियो । बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तरक्रिया गरेका हुन् । पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा भएको अन्तक्र्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटन बृहत् विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यतालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरुप पर्यटन पूर्वाधारका महानगरले काम गरिहेको जानकारीसमेत दिनुभयो । सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने यस परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ राखिएको छ, यति नभए पनि पाँचदेखि सात अर्वसम्मको हुनसक्ने अनुमान गरिएको छ । यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यक औँल्याउनुभयो । उहाँले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारीकरणलगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यतामा जोड दिनुभयो । उहाँले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्को स्थानको गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा–भद्रपुर उडान आन्तरिक पर्यटकमात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताउनुभयो । उहाँले पोखरा–भद्रपुर उडानमा यात्रुले माउण्टेन फ्लाइटमा जस्तै विश्वको अग्लो सगरमाथाको अवलोकन गर्दै नेपालको होचो ५८ मिटर रहेको कचनकवलको भू–भागको पुगेर भौगोलिक अवस्थितिको अध्ययन र अवलोकनसमेत गर्न पाइने सुन्दर पक्षको चर्चा गर्नुभयो । कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईँ, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो, कचनकवल गाउँपालिका अध्यक्ष कलेन्द्रसिंह राजवंशी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरीलगायतले पर्यटनको एकृकीत विकासमा जोड दिँदै दुई प्रदेशको हवाई उडानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । वक्ताहरूले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका विशेषतायुक्त प्रदेश भएकाले यसलाई विभिन्न तरिकाबाट प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो । सहभागी वक्ताहरूले दक्षिण एसियामै उत्कृष्ट मानिएको जैविक विविधतायुक्त जलथल वनक्षेत्र, महाभारतकालीन कथाको प्रसङ्गमा जोडिएको किच्चक वध, चिया बगानको सुन्दरता, त्यस क्षेत्रमा उत्पादित सामग्रीलाई पनि कसरी प्रचार–प्रसार प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई सबैको पहुँचमा पु¥याउने हवाई उडानको नियमितता र सडक पूर्वाधारको विकासमा जोड दिनुभएको थियो ।
काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादवको उम्मेदवारी यथावत रहने भएको छ । मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडैलले यादवको उम्मेदवारी यथावत रहने बताए । शर्माले भने,‘लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिदा खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय राम सहाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने देखियो ।’ यादवको उम्मेदवारी खारेजीको माग गर्दै उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। उनीहरूले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरित रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।
जुम्ला : जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । 'घट्ना कहिलेको हो खुल्न बाँकी छ', बुढा मगरले भने।
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नु हुनेछ । राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ । राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । पौडेलले शपथ ग्रहण गरेसँगै उहाँको औपचारिक पदावधि सुरु हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति हुनुहुन्छ ।
सिन्धुली: मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभीर डाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

