कञ्चनपुर: कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलवायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनाश, खेती प्रणालीमा गरिएको परिवर्तन, द्रुत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्तन आएको बताउनुहुन्छ । “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।” ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढ्नु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका बिरुवा प्रशस्त रूपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ । उहाँका अनुसार खेतबारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो । “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रूपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन्, औसत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भूक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रूपमा देखिन थालेको छ ।” अप्रत्याशित रूपमा हुने वर्षाले बर्सेनि धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही बिरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रूपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अवस्थामा पुगेको छ । हर्रो, बर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रूपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जाँदा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ । “उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने बिरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रूपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ । जमिनमुनिको पानीको सतह घट्दै गएको छ । हिउँदै वर्षा हुने क्रममा कमी आउन थालेको छ । जसले गर्दा प्राकृतिक स्रोतमा आश्रित समुदाय र सीमान्तकृत समुदायलाई यसले नराम्ररी असर गरेको छ । “मानव स्वास्थ्यमा जलवायु परिवर्तनको अवसर देखिन थालेको छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्यको समस्या लिएर आउने बिरामीमा श्वासप्रश्वास, छाला, बेमौसमी ज्वरोका बिरामी रहने गरेका छन्, पहिलेको तुनामा बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ, बढ्दो प्रदूषण, खानपानमा आएको परिवर्तनले बिरामी हुने क्रमलाई बढाएको छ ।” उहाँ जलवायु परिवर्तनलाई चुनौती मात्रै नभएर भविष्यमा आइपर्ने खतराका रूपमा औँल्याउनुहुन्छ ।
यूएई : देव खनालको अर्धशतकप्रेरित नेपाल यू १९ ले आईसीसी यू १९ विश्वकपको एसिया रिजन छनोटमा यूएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो। नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए। नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’ फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् । बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिनुभयो । निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो । ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भित्ता काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ,’’ उहाँले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातिको समय बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ । हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिङसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिङदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य सुरु भइरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।
काठमाडौं : राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न एमाले नेताहरू बिहीबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए। राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्बाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,रघुविर महासेठ र विमला राईले अध्यक्ष नेपाललाई भेटेका हुन् । सो क्रममा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल,उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरू सहभागी थिए। राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ।
ताप्लेजुङ: ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं : आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
चितवन: एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोबारे जानकारी गराउनुभएको हो । सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए–भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित तिनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो । पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् । उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा वेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताउनुभयो । उहाँले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताउनुभयो । “विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ”, उहाँले भन्नुभयो, “यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।” नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्र्धवले घोषणापत्र तयारी गरिसकेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताउनुभयो । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै, सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै, वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिनुभयो । उहाँले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिनुभयो । यस्तै, वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताउनुभयो । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताउनुभयो । उहाँले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिवि सेवा आयोग प्रत्येक छरछ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताउनुभयो । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताउनुभयो । त्यस्तै, उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताउनुभयो । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

