जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं: निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् ।   ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने बिदा लिनु परेको उनको गुनासो थियो ।   यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले गरेँ । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तर्क्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’ स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रमाम उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट विदा लिनुपर्ने अवस्था बन्यो ।’   उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत टिप्पणी गरे । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यसका लागि बीमितलाई दिने सेवाको रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याउनुपर्ने उनको सुझाव छ ।   उनले स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

काठमाडौं:  नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।   सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाउनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।   यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको थियो । यसैगरी, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।

काठमाडौँ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ढिला गरेर भए पनि चुनावमा व्यक्त भएको जनमतअनुसारको सरकार बन्न लागेकाले आशा जागेको बताएका छन् । उनले केन्द्र र सातै प्रदेशमा कांग्रेससहित आठ दलको गठबन्धनको सरकार बन्ने भन्दै अब छिटोभन्दा छिटो सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्ने बताए ।   मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै महामन्त्री थापाले अब सबै दलहरू गठबन्धनमा भएको सहमतिअनुरुप इमानदार भएर अघि बढ्नुपर्ने बताए ।   ‘हामीले चुनावमा गर्न नमिल्ने गठबन्धन गर्‍यौँ, धेरैले असहमति पनि जनाउनुभयो । तैपनि कलममा भोट हाल्ने साथीहरूले रुखमा भोट हाल्नुभयो, रुखमा भोट हाल्नुपर्ने मैले कलममा पनि भोट हालेँ, फरक-फरक उद्देश्य भएका दलले गठबन्धन गरे पनि स्थायी सरकार दिन्छौँ, पाँच वर्षसम्म यो-यो काम गर्छौं भनेर जनताको बीचमा वाचा गर्‍यौँ,’ थापाले अघि भने, ‘त्यहीअनुसार चुनावमा जनमत व्यक्त भयो, तर पुस १० मा देशमा दुर्घटना भयो । हामीले चुनावमा गरेको वाचामा कायम रहेनौँ । अहिले ढिलो भए पनि हामी निर्वाचनका बेलाको गठबन्धनलाई एक ठाउँमा उभ्याउन सफल भएका छौँ ।’   उनले अबको गठबन्धन सरकारलाई काम गर्ने र जनताको अपेक्षाअनुसारको प्रतिफल दिनुको विकल्प नरहेको बताए । ‘जे भएको छ, त्यो हुनैपर्ने थियो । तर अब अगाडिको बाटोचाहिँ सजिलो छैन,’ उनले भने, ‘काम, काम र काम । र कामले परिणाम । अब हामीसँग ५/६ महिनामात्रै छ, त्यो अवधिमा हामीले जनतालाई हिजोभन्दा राम्रो गर्दै छौँ भनेर सन्देश दिन सकेनौँ भने फेरि अप्ठ्यारो आइहाल्छ । हामीले समय लगाएर भए पनि भरोसा गर्न सक्ने आधार दिनुपर्ने हुन्छ ।’   उनले सरकारले संख्यामा मात्रै बलियो भएर नहुने बताए । ‘अब संघमा र प्रदेशमा हाम्रो गठबन्धनको सरकार हुन्छ । स्थानीय तहमा हाम्रो सरकार छ,’ उनले भने, ‘तर यो हुनुको अर्थ तब हुन्छ, जब जनताले सरकार हुनुको अर्थ महसुस गर्न थाल्नेछन् । नभए हामीसँग संख्या त रहला, तर जनताको साथ रहँदैन । जनताको साथ नभएपछि फेरि प्रश्न गर्नेहरू नै माथि पर्नेछन् ।’

काठमाडौं:  वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ ।   वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ ।   अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृत बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेवसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । यस कामको नियमित अनुगमन समेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।   निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि (बुधबार) देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो ।   उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको आयोगले जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।   ‘‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।,’’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’’   आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज (मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।   संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।    

 काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् ।   नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।   उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’   प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ मा क्रियाशिल सिलिङ्गे महिला चेतना समूहको १६ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिङ्गे महिला चेतना समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो । सामाजिक जागरणसँगै विकास निर्माणमा समूहले उल्लेख्य काम गरिहेको बताउँदै उहाँले समूहका हरेक गतिविधिमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।      सिलिङ्गे महिला चेतना समूहका अध्यक्ष कर्णकुमारी महतले समूहको सकृयतामा सदस्यहरूलाई विभिन्न सिपमुलक तालीमका साथै ऐतिहासिक चौतारा, प्रतिक्षालय आदि निर्माण गरिएको बताउनुभयो । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमुलक तालीम प्रदान लगायतका काम गर्ने बताउनुभयो ।      समूहका सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।      उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।       यसैबीच समूहको सातौं अधिवेशनले पुनः कर्णकुमारी महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा सविता आचार्य पौडेल, सहसचिवमा विष्णु पौडेल र सदस्यहरूमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनिता अर्याल महत, जमुना महत र सविता पौडेल रहनुभएको छ ।       अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।  

पोखरा:   पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ ।  सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।  यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोकपृथ्वी चोकलाई थप विस्तार समेत गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ ।  विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।  पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर ९बस स्टप १९०, निर निवास देखी शान्तिनगर चोक ९बस स्टप ११० र नुवारचोक देखी महिमा किराना ९बस स्टप १८० सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को।लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेका छन् ।   

काठमाडौं:  नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।   उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।   आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।