जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रहेको उहाँको भनाइ छ ।   ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सफल कार्यकालको मूल्याङ्कन गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनु भएको उहाँले स्मरण गर्नुभयो । उहाँको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाका लागि गर्वको विषय भएको अध्यक्ष ओलीले बताउनुभयो । भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको उहाँको भनाइ छ ।      अध्यक्ष ओलीले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि भण्डारीजस्तो महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्र प्रमुखको हैसियतमा भूमिका निर्वाह गर्नुभयो ।” भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर त्यस्तो ठाउँमा पुग्नु संघर्ष र लगनीशलताको उपज भएको उहाँको भनाइ छ ।      अघिल्लो कार्यकालको उहाँको सफल र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि निर्वाचित गरिएको उहाँले स्मरण गर्नुभयो । मुलुकले उहाँजस्तो सक्षम महिला राष्ट्रपति पाउनु गौरवको विषय भएको उहाँले चर्चा गर्नुभयो । महिला आन्दोलनकै कारण नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले महिला अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्न उहाँले सुझाव दिनुभयो । 

काठमाडौं:  आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेल बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले बिहीबार पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।   त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा हालै युएईमा भएको सिरिजमा रहनुभएका सन्दीप जोरा बाहेक सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।   नेपालले दोस्रो खेल फागुन २८ गते युएई तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यस सिरिज लिग–२ को अन्तिम खेलहरू हो ।   नेपाललाई विश्वकपमा स्थान बनाउन चारवटै खेल फाइनल सरह रहेको छ । नेपाल अहिले तालिकामा पाँचौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ३२ अङ्क बनाएको छ । समान खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ ।    सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।   लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।    नेपाली टोली     रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछाने । वैकल्पिक खेलाडीहरूमा सन्दीप जोरा, कमलसिंह ऐरी, श्याम ढकाल र अर्जुन साउद  ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।   मन्त्री शर्माले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताउनुभएको छ ।   तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उहाँले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।    “राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख अवस्था झल्काउँदछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् । नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थोपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो”, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।    महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा:  आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ ।  स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् ।  स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए ।  ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर  दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने ।  नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए ।    ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’   

काठमाडौं: नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ ।   मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।   सम्मेलनमा दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको पनि श्रेष्ठले जानकारी दिए ।   सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्ने नेपालको जोड थियो । सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको मन्त्री श्रेष्ठले बताए ।   सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम् पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठले छलफल गरेका थिए । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

दैलेख: दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो।    कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्षअघि निर्माण कार्य सुरु गरेको भए पनि बीचमा पुलको प्राविधिक स्टिमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताउनुभयो। उहाँले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ।” उहाँका अनुसार पुल निर्माणका लागि दैलेखतर्फबाट एउटा पिल्लर हालेर सुरु गरिएको थियो। अछाम भागबाट पिल्लर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टिमेट परिवर्तन गरिएको थियो।    त्यसपछि बल्ल निर्माण कार्य सुरु गरिएको कम्पनीका प्रतिनिधि गिरीले बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष एउटा पिल्लर हालेको र अर्को वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १२ वर्षअघि १३ करोड १३ लाखमा सम्झौता भएको थियो। अहिले पनि त्यही लागतमा निर्माण गर्नुपर्ने समस्याका कारण आफूहरूलाई काम गर्न चुनौती थपिएको उहाँको भनाइ छ।    आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले पुल निर्माण कार्य छिटोभन्दा छिटो सक्न कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो। उहाँले नागरिकले समेत आफूहरूलाई कहिले पुल बन्छ भन्ने प्रश्न बारम्बार सोध्ने गरेको समेत बताउनुभयो। पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्रको नयाँ सहरको बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ।   

काठमाडौं:   आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही हल्का हिमपातको सम्भावना छ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:    सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि  शुभकामना व्यक्त गर्नुभएको छ । ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा उहाँले नेपाली महिला आन्दोलनमा योगदान गर्नुहुने अग्रजप्रति पनि विशेष सम्मान र श्रद्धा अर्पण गर्नुभएको छ ।   “जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लङ्ग छ”, सभामुख घिमिरेले सन्देशमा भन्नुभएको छ, “आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित हुनुहुन्छ भने सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।” उहाँले सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारिए पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरिसक्नुभएको उल्लेख गर्नुभएको छ ।   महिला माथिको विभेदलाई आफ्नै आमा, दिदीबहिनी वा छोरीविरुद्धको अपमान हो भन्ने बुझ्न सके सामाजिक असमानतासमेत हट्ने बताउँदै सभामुखले भन्नुभएको छ, “अहिले पनि महिलामाथि हुने सामाजिक विभेद, अन्याय र हिंसाले समाज ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक र सामाजिकरूपमा मूल प्रवाहमा ल्याउन चेतना अभिवृद्धि गर्न जरुरी छ ।”   उहाँले यस दिवसले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास हुने अपेक्षा गर्नुभएको छ ।

काठमाडौं: राष्ट्रपति  विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ ।        राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुुरा बताउनुभएको छ ।   “महिला सशक्तीकरण र लैङ्गिक  समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ”, शुभकामना सन्देशमा भनिएको छ, “यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।”        अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।        “राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो”, सन्देशमा भनिएको छ, “त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।”        अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गर्र्नुभएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक  समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।        यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।         “डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।”