काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।   उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए।   श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।   नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ।    उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।     आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।   

काठमाडौं:  निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।   आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।   उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।

काठमाडौं:  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् ।   यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पनि पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताको शालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने छन् । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ पनि जाने कार्यक्रम छ ।   पूर्वसभामुख रहेका पौडेलले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिने जनाइएको छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।   सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । उक्त रिटको इजलास ११ औं नम्बरमा छ ।   गत मङ्गलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीविवास गिरीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।   यसअघि हिजो (बिहीबार) सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो । तर बेन्च बस्न नभ्याएपछि आज (शुक्रबार)का लागि सारिएको हो ।   २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।

काठमाडौं:  वैदशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ ।   मकवानपुर मनहरी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका  १४ मा बस्दै आएका वर्ष २८ वर्षीय आदेश तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।   केएचएम रिक्वायरमेन्ट ग्रुप नामक नक्कली मेनपावर सञ्चालन गरी १ सय जना भन्दा बढि व्यक्तिहरुलाई मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन र बिएसडिको कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौँ भनि रकम लिई ठगी गरको आरोपमा तामाङलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।  तामाङले सञ्चालन गरेको केएचएम रिक्वायरमेन्ट ग्रुपमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी ९० थान, केएचएमको छाप १ थान र  एसिइआर कम्पिनीको सिपीयु २ थान सहित विभिन्न कागजातहरु बरामद गरेको छ ।  प्रकाउ परेका तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।   

काठमाडौं:  ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएका टोलीले शिक्षा अधिकृत पौडेललाई एक लाख घुससहित आज (बिहीबार) पक्राउ गरेको हो ।   आयोगका सहायक प्रवक्ता देवीप्रासद थपलियाले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जानकारी दिनुभयो ।   सहायक प्रवक्ता थपलियाका अनुसार पौडेललाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उहाँकै कार्य कक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।    

काठमाडौं :  नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्।   पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत परिणाम आधिकारिक घोषणा हुन बाँकी छ ।   निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपतिको निर्वाचनमा राप्रपा, नेमकिपाका सांसदले मतदान गरेनन्।    राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन्। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।  राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।    पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई थिए। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे थिए।    नेम्वाङको प्रस्तावक र समर्थनमा एमालेले मात्र गरेको थियो।    राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज निर्वाचन भएको हो। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११ हजार ७३० मतभार पाएकी थिइन्। २०७२ कात्तिक ११ गते उनी प्रथम महिला राष्ट्रपति बनेकी हुन्।    यसैगरी पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। तत्कालीन संविधानसभाका कुल सदस्यबाट बहुमत प्राप्त गरी २०६५ सालमा साउन ८ गते उनी विजय भएका हुन्। तत्कालीन सबैभन्दा ठूलो दल नेकपा (माओवादी) का उम्मेदवार रामराजा प्रसाद सिंहलाई हराएर यादवले जितेका थिए। यादवलाई एमालेसहित विभिन्न साना दलहरूले समर्थन थियो।   को हुन् राष्ट्रपतिमा निर्वाचित पौडेल ?    ७८ वर्षका पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका हुन्। उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले।    पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो। २०४४ सालमा केन्द्रीय सदस्य बने।   पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो। त्यसपछि स्थानीय विकासमन्त्री बने। कृषिमन्त्री पनि भए। २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए। २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे।   माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बने। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने।    २०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन्। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मारेका थिए।   २०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। उनले २०७४ को निर्वाचन तनहुँ—१ मा हारे। यसपटक भने उनी तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। पौडेलले करिब १३ वर्ष जेल जीवन बिताए।    उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।

काठमाडौं : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल जिततर्फ उन्मुख बनेको छ।   नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ३५औं ओभरमा सात विकेट गुमाएको छ। नेपालका लागि सन्दीपले आठ ओभरमा २६ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिएका छन्।   यस्तै, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको छ।   पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए।   पीएनजीलाई जितका लागि १०.४ ओभरमा एक सय १९ रन आवश्यक छ।    आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।   यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।   पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले​​ हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।

बेनी : म्याग्दीको बेनीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।    रघुगंगा गाउँपालिका-७ का २८ वर्षीया सोबिता बागदास र बेनपा-९ घतानका ३२ वर्षीय प्रेम सार्की लागूऔषधसहित बेनीबाट बुधबार राती पक्राउ परेका हुन्।    उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ मा बस्दै आएका थिए।    उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।     ‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’    उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए।