बागलुङ: बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् । कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फ चार हजार ५४४, ग्रेडवृद्धिमा ६२ जना र प्राविधिक धारका २३० विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार धौलागिरि बहिरा आवासीय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरि वीरेन्द्र माविमा भेटेरिनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठन पाठन भइरहेको छ । जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको उपाध्यायको भनाइ छ । बागलुङमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् । यस जनताधन माध्यमिक विद्यालयबाट तीन जना दृष्टिविहीन र धौलागिरि बहिरा विद्यालयबाट १८ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विदुर शर्मा चापागाईँले जानकारी दिनुभयो । परीक्षा सञ्चालनको लागि गत वर्ष ३१ वटा केन्द्र निर्माण गरिएको थियो । यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा कायम रहने छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं: नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो । यद्यपि, नेप्सेमा तीव्र गिरावट आएपनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् । यद्यपि, आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली। र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उहाँको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको छ भन्नुभयो । उहाँले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो । कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन ।”
काठमाडौं: बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।
म्याग्दी: बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरुले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि बिकास बैंकका प्रतिनिधिहरु घरमै आइपुग्नुभयो । त्यसपछि जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो । तीन महिनाको मासिक चार हजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आङ्गनमा सुतीरहनुभएकी जसिकलालाई कर्मचारीले रकम हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष थापासहित बैंकका प्रतिनिधिले रकम हस्तान्तरण गर्नुभयो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दैआउनुभएको छ । तीन वर्षदेखि विरामी हुनुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै पु¥याइदिँदा सहज भएको उहाँको भनाइ छ । गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो, वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभई अरु बुढाबुढीलाई पनि सजिलो भयो, स्थानीय धनकुमारीले बताउनुभयो । बेनी नगरपालिका –१, रत्नेचौरका वडा अध्यक्ष अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिका भएपछिको वडानम्बर १ हुँदैगर्दा वडासचिव समेत रहनुभएका थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता भएका समेत धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो । गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो । बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका –१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय एक जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्छन् । ३५६ जनाले सामाजिक सुरक्षा भत्ता र ४५ जनाले पोषण भत्ता पाउने वडा अध्यक्ष थापाले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको फाँटक्षेत्र अर्थात् माथिल्लो भेगको रत्नेचौर र अर्जम क्षेत्रमा २ सय १ जना सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपियाँ वितरण गरिएको कृषि विकास बैक बेनी शाखाले जनाएको छ । चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको उपल्लो क्षेत्रका २०१ मध्ये १ सय ८० जनालाई घरमै पुगेर वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
पोखरा: पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार सङ्गीताको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । उहाँको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्री पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दैगर्दा उहाँलाई उद्धार गर्ने क्रममा सङ्गीता जलेर गम्भीर घाइते हुनुभएको थियो । घाइते कृष्णको उपचार भइरहेको छ । घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
ढल्केवर: धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवा कक्षको भित्ता फोडेर फरार भएका छ जनाको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । उहाँले घटनासम्बन्धमा छानबिन समिति बनाएर समेत अनुसन्धान गरिने जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीले खोजी कार्यमा तालिम प्राप्त कुकुर र सशस्त्र प्रहरीलगायत सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभुयो । आइतबार राति करिब ३ बजे विभिन्न मुद्दाका छ जना आरोपित हिरासत कक्षको दक्षिणी भागको भित्ता फोडेर फरार भएका थिए । फरार हुनेहरुमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल र २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२, बस्ने २५ वर्षीय हरिदीप सिंह, सोही नगरपालिका–६, बस्ने २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शङ्कर सिंह रहेका छन् । फरारमध्ये विनोद लागूऔषध, अमित सावरी ज्यान, रोशन राष्ट्रसेवक कर्मचारीसँग अभद्र व्यवहार, हरिदीप कुटपिट तथा रोशन र शङ्कर अवैध हात हतियार मुद्दाका आरोपित हुन् । प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएका कारण इट्टा फोडेर भागेको प्रहरीको भनाइ छ । उनीहरु फरार भएको घटना थाहा पाएलगतै खोजी कार्यमा सक्रिय भएका सुरक्षाकर्मीले भागेर जाने सम्भावित स्थान तथा जिल्लाबाट बाहिरीने सवारी साधनमा समेत जाँच बढाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

