काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।    उनका अनुसार बैठकले संघीय सांसद र प्रदेशका एवं सांसदलाई पनि यादवको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको छ।   बैठकले बैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।   बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा बधाई दिएको छ। छ दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उनले पुऱ्याएको योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न  राष्ट्रपति पौडेल सफल हुने विश्वास व्यक्त गरेको छ।   बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नम्बर- १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । 

काठमाडौं:  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।   त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२ जनाको उम्मेदवारी परेको छ।    त्रिवि अन्तर्गतको सभापति पदमा १२ जनाको उम्मेदवारी छ।  विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनका १४ जनाको उम्मेदवारी परेको भए पनि सोमबार दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।    नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा राम राज ओझा हुनुहुन्छ। स्ववियु निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले करिब १५ वर्षपछि हुन गइरहेको यो निर्वाचनले विश्वविद्यालयलाई एउटा लयमा फर्काउने बताउनुभयो।    ओझाले भन्नुभयो, “करिब १४, १५ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयले आफ्नो तिथि बिर्सिसकेको थियो। विश्व विद्यालयले आफैले बनाएको ऐन, कानुन मानेको थिएन। अब विश्व विद्यालय एउटा लयमा फर्कने, विद्यार्थीको सामूहिक शक्ति निर्माण गर्ने छ”, उहाँले भन्नुभयो। उहाँले ‘सिस्टममा सुधार, शैक्षिक गुणस्तरको पहिला आधार’ आफूहरूको मुख्य नारा तय भएको बताउनुभयो।    नेकपा (एमाले) निकट अनेरास्ववियुका तर्फबाट सभापतिमा प्रकाश विष्ट उम्मेदवार हुनुहुन्छ। विष्टले अनेरास्ववियुले एक महिना अगाडि नै त्रिवि कस्तो हुनुपर्छ भनेर टेन–टेन भिजन सार्वजनिक गरेको बताउनुभयो।   विष्टले भन्नुभयो, “केन्द्रीय क्याम्पसमा एक महिना अगाडि नै टेन–टेन भिजन, मातृ पार्टीसँग तादम्यता हुने किसिमको। यो सबैभन्दा सशक्त खालको छ त्रिविभित्र के के गर्ने भन्ने कुरा सार्वजनिक भएको छ।”   यसैगरी, नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीबाट सभापतिमा विपिन विकको उम्मेदवारी परेको छ।  उहाँले स्ववियुबाट विश्वविद्यालय व्यवस्थापनमा के के काम गर्न सकिन्छ भन्ने कुराको प्रतिबद्धता सार्वजनिक भइसकेको बताउनुभयो।    विकले भन्नुभयो, “स्ववियु किन गराउनुपर्छ, के काम गर्न सक्छौँ भन्ने कुरा प्रतिबद्धतामा सार्वजनिक गरिसकेका छौँ। अखिल क्रान्तिकारी नै किन भनेर धारणा सार्वजनिक गरिसकेका छौँ।”   उहाँले शैक्षिक क्यालेन्डर अनुसारको गतिविधि अघि बढ्नुपर्ने, सबै विद्यार्थीको स्वास्थ्य बिमा, विश्व विद्यालय व्यवस्थापन लगायतका मुख्य कामका लागि आफूहरूको नेतृत्व आवश्यक रहेको भनाइ राख्नुभयो।  

बुधबार सुनको मूल्य स्थिर छ।    मंगलबार  प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ।    मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ।    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पोखरा:  चितुवाको आक्रमणबाट २ जना मानिस घाइते भएका छन् ।   बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए ।    चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ ।   चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं :  काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतना अभियानको  सुरूवात गरेको छ।   जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने प्‍ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक चोकमा बसेर अभियानको सुरूवात गरेको हो।   दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोश पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ ।    सम्झाइबुझाइका क्रममा काठमाडौंको न्युरोड,बालकुमारी,जडिबुटी,ललितपुरको सातदोबाटो र जावलाखेल,भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो ।    यस्तै ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने,जेब्रा क्रसिङमा रोक्ने,फुटपाथमा साइकल चलाउनेलगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकलाई पनि सम्झाइ बुझाइ गरेको छ । काठमाडौंको कमलपोखरी,थापाथली,बल्खु,बुढानिलकण्ठ,नयाँबसपार्क, नागढुङगा,बौद्ध र भक्तपुरमा साइकल यात्रीलाई सम्झाइ बुझाइ गरिएको हो ।     काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।   यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुहुन र  ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन्।  

जाजरकोट : जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्।    आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्।  आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्।    २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो। २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्।   छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।

काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो।    चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन।    त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए।    चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ।    पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्।    चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बिहान प्रचण्डलाई भेट्न  प्रदेश प्रमुख पुगेका हुन्।   भेटमा उनीहरुले प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिएका छन्।   नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ। 

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ ।   नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।   नगरको प्रतीक चिह्न (लोगो) बनाउन सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र लोगो तयार पारेर नगरमा पठाउन सूचनामार्फत अनुरोध गरेको छ ।   लोगो निर्माण गर्दा बेनी नगरको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।   सूचनामा प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगर कार्यपालिकाको कार्यालयमा पठाउनुपर्ने नगरपालिकाले जनाएको छ ।   नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले छनाेट समितिले उत्कृष्ट लोगो चयन गर्ने र छनाेटमा परेका डिजाइनकर्तालाई कदरपत्रले सम्मान गरिने बताउनुभयो ।