पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत एक छात्रालाई सार्वजनिक स्थलमा दुर्व्यव्यवहार गर्न खोज्ने एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई सवारी चालकले दुर्व्यव्यवहार गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरीले पुष्टि गरेको छ । छात्राले आफुलाई चालकले दुर्व्यव्यवहार गर्न खोजेको प्रहरीलाई खवर गरेपछि दुर्व्यव्यवहार गर्न खोज्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखरा: होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । आगामी चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताए । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास पनि उनले व्यक्त गरे । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ । विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेटिने संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका अर्का सहसंयोजक गणेश पहारीले जानकारी दिए । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । महोत्सवको तयारीबारे जानकारी र प्रचारका कार्यक्रम छिटै सार्वजनिक गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।
गलेश्वर: लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उहाँले भन्नुभयो । गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरूले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ ।” खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउनुहुन्छ । खडेरीका कारण जनजीवन प्रभावित भएको उहाँको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उहाँले बताउनुभयो । हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ । बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्याउने गरेको किसानहरू बत्ताउँछन् । यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरूको भनाइ छ । म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । खेतबारीमै सुक्न थाल्यो बाली यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो । यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताउनुभयो । “यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उहाँले भन्नुभयो । खेतमा लगाएको गहुँ, जौसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताउनुभयो । हिमपातको प्रतीक्षामा किसान यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन् । हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन् । हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले सभ्य तरिकाले होली मनाउन आग्रह गरेको छ । हिन्दू धर्मावलम्बीहरुको ठुलो पर्व मध्यको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्पूर्ण कास्कीबासीमा आग्रह गरको हो । कास्कीले आत्मियरुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । होली पर्वको नाममा अपराधिक क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ। व्यक्तिको इच्छा विपरित रंग नदल्न, लोला नहान्न, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम नअसुल्न र सार्वजनिक स्थलमा हो–हल्ला नगर्न आग्रह गरेको छ । यदी कोही कसैले नियम उल्लघंन गरेमा कानूनबमोजिम कारबाही गरिने र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं. १०० मा खबर गर्न समेत जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन माग गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् । बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटाएर लगानी मैत्री वातावरण बनाउन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए । बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराइएको उनले बताए । ‘बजारमा वस्तुको माग छैन, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं,’ अग्रवालले भने, ‘यसका लागि लगानीको वतावरण बनाउनु पर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनु पर्छ ।’ अग्रवालकाअनुसार परिसंघले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर सरकारले परिस्थिती हेरेर काबुमा राख्न सुझाएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका थिए । प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी थिए । यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी थिए ।
धनुषा: जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् । सो मार्गमा सञ्चालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।” दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ । “दुवै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,” रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । झाले भन्नुभयो, “एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ ।” जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो । उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखौँ रुपियाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन ।
काठमाण्डौ: भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । उहाँका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्ने उहाँले बताउनुभयो । यसैगरी होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो । पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ ।
काठमाडौं : अछाम जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ : ३५ बजे भूकम्प गएको हो। केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। अछाम आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ। यसअगाडि आजै बिहान ८ :०३ बजे काभ्रेको नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।
चितवन : दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएको जनाइएको छ । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काो पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विष्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विष्फोटक पदार्थ झिकाएर विष्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।

