दमौली: तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अवधिमा रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च भएको छ । केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरुङमा ‘ब्रेक थ्रु’ भएको हो । आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरुङ प्रयोग गर्न सकिनेछ । प्रवेश सुरुङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको बताइएको छ । आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो । आयोजनाको चरण–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डाइभर्सन सुरुङ–१ अन्तर्गत हाल इनलेट र आउलेट दुवैतर्फबाट सुरुङ खन्ने कार्य भइरहेको छ भने मङ्सिर मसान्तसम्म ३४१ मिटर खन्ने काम सकिएको थियो ।” डाइभर्सन सुरुङ–२ को इनलेट र आउटलेटको निर्माण भइरहेको र यस सुरुङको लम्बाइ ६२९ मिटर रहेकामा मङ्सिर मसान्तसम्म ३६० मिटर खन्ने काम सकिएको छ । बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी, बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । चरण–१ अन्तर्गतको काम विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको चरण–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ अर्थात् रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो । आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकदेखि खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । “कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्याङ्कको निर्माण रोकिएको छ,” श्रेष्ठले भन्नुभयो । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकोमा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ । श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ । चरण तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव सात किलोटिरम प्रसारण लाइनमा ९४ टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।
तनहुँ: चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उहाँले बताउनुभयो । त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् । त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रत्येक पालिकामा पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो । खोला खोल्सीमा रहेकाे सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले हिजोभन्दा आज सामदायिक विद्यालयमा शिक्षाको अवस्था केही सुधार भए पनि अझै थप सुधार गर्नुपर्ने बताउनुभयो। अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन प्रतिस्पर्धा गर्ने तर सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको उहाँको भनाइ थियो। आफैँले पढेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका मुख्यमन्त्री अधिकारीले बाल्यकालमा सोही विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच अध्ययन गरेको स्मरण गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विभिन्न व्यक्तिले एक लाख ११ हजार १११ रुपियाँ अक्षयकोष स्थापना गर्नुभएको छ।
पोखरा: प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी चयन भएका छन् । पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिव दीपा भण्डारी पौडेल चयन भएकी छन् । समितिको सदस्यमा आशीष पुरी र संकल्प ढुंगाना चुनिएका छन् ।
घलेगाउँ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ३, उत्तरकन्या, घलेगाउँमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । मंगलबारदेखि सुरु भएको सो तालिमको शुक्रबार समापन भएको हो । तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा उतार्न सुझाव दिनुभयो । जनताको अपेक्षा अनुसार गाउँपालिकाले काम गर्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष गुरुङले बजेट सीमित भएपनि आवश्यकतालाई हेरेर पालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष आशवीर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो । कार्यपालिका सदस्य गंगाबहादुर घलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा दलित महिला वडा सदस्य पार्वती सुनार, वडा महिला सदस्य शान्ति गुरुङ, समाजसेवी नवराज घले, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट टमकुमारी घले, लीला विक, सोनाली गुरुङ, कृति घले, कमला घले, टेककाशी गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
ढल्केवर: जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीया सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार शनिवार राती ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ठाकुर र साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पोखरा: पोखराबाट दुई बालक बेपत्ता भएपछि कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ । पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा गत शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शर्मा गत फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको कास्की प्रहरीले जनाएको छ । यस्तै रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव हिजो (शुक्रबार) देखि हराएका छन् ।
भजनी : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ। आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन्। छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन्। खर्च गर्ने क्रम बर्सेनि बढ्दै गएको छ। तर छाडा चौपायको समस्या भने उस्तै छ। कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ। यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन। छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन्। उनीहरूले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन्। स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रूपमा मतदाताले उठाएका थिए। व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ। कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ। यहाँ करिब चार सय चौपाया राखिएका छन्। तर चौपायालाई आहाराको समस्या छ। उनीहरू भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्। छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन्। 'चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्', स्थानीय एकराज पण्डित भन्छन्, 'व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन।' स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर उनीहरूका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ। स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन्। यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ। टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताए। 'वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ', उनले भने, 'एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ। हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन।' टीकापुर नगरपालिकाले वार्षिक २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ। उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ। बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउँछन्। नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उनले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए। 'दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ। यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ', नगरप्रमुख थारू भन्छन्, 'हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ। उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ।' सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताए। छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ। 'छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन। उनीहरूलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो', प्रदेशसभा सदस्य चौधरीले भने, 'भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।' कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ। यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन। छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ। व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ। छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भीर बन्न सकेका छैनन्। छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ।
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीले आफ्नो क्षमता र सिपलाई देशको विकासका लागि खर्चिनुपर्ने बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूले पूर्वप्रधानमन्त्रीको संगठन बनाएर काम गर्न सकिने योजना बनाएको बताएका छन्। पूर्वप्रधानमन्त्रीको संगठनले ६ कुरामा फोकस गरेर काम गर्नुपर्ने आफ्नो सुझाव रहेको पनि उनले बताए। उनले भने, 'अनुभव प्राप्त गरेका देशका पूर्वप्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन्। अनुभवका खानी पनि हुन्। उनीहरूको व्यक्तित्व पनि छ। मैले सम्झिएको थिए, यी पूर्वप्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो।' नेपालले पूर्वप्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असलग्न राष्ट्रका पक्षमा काम गर्ने छन्। पूर्वप्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।

