काठमाडौं: भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी छिन् । जसमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो । वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि खर्च गर्ने भएको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब। श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।
दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उहाँले भन्नुभयो । केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् । बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताउनुभयो । काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिनुभयो । बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ । यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो ।” उहाँका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ । बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछाँै”, उहाँले भन्नुभयो ।
गोरखपुर: भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ । शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मङ्गलबार राति गोरखपुर पुर्याइएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिँडेका हुन् । शिला आज (बुधबार) अयोध्या पुयाएर विशेष समारोहका बीच पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएको कांग्रेस नेता निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए । नेता निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको बताउनुहुन्छ । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन् ।
काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची रछ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुने जानकारी दिनुभयो । त्यसैगरी, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची छ ।
भक्तपुर: मोटरसाइकलको लाइसेन्स ट्रायल दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका–५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। दोलखा गौरीशंकर गाउँपालिका–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बुधबार बिहान १०ः३० बजे बालुवाटार पुग्नुभएको शर्माले बताउनुभयो । छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श हुनसक्ने सचिवालयका सदस्यको बुझाइ छ । पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गर्दै सो विषयमा उहाँले मङ्गलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक देवीप्रसाद (डीपी) ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले राज्यमन्त्री सरहको सुविधासहित उहाँलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएको बागमती प्रदेशका सदस्य देवन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो । माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उहाँसँग स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत छ । अखिल (क्रान्तिकारी)को नेतृत्व गर्नुभएका ढकाल जेलजीवन बिताउन बाध्य हुनुभएको थियो । भक्तपुर जिल्लाको विकाशमा टेवा पुग्ने विश्वास लिइएको छ। उहाँलाई नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले सिफारिस गरेको अर्का बागमती प्रदेश सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो ।
पोखरा: लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो । कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।
काठमाडौं: अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो । विसं. २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो । तर, पछिल्लो समय हर्नको दूरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्ष राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले आग्रह गर्नुभएको छ ।

