काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पाल्पा:  तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ।   पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ।    तानसेन नगरपालिकाले सडकमा बिछ्याएका सामग्री हटाए पनि केही दिनपछि पुनः सडक कब्जा गरेर व्यापार गर्ने क्रम बढेको तानसेनका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। पसलेले कपडा, खाद्यान्न सामग्री, तरकारी तथा फलफूल, निर्माण र हार्डवेयरका सामग्रीसमेत सडकमै राख्ने गरेका छन्। केही व्यक्तिहरूले घर तथा संरचना बनाउने नाममा सडकमै लामो समयसम्म निर्माणका सामग्री राख्ने गरेका छन्। पुरानो सहरका रूपमा विकसित भएको तानसेनका सडक आफैँमा साँघुरो छ।    साँघुरो सडकका कारण पछिल्लो केही वर्षयता अधिकांश समयमा सवारीसाधनको जाम हुने गरेको छ। केही पसलले खाद्यान्न, निर्माण, पेय तथा हार्डवेयरका सामग्री लोड–अनलोड गरेर घण्टौँ सडकमा सवारीसाधन ठड्याउँदा समेत नगरभित्र समस्या सिर्जना भएको शर्माले बताउनुभयो।    सडकमा समस्या हुने गरी व्यापार गर्नेमाथि निगरानी गरेर कारबाही गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो। सडकमा ट्राफिक समस्या गर्नेलाई कारबाही गर्न नगर प्रहरी खटाएका छौँ, सूचना अधिकारी आचार्यले भन्नुभयो, “नगरप्रहरी नभएको बेलामा सडकमा सामान फिँजारेको हुन सक्छ, त्यसलाई पनि निगरानी गरेर कारबाही गर्छौं।’   

सल्यान:  सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।    सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएका थिए ।    जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार बन्दुक बोकेका आइते रावत  बन्दुकसहित फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।   मृतक चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ

पोखरा:   पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ ।  वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र  आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो ।  लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु  बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय सहितको टोलीले वडाको खर्च खाता, आम्दानी खाता, प्रथम चौमासिकको कुल आम्दानी र खर्चको विवरणका बारेमा वडाध्यक्ष र वडा सचिवसंग जानकारी लिनुभएको  थियो । त्यस्तै वडामा ब्यवसाय दर्ताको अवस्था, घरबाटो फुकुवा, आयश्र्रोत प्रमाणीकरण, सम्पत्ति मुल्यांकन र अन्य सिफारिसको चलानी सख्या बारे जानकारी लिएको थियो ।  समितिले वडाभित्र विद्युत मिटर जडान सिफारिस, संस्था नविकरण सिफारिस र अन्य सिफारिसको अवस्था बारे जानकारी लिएको थियो । समितिले वडाभित्र सञ्चालनमा रहेका सामुदायिक र नीजि विद्यालयको अवस्था, नीजि विद्यालयले दिनुपर्ने छात्रबृत्ति, विद्यालय व्यवस्थापनमा जनप्रतिनिधिको सहभागिता लगाएका बारेमा चासो राखेको थियो । समितिले कर तथा राजस्व असुलिको रकम बैकमा समयमा जम्मा भएको नभएको, कर तथा राजस्व असुलिको रकम नगदै रहेको नरहेको यदि रहेको भए कस्को जिम्मा रहेको नरहेको यदि रहेको भए कस्को जिम्मामा रहेको कर तथा राजस्व असुलिमा देखिएको समस्या, लेखा ब्यवस्थापनमा देखिएको समस्या र राजस्व परिचालनमा देखिएको सम्भावनाका बारेमा जनप्रतिनिधि र कर्मचारीसंग प्रश्न गरिएको लेखा समितिका संयोजक झपट रानाभाटले जानकारी दिनुभयो । उहाँले लेखा चुस्तदुस्त राख्नुपर्ने बताउदै वडा कार्यालहरुबाट हुने सेवा प्रवाहलाई थप ब्यवस्थित गर्न अनुगमनले सहज पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । वडा अध्यक्ष राजेश गुरुङले लेखा ब्यवस्थापन, कर्मचारीहरुको कार्यसम्पाद सन्तोषजनक रहेको बताउदै राजस्व संकलनमा समस्या रहेको बताउनुभयो । उहाँले घरभाडा कर संकलन हुन नसकेको बताउनुभयो । मुख्य सडकहरुमा सञ्चालनमा रहेका ब्यवसायीले ३५ सयको घरभाडा सम्झौता ल्याउने गरेको र आफुले हस्ताक्षर नगरेको बताउदै यसलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वडा सदस्य पुणचन्द्र न्यौपानेले वडाभित्र रहेको औद्योगिक क्षेत्रभित्रका कति व्यवसाय छन भन्ने बारे वडामा जानकारी नहुँदा वडाको आम्दानीमा करोडौ रुपैयाँ गुमेको बताउनु भयो । महानगरका ३३ वटै वडा कार्यालहरुको आर्थिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा  अनुगमन गर्ने र अनुगमनका क्रममा देखिएका कमजोरीहरुलाई सुधारका लागि निर्देशन दिने लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

पोखरा:   विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ ।  मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।  विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । ‘विगत दुई वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको थियो । अहिले प्रत्यक्ष रुपमा नै आयोजना गर्न लागेका हौं ।’–उनले भने ।  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिदार्थचोक स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभि भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने उनले बताए । उनले एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनिय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाईमा पर्ने गरेको उल्लेख गरे । उनका अनुसार एक्सपर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु संचालनमा ल्याएको छ । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी शहरहरुमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।  वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे कार्यक्रमको आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी गराए । 

पोखरा:  पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.९ भँगरा(साविक भँगरा गाविस)बाट पोखरा आई बसोबास गर्ने भँगारेहरुको साझा संस्था पर्वत भँगरा पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा र तेश्रो अधिवेशन सम्पन्न भएको छ।   तेश्रो अधिवेशनले खडकबहादुर पौडेल क्षेत्री को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।   आगामी दुईवर्षका लागि समाजको उपाध्यक्षमा देवबहादुर पौडेल क्षेत्री, सचिवमा अग्निप्रसाद भुसाल, सहसचिवमा बाबुराम सुवेदी,कोषाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सहकोषाध्यक्षमा बिन्दु क्षेत्री चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा राजकुमार गुरुङ, हरीबहादुर क्षेत्री, गंगाबहादुर क्षेत्री, विष्णु क्षेत्री,  विष्णु शर्मा सुवेदी,राजु कुवर, राजबहादुर गुरुङ, लालप्रसाद(गौतम)गुरुङ र रामु काफ्ले रहनुभएको छ।   नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्णबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नयाँ कार्यसमिति निर्वाचनका लागि कृष्णबहादुर गुरुङ, मेजर गणेश पौडेल र हिरामणी भुषाल रहेको निर्वाचन समिति गठन गरिएको थियो।   नवनिर्वाचित अध्यक्ष खड्कबहादुर पौडेलले सम्पर्क समाजको जिम्मेवारी ग्रहणले आफुलाई समाज र जन्मेहुर्केको गाँउप्रति थप जिम्मेवार बनाएको र सबैलाई समेटेर, समन्वय गरी संस्थालाई क्रियाशिल बनाइ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुदै समाजका अग्रजदेखि सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।   यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उहाँले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुदै पोखरामा बसोबास गर्ने भँगारेहरुको एकता, दुःख सुखमा साथ र भँगरा गाँउका विकास एवम सेवाका लागि संस्थागत पहल आवाश्यक रहेकाले सम्पर्क समाज गठन गरी क्रियाशिल रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।   उक्त कार्यक्रममा समाजका जेष्ठ नागरिकहरुलाई सम्मान, विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान, निर्वतमान अध्यक्षलाई सम्मान समेत गरिएको थियो भने कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।   साधारणसभामा सचिव देवबहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर पौडेल क्षेत्रीले प्स्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।   समाजका अध्यक्ष नवीन पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर पौडेलले स्वागत, सचिव देवबहादुर क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो। 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।   राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्नुहुँदै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराउनुभएको छ ।   साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।  

क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।    काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो।    उनले तीन जनालाई क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने बताएका थिए। त्यसरी मासिक एक लाख भन्दा धेरै तलब हुने भन्दै उनीहरूबाट १५ लाख ठगेको आरोप छ।    रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ।   

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।    विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।    ‘नारी अनलाइन पत्रिका’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताउनुभयो ।   विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभयो ।    उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।   समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो, ‘‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’’   विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’’   अर्को एक प्रसङ्गमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरूको समिति बनाएर काम थालिएको पनि उहाँले जानकारी दिनुभयो ।   नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । 

काठमाडौं:  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ ।   सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ ।   भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको छ ।   २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।