काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्। सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्। ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो,’ उनले भने, ‘हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौं, गठबन्धन चुनावसम्मै टिक्छ।’ गत शुक्रबार राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।
काठमाडौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताउनुभयो । नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उहाँले जानकारी दिनुभयो । नेपालको परिवर्तन र जागरणमा रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उहाँ अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गर्नुभयो । अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआएन)को पनि निरीक्षण गर्नुभएको थियो ।
तनहुँ :नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भएका छन्। शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले रिहा भएको जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा थिए । शाहलाई स्वागत गर्न उनका शुभचिन्तकहरू बिहानैदेखि कारागार पुगेका थिए। आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो। शाहलाई थुनामुक्त गर्ने व्यहोराको पत्र उच्च अदालतले जिल्ला कारागार तनहुँलाई पठाएपछि उनी रिहा भएका हुन्। यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो। त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहले तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका छन्। नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो। उच्च अदालतले आइतबार अभियोग दाबी नपुग्ने भन्दै जिल्लाको फैसला उल्ट्याएपछि कलाकार शाह आज रिहा हुने भएका हुन्। प्रक्रिया पूरा गरी उनी आज रिहा हुँदैछन्। पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसअघि नै शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।
काठमाडौं :प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्ताव पारित हुने कार्यसूची छ। सांसद रहमानको शनिबार हृदयघातबाट निधन भएको थियो। उनको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजालसमा आइतबार सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन। सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ। उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ। महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आइतबारबाट सुनुवाइ सुरू भएको हो। लामिछानले विश्वकप लिग-२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै गत बिहीबार सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए। शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने आदेश दिएको थियो। उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पहाडी भेगमा आंशिक बदली रही प्रदेश नं १, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी फागुन १६ गते पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।
पोखरा: आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घले विश्वास लिएको छ। दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ। बाग्लुङको निसीखोला गाउँपालिकाको आज बिदा दिएको छ । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं: गण्डकी प्रदेश सरकार अन्तर्गतका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टामाथि पाँच करोड ४५ लाख ५२ हजार छ सय ७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सो मुद्दा दायर भएको जानकारी गराइएको छ। आरोपित मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यामान कानुन विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाइन गराउन स्वीकृत गर्नुका साथै दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निर्णय गरी निजले मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराई कार्यक्रम तयार गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ। सोही मन्त्रालय अन्तर्गतका प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठले सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य सम्पन्न गराउन बदनियतपूर्वक काल्पनिक सडकको नामबाट पुल डिजाइनको काम गराइएको आरोप छ। श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, सहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको डिजाइन भुक्तानीमार्फत पाँच लाख ७१ हजार ७८० रुपियाँ हिनामिना गरेको आरोप लागेको आयोगले जनाएको छ। यसैगरी, पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाले पनि सोही काल्पनिक सडकको नाममा दरौदी खोला पुलको एकापट्टि रहेको पहुँचमार्ग सामुदायिक वनक्षेत्रमा कथित पुल निर्माणको नाममा अनुमति बेगर सार्वजनिक क्षेत्रको जथाभाबी प्रयोग गरी बाटो निर्माणको काम गराइएको आरोप छ। ढुङ्गानामाथि सो कार्य गरी राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा बजेट खर्च गर्ने कार्यको पुस्ट्याइँका निमित्त गैरकानुनी रूपमा सहभागी भएर सरकारी सम्पत्ति वनको नोक्सान गरेको आरोप आयोगको विज्ञप्तिमा उल्लेख छ। आरोपितमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
पोखरा: पोखरा महानगरपालिका–२, अर्चलबोट ,वरपाटनमा रहेको श्री विन्ध्यवासिनी माध्यामिक विद्यालय बाट वि.स २०५३र५४ सालमा विद्यालयको अध्ययन पछी छुटेका भुतपूर्व विद्यार्थीहरुले विद्यालय छाडेको २५औं वर्ष (रजत वर्ष) को उपलक्ष्यमा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न गरेका छन । पोखरा ११ काहुं डाडा मा सम्पन्न भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पुर्व विद्यार्थी हरुको सहभागिता रहेको थियो ।कार्यक्रमको लागी पुर्व विद्यार्थीहरु बुट वल ,चितवन,दमौली र काठमाण्डौ बाट समेत पोखरा आएका थिए । “व्यक्तिगत जिवन र पेशाले देशका बिभिन्न ठाउ मा भएका समकंक्षी हरु समेत सहभागी हुन आएकोले पुनर्मिलन कार्यक्रम सोचेको भन्दा राम्रो बन्यो” पुनर्मिलन कार्यक्रमका संयोजक जिवन अधिकारिले बताए । साथै भेलाले भविष्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समुहको तर्फ बाट संभव हुने सामाजिक काममा सहकार्यको लागी ११ सदस्यीय बर पाटन समुह समेत गठन गरेको छ । प्रदिप पराजुलिको अध्यक्षतामा गठित समुहको उपाध्यक्षमा जिवन अधिकारि,द्वतिय उपाध्यक्ष सुधिर श्रेष्ठ ,सचिव धन बहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ रहेका छन । त्यसै गरी समुहका सदस्यहरु सुवास सैंजु,रीता अधिकारी,हरी वराल ,सुजित कार्कि,रमेश घिमिरे, र शुभ(दर्शन पुन रहेका छन ।

