काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागीता गराउने निर्णय गरेको हो। भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई सहभागी गराउन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए। राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ।
काठमाडौं: मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एक चालकसहित ८७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारी जाँचकै क्रममा मापसे गरेका स्कुल बसका चालकलाई नियन्त्रणमा लिएको हो। बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख ४६ २९ नम्बरको बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई नियन्त्रणमा लिइएको छ। कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ। त्यस्तै अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालक पनि कारबाहीमा परेका छन्। विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालक पनि कारबाहीमा परेका छन्। नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालक कारबाहीमा परेका हुन्। यसका साथै अन्य कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए।
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ। मंगलबारबाट लागू हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। यसअघि आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी प्रवक्ता थिए ।
विरगन्ज: आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भन्नुभयो,‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।” पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उहाँले जानकारी दिनुभयो । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा रु चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात रु तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ रु एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ रु एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ रु ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ रु दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ रु दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कल घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।
विराटनगर: प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो । प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ । यो नामप्रति नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको भने सहमति छैन । नामकरणको प्रस्ताव अगाडि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी छ । अहिले सबै दलहरू संसदीय दलको बैठक बसेर नामकरणका विषयमा दलको धारणा तय गर्दैछन् । नामकरणको विषयमा यसअघि पनि दलहरूबीच खासै छलफल भएको थिएन । प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । नामको विषयमा विवाद बढ्न सक्ने भएकाले दलहरूले यस पटक मुख्य दुई दलले चुपचाप सहमति बनाएका हुन् ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न परिवर्तन भएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाइ घण्टी मात्र राखिएको बताए । रास्वपाका १९ सांसद् छन् ।
काठमाडौं: आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
काठमाडौंः प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जनाएको छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा र उपराष्ट्रपति निर्वाचन चैत्र ३ गतेका लागि तय भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट सन्देशसहित प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची थियो। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,२०७८ माथि विचार गरियोस्’भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)विधेयक,२०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ता प्रस्तुत गर्ने कार्यसूची थियो। ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने कार्यसूची तय भएपनि आजको बैठक स्थगित भएको हो।
जाजरकोट: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन.आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । दुर्व्यवहार तथा आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले मङ्गलबार राती ११ बजे सदरमुकाम खलङ्गाबाट गिरफ्तार गरिएको जानकारी दिनु भयो । कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपाट भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रोकाले जानकारी दिनुभयो । मङ्गलबार भेरी ११ कटी गाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारबाही गरेको भन्दै नेकपाले एक विज्ञप्ति जारी गर्दै जनकारबाहीको समर्थन जनाएको थियो । उता नेकपा माओवादीले प्रहरीले आफ्ना नेताहरूलाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।

