काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

दमक:  झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको  मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार  विहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले  ठक्कर दिइएको जनाइएको छ।    ठक्कर दिने ट्रकका चालक  ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष  ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटना स्थलमै मृत्यु भएको हो ।   दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

काठमाडौं:     काठमाडौंसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीनरचार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको हिउँदमा वर्षा र हिमपात खासै हुन सकेको छैन । यसले गर्दा डढेलो र आगजनीका घटना बढ्न थालेका छन् । हिउँ नपरेपछि हिमाल कालापत्थरमा परिणत भएका छन् । यस्तै कृषि बालीमा पनि क्षति पुगेको छ भने विद्युत् उत्पादनमा पनि असर परेको छ ।

काठमाडौं:    नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै नेपाल वायु सेवा निगमलेआजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।  एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ ।  त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ । 

अयोध्या:  भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।   राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो।    नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरण गर्नुभयो।    महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभएको थियो।   शिला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताउनुभयो। उहाँले यो पुनीत कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो।    जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपाल भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उहाँको भनाइ थियो।   राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताउनुभयो।    नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्नपाउनु आफ्नो सौभाग्य भएको भन्दै यस कार्यलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो।   माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकामा बुधबार अयोध्या पुगेको थियो।    शिलालाई राममन्दिरको गर्भभागमा राखी रामको बालस्वरुप बनाइने छ। आगामी जनवरी २०२४ मा मन्दिर निर्माण सम्पन्न गरी  उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभएको छ।

काठमाडौं:  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल) को उद्घाटन गर्नुभएको छ ।   सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गर्नुभयो । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् ।   उद्घाटनका अवसरमा खड्काले भन्नुभयो, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौँ ।”   एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधा सम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताउनुभयो ।

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ।   पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरू भएको बैठकमा गृहमन्त्रालय,सरकारमा बस्ने कि नबस्नेलगायत विषयमा छलफल हुने बताइएको छ।   रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन्। तर  प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने मुडमा छन्।   आजको बैठक यसै विषयमा  केन्द्रित हुने रास्वपाले बताएको  छ।  

सोलुखुम्बु  : विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाइ गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले बिहीबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर संकलन गरिएको हो।    निकुञ्जका कर्मचारी,सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी),नेपाली सेना,नेपाल प्रहरी,स्थानीयलगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।   उनका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।     

गण्डकी: गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।   बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । बैठकको शून्य समयमा प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेका अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।   अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक–पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताउनुभयो । शून्य समयमा सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणीन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।   बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो । महेश भट्टराईले जनचाहना अनुरूप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।   विशेष समयमा सदस्य भक्तबहादुर कुँवरले नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले बोल्नुभएको थियो । अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ ।

काठमाडौं: पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीहरूका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ।    मौद्रिक नीतिको मध्यावधी समीक्षाका लागि ९ बुँदे सुझाव दिने क्रममा चेम्बरले २०८० असाढ मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नुपर्ने बताएको हो।    यसअघि उत्पन्न तरलता संकटसँगै चर्को ब्याजदरका कारण व्यवसायिक गतिविधी ठप्प प्राय रहेकाले अधिकांश ऋणीहरू समस्यामा परेको चेम्बरको ठहर छ।    मौद्रिक समीक्षामार्फत साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरले जनाएको छ। बैंक वित्तीय संस्थामा एकल दरको ब्याजदर कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ।    यस्तै, चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुबै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याइ उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ।   बैंक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियममा अधिकतम २ प्रतिशतसम्म कायम गर्न पनि चेम्बरले आग्रह गरेको छ।    राष्ट्र बैंकलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, 'बेस रेटमा लिने प्रिमियम हाल ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म रहेको छ। सो असमान व्यवस्था हटाई अधिकतम २ प्रतिशतसम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने।'   रेमिटेन्सलाई बैंकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याउनु पर्ने समेत चेम्बरले सुझाव दिएको छ।  मौद्रिक नीतिको मध्यावधी समिक्षाका लागि चेम्बरको सुझावः १.आर्थिक वृद्धि र ब्याजदर सम्वन्धमा-दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न एकल अंकको ब्याजदर कायम गरिनुपर्ने।   २.चालु पुँजी कर्जा सम्बन्धमा-चालु पुँजी कर्जा सम्वन्धमा साना ठूला दुबैखाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पु¥याइ उद्योग व्यवसाय क्षेत्रको आवश्यक्ता अनुसार उपयोग गर्न पाउनुपर्ने।   ३. ब्याजदर सम्बन्धमा-विसं २०७९ पुस भित्रमा सावाँ र ब्याज तिर्न नसक्ने ऋणीहरूका लागि विसं २०८० असाढ मसान्तसम्म म्याद थप गरी पुर्नतालिकीकरण गरिनुपर्ने।   ४. प्रिमियम सम्वन्धमा-बेस रेटमा लिने प्रिमियम हाल ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म रहेको छ। सो असमान व्यवस्था हटाई अधिकतम २ प्रतिशतसम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने।   ५. बै‌ंकदर सम्बन्धमा-वित्तीय स्थायीत्वका लागि बैंकदरलाई ५ प्रतिशत कायम गरिनुपर्ने।    ६. बेस रेट सम्बन्धमा-अर्थतन्त्रका नकारात्मक सूचकहरूलाई सुधार गर्न एवं महँगी वृद्धि नहुने गरी बेस रेट कायम हुनुपर्ने।   ७. रेमिटेन्स प्रवर्द्धन सम्बन्धमा-रेमिटेन्सलाई बैकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याइनुपर्ने।   ८.मूल्यांकन सम्बन्धमा–आयात निर्यात हुने वस्तुको मूल्यांकन सम्बन्धी विश्लेषण बैंकिङ क्षेत्रको दायराबाट हटाईनुपर्ने।   ९. अनौपचारिक क्षेत्रमा रहेको पुँजी सम्बन्धमा-अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजीलाई बैंकिङ प्रणालीमा ल्याउन विशेष नीति अवलम्बन गरी अर्थतन्त्रलाई चलायमान बनाइनुपर्ने।