काठमाडौं: आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । “मेरो श्रीमानले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनिन् । उनले भनिन् “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।” उनले आफनो गोपनियता भंग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् ।सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ । अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताइन्। “हिजो (बुधबार) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो”, उनले भनिन् । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ । इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन् । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ । श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताइन्। उनले भनिन्, “उनलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उनलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।”
काठमाडौं: उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो । आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट सो कुराबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनैमाथि जाने भएको बताउनुभयो । उहाँले संसद्मा महिला सांसदले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने धारणा राख्नुभयो । उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले केही गाउँ भिजिट गरेँ । उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीको उपलब्धता छैन, यस्ता विषय सदनमा गुन्जियोस्, सांसदले यी कुरामा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसद हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’’ उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरेर त्यहाँका समस्या संसद्मा उठाउनुपर्ने बताउनुभयो ।
विराटनगर: नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । सत्ता गठबन्धन हुँदा भएको सहमतिअनुसार रास्वपाले गृहमन्त्री पाउनु पर्ने उहाँको भनाइ छ । ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ खोजिरहनु पर्दैन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘को गृह मन्त्री बन्छ भन्ने कुरा पनि रास्वपाले नै जिम्मेवारी लिने हो ।’ गृह मन्त्री रास्वपालाई दिने भनेपछि गृहमन्त्री को बन्छ भन्ने जिम्मेवारी पनि सोही पार्टीकै हुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकारमा आउन आतुर रहेको बताउनुभयो । जस्तोसुकै स्थितिमा सरकार चाहिएको कांग्रेसलाई राज्यमन्त्री नै दिँदा पनि मान्ने दाबी उहाँले गर्नुभयो । कांग्रेसले राष्ट्रपति हुन खोज्नु अनौठो कुरा भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रपति सत्ता पक्षबाटै हुने बताउनुभयो । नयाँ समीकरणको उम्मेदवार नै राष्ट्रपति बन्ने उहाँले प्रष्ट पार्नुभयो । सरकार गठन हुँदाताका के सहमति भएको हो सबैलाई थाहा भएको उहाँले बताउनुभयो । सहमति अनुसार नै राष्ट्रपतिको टुङ्गो लाग्ने उहाँले बताउनुभयो । प्रणालीमै सरकारको अस्थिरता देखिएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक अस्थिरता निम्त्याउन शक्तिहरू सक्रिय रहेको बताउनुभयो । लोकतन्त्र मुख्य कुरा भएकाले यसलाई संस्थागत र सुदृढ बनाउनमा ध्यान दिनुपर्छ उहाँले भन्नुभयो । “संविधान संशोधन गरिहाल्न बेला भएको छैन, भर्खर चुनाव सम्पन्न भएको छ, भर्खर सरकारको न्यूनतम कार्यक्रम जारी गरिएको छ” उहाँले भन्नुभयो ।
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मंगलबार छिचोलिएको आयोजनाको निमित्त प्रमुख राजाभाइ शिल्पाकारले जानकारी दिनुभयो । शिल्पाकारले भन्नुभयो, ‘‘जटिल र महत्वपूर्ण यो काम पूरा हुँदा निकै खुुुसी लागेको छ, व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रुपमा प्रयोग सकिनेछ ।’’ आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने उहाँले जानकारी दिनुभयो । प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरु लैजान र आवतजावतका लागि सहज भएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो विस्फोट गराइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा. लि. नेपाल जे. भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । कुल ५३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१को ब्रेक थ्रु भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले बिहीबार राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोड्नुभयो । सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको जनाउँदै सोही उद्देश्यले राप्ती नदीमा १० वटा घडियाल छाडिएको बताउनुभयो । यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जनाउँदै उहाँले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ । मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् । घडियाल राप्ती नदीमा छोड्ने कार्यक्रममा निकुञ्जका प्रमुख श्याम साह, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकृतलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापन भन्ने नारासहित एक अन्तरक्रिया पनि आयोजना गरिएको निकुञ्जले जनाएको छ । सहरी प्रदूषण र अतिक्रमण, गिटी–बालुवाजस्ता प्राकृतिक स्रोत–साधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको छ ।
काठमाडौं: अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफपी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ । बहराइनमा बुधबार अबेर सम्पन्न एएफसीको ३३औं कंग्रेसबाट नेम्वाङ सदस्य पदमा निर्वाचित हुनुभएको हो । नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित हुनुभएको एन्फाले जनाएको छ । दक्षिण एसियाली क्षेत्रबाट भुटानका युगेन सेचत एएफसीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यस क्षेत्रबाट अर्को सदस्यमा माल्दिभ्सका बसम अदेल जालिल निर्वाचित हुनुभएको छ । एएफसीको अध्यक्षमा बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा पुन: निर्वाचित हुनुभएको छ । खालिफाको यो तेस्रो कार्यकाल हो । नेपालबाट एफसीमा यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सदस्य हुँदै उपाध्यक्षसम्म बनेर एएफसीमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार आज (बिहीबार) भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।” नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टैछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उहाँहरुलाई जानकारी गराउनुभएको थियो । भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनुभएको थियो । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।
काठमाडौँ: ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्यान्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए । ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिस्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ । श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।
काठमाडाैँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । आज ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताए ।

