बागलुङ: बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३६ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ११ जनामा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले जानकारी दिनुभयो । उनीहरुलाई समस्याअनुसार चश्मा तथा औषधी प्रयोग गर्न सुझाइएको छ । विद्यार्थीको उज्यालो भविष्यका लागि शिविर आयोजना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थामन थापाले बताउनुभयो । सो अवसरमा माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गर्नुभएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ‘पत्रकार त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषण गरिएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा हालको केन्द्रीय सदस्य र प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष हुनुन्थ्यो । हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार घोषण गरिएको सेन्टरले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
पर्वत: पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ । गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या समाधान भएको हो । लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमाथि लिफ्टिङ गरी मैदानस्थित लिमिकोटमा पानी पुर्याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो । यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो । आयोजनाको ट्याङकी निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भइसकेको र वितरण पाइप जडान पछि घर–घरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो । उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरी उपभोक्तामा विद्युत मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो । आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत स्टिमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ । आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्नेगरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो । उहाँले आयोजनाको काम छिटो सक्नेगरी कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने प्रतिबद्धता जनाउनुभयो । संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच आम सर्वसाधारणसम्म पुर्याउन मन्त्रालयले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो । आयोजनामा आवश्यक पर्ने विद्युत ल्याउन विद्युत प्राधिकरण लगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ । लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरू खुसी भएका छन् । सङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका स्थानीयहरू १ घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए । खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पनि पानी ल्याएको भए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकाशे पानीको भरमा बस्नुपरेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुनः नेपाली नागरिकता प्राप्त गरेका छन्। पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो । सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ। रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताउनुभयो । “यो न्यायोचित माग हो । यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जेजति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।” सत्ताइस वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु ।” महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ । उहाँहरुले सङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ ।” महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उहाँले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुभयो । “स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन । पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशिल व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती रहेको स्पष्ट पार्नुभयो । “हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
म्याग्दी: पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवा निबृत्त हुनुभएका बीरबहादुर र करिब १२ वर्ष बैदेशिक रोजगारीमा भौतारीनु भएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फष्टाउँदैगएको छ । दुई जनाले आफ्नो झण्डै खेर गएको अवस्थामा रहेको जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ । चिता निकै द्रुत गतिमा दौड्ने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेण्टीसाइडले च्याप्दा भारतीय सेनाको चीता नामक हेलिकोप्टरले रेस्कु गरेर आफूलाई जिवनदान दिएको हुँदा त्यही छिटो दौड्ने चिताकै नामबाट व्यवसायको नाम राखेको बीरबहादुरको भनाइ छ । बैदेशीक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् । ४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ गतेबाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड लगानी भएको बीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरुले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीन वटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ । चिता हाउसकै कम्पाउण्डमा फरक फरक स्थानमा दुई वटा बनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दाहरुलाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो । यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
उपप्रधानमन्त्री, गृहमन्त्री, सांसदसँगै पार्टीको सभापतिबाट आउट गर्न भूमिका खेलेका अधिवक्ता रविराज बसौलाका अनुसार रवि लामिछाने आज पुनः सांसद हुँदै मन्त्रीको जिम्मेवारीमा फर्कने सम्भावना प्रबल छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रत्यक्ष निर्वाचित भई सत्ता समीकरणमार्फत उपप्रधान र गृहमन्त्री भएपछि नागरिकता विवादमा सर्वाेच्च अदालतबाट भएको फैसलाले उनलाई चारै पदबाट ‘आउट’ गरेको हो । सर्वाेच्च अदालतमा रविको नागरिकतासम्बन्धी रिट दिएका अधिवक्ता बसौला भन्छन् ‘उहाँ (रवि)ले आज नागरिकता पाउनुहुन्छ र आजै वा भोलीसम्म पुन मन्त्री बन्न सक्नुहुन्छ ।’ सांसद नभएपनि ६ महिनासम्म मन्त्रीमण्डलको सदस्य हुने पाउने प्रावधना रहेकाले लामिछाने आज पुनः मन्त्री हुनसक्ने बसौलाको भनाई छ । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएपछि लामिछानेले वंशजकै आधारमा नागरिकता पाउने छन् । ‘सर्वाेच्चमा मैले रिट दिनुको उद्धेश्य रवि लामिछानेविरुद्ध जानु होइन’ अधिवक्ता बसौला भन्छन् ‘राष्ट्र हाँक्ने पदमा पुगेका सम्मानित व्यक्तिलाई जिम्मेवार बनाउनु मात्र हो ।’ पार्टीको सभापतिको हैसियतले कहाँ–कहाँ लामिछानेले हस्ताक्षर गरेका छन् त्यस्ता निर्णय र सम्बन्धित विषयमात्र खारेज हुने उनको भनाई छ । रोचक त यो छ कि दुबै रवि पहिले पत्रकारितामै सक्रिय थिए ।
दैलेख: ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो । उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।

