पोखरा: पोखराबाट दुई बालक बेपत्ता भएपछि कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ । पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा गत शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शर्मा गत फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको कास्की प्रहरीले जनाएको छ । यस्तै रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव हिजो (शुक्रबार) देखि हराएका छन् ।
भजनी : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ। आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन्। छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन्। खर्च गर्ने क्रम बर्सेनि बढ्दै गएको छ। तर छाडा चौपायको समस्या भने उस्तै छ। कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ। यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन। छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन्। उनीहरूले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन्। स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रूपमा मतदाताले उठाएका थिए। व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ। कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ। यहाँ करिब चार सय चौपाया राखिएका छन्। तर चौपायालाई आहाराको समस्या छ। उनीहरू भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्। छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन्। 'चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्', स्थानीय एकराज पण्डित भन्छन्, 'व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन।' स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर उनीहरूका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ। स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन्। यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ। टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताए। 'वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ', उनले भने, 'एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ। हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन।' टीकापुर नगरपालिकाले वार्षिक २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ। उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ। बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउँछन्। नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उनले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए। 'दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ। यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ', नगरप्रमुख थारू भन्छन्, 'हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ। उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ।' सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताए। छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ। 'छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन। उनीहरूलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो', प्रदेशसभा सदस्य चौधरीले भने, 'भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।' कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ। यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन। छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ। व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ। छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भीर बन्न सकेका छैनन्। छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ।
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीले आफ्नो क्षमता र सिपलाई देशको विकासका लागि खर्चिनुपर्ने बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूले पूर्वप्रधानमन्त्रीको संगठन बनाएर काम गर्न सकिने योजना बनाएको बताएका छन्। पूर्वप्रधानमन्त्रीको संगठनले ६ कुरामा फोकस गरेर काम गर्नुपर्ने आफ्नो सुझाव रहेको पनि उनले बताए। उनले भने, 'अनुभव प्राप्त गरेका देशका पूर्वप्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन्। अनुभवका खानी पनि हुन्। उनीहरूको व्यक्तित्व पनि छ। मैले सम्झिएको थिए, यी पूर्वप्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो।' नेपालले पूर्वप्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असलग्न राष्ट्रका पक्षमा काम गर्ने छन्। पूर्वप्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने बताएका छन्। लिङ्देनले दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने भएपनि उल्टो भएको बताएका हुन्। राष्ट्रपति निर्वाचनमा बनेको आठ दलीय गठबन्धनलाई लक्षित गर्दै उनले नेपालमा दलहरु उल्टो दिशामा गइरहेको टिप्पणी गरेका छन्। उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नहुने स्पष्ट पारेका छन्। संविधानको रक्षाका लागि गठबन्धन भन्दै शनिबार बिहान सांसद लिङ्देनले ट्वीटरमा लेखेका छन्,‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’ एमाले नेतृत्वको माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमतको गठबन्धन तोडेर राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्ती पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग पुन : गठबन्धन गरेका छन्। कांग्रेससँग सहकार्य गरेपछि राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ।
सन्धिखर्क: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अबको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताएका छन्। आगामी हुने निर्वाचनमा एमाले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँगाउँमा छिरेको जानकारी दिए। प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँगाउँमा गराउन अभियान सञ्चालन भएको बताए। नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले दुई पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवास नेम्वाङको जित हुने दाबी गरेका छन्। एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदै एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताए। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताए। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उनको दावी छ। कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो।
काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले भ्रमजालबाट मुक्त बनाउनुपर्ने धारणा राखेका हुन्। ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए। उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए। सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ। उनले भने,‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए। उनले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने उल्लेख गरे। विचारसँग नकरात्मक टिप्पणी आए नआत्तिन आग्रह गर्दै उनले भने, ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्नुहोस्।’ओलीले बिना मेहनत, बिना संघर्ष कोहीपनि विजेता बन्न नसक्ने धारणा राखे।
ढोरपाटन: ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्नुहुन्थ्यो । उहाँका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्नुहुन्छ । विद्यालय जान नपाउनुभएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उहाँले कालिका मन्दिर प्रवेशद्वारमा फूल–प्रसाद पनि बेच्नुभयो । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गर्नुभयो । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुग्नुभयो ।लाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किन्नुभएको हो । छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गर्नुभएका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गर्नुभयो । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढ्नुभएका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्नुहुन्छ । केही रकम सहकारीमा बचत गर्ने गर्नुहुन्छ । “कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्नुहुन्छ । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उहाँको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताउनुभयो । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उहाँ बताउनुहुन्छ । “खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”
सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो । उहाँले १० पुसमा बनेको एमालेसहितको गठबन्धन भत्किनु र चुनावी गठबन्धन बिउँतिनुबारे नेताहरूले जानकारी गराउनुभएको थियो । खड्काले सबै सांसदलाई रामचन्द्र पौडेलको पक्षमा मत दिन समेत अपिल गनुभयो । उहाँले अहिले नयाँ गठबन्धन बन्नुको उद्देश्य पनि प्रस्ट्याउनु भएको थियो । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनबारे जसरी संसदमा मन्तव्य दिनुभयो, त्यो राम्रो थिएन,’ खड्काले भन्नुभयो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने बेला निकै गर्जनका साथ ओलीले आफूले संसद् विघटन गरेको कुरा सही नै हो भन्ने तरिकाले धारणा राखेपछि स्वयं प्रधानमन्त्री प्रचण्ड झस्किएको बताउनुभयो । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले गठबन्धनबारे सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले १० पुसमा एमालेसहित बनेको गठबन्धन भत्किनुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खासगरी केपीजीले विश्वासको मत दिँदा मैले प्रतिनिधिसभा विघटन गरेको ठिक थियो, फेरि पनि यस्तो हुन सक्छ, यो राजनीतिक कुरा हो, जायज कुरा हो भनेर जसरी प्रस्तुत हुनुभयो, त्यसबाट ओलीमाथि शङ्का उत्पन्न भएपछि नयाँ बाटो अपनाउनु परेको हो ।’ ओलीले मौका पाए फेरि पनि प्रतिनिधिसभा विघटन गर्नसक्ने आशङ्का उत्पन्न भएका कारण ओलीसहितको गठबन्धनमा विश्वास नभएर चुनावी गठबन्धन बिउँताउनु परेको बस्नेतले बताउनुभयो । यद्यपि, प्रदेश सरकारको भविष्यबारे भने एमालेमा निर्भर रहने खड्का र बस्नेतको भनाइ थियो । केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको खण्डमा गठबन्धनलाई सहज हुने नेताहरूको भनाइ छ । कर्णालीमा एमाले सत्तारुढ दल हो । तर अहिलेसम्म प्रदेशमा एमालेले सरकार छाड्नेबारे निर्णय लिन सकेको छैन । बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।
पोखरा: पोखरा महानगरपालिका ३१ बेगनासमा स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपुर्ण हुने भन्दै हिजोको भन्दा आज केहि सुधार भएको भए पनि अझै आवस्यक सुधार हुन भने नसकेको बताउनुभयो । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाई थियो ।आफैले पढेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी बनेर पुग्नुभएका मुख्यमन्त्री अधिकारीले १८ बर्ष अगाडी बेगनासमा भएको सडक दुर्घटनामा परि गुमेका आफ्ना समकालिन साथीहरुको सम्झनामा गर्दै भाबुक बन्नुभयो भने बाल्यकालमा त्यही बिद्यालयमा भौतिक पुर्वधारको अभावका बिच अध्ययन गरेको स्मरण गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब बसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारी, नेपाली काङ्ग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेश बहादुर थापा, राप्रपाका प्रकासचन्द्र तिवारी, अमरसिद्द माबि पचभैयाका प्रधानध्यापक बिष्णु पौडेल,शिक्षक सत्यराज कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गर्नु भएको थियो भने प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो । सो अवसर १० लाख रुपैयाँको गुरु प्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छबिलाल सरास्वती अक्षयकोष स्थापना भएका छन् । इञ्जियर चिरञ्जिबी तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डाक्टर श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छबिलाल÷सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सोही कार्यक्रममा सागर पौडेलले बुबाआमा राकेश÷बिजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारीले हजुरआमा दमयन्ती अधिकारीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई चन्दा स्वरुप सहयोग गर्नुभएको प्रअ शिबराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

