काठमाडौं: रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्। उनले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। सिंहदरवास्थित गृह मन्त्रालयबाट उनी सिधै बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए। त्यसअघि सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्दै सांसद र मन्त्री पदका लागि अयोग्य रहेको आदेश सुनाएको थियो।
सर्लाही: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न भन्नुभएको हो । राज्य आर्थिक रुपले सङ्कटमा परिरहेको अवस्थामा तस्करी तथा राजस्व छली नियन्त्रण गरी कर सङ्कलनको दर वृद्धि गर्नुपर्नेमा रक्षामन्त्री उप्रेतीको जोड छ । उहाँले अवैध रुपमा भइरहेको गिट्टी, बालुवा र ढुङ्गा लगायत राष्ट्रिय सम्पत्तिको दोहनलाई समेत नियन्त्रण गरी त्यसलाई प्रक्रियागत रुपमा करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । रक्षामन्त्री उप्रेतीले लक्ष्यअनुसार कार्यप्रगति देखिनेगरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले आवश्यकता र आमनागरिकले अनूभूति पाउनेगरी काम गर्न सक्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले मन्त्री उप्रेतीलाई यहाँको वस्तुस्थित र आफ्नो कार्यालय अन्तर्गतका समस्याहरु राख्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्तमान सरकारमा रक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आउनुभएका मन्त्री उप्रेतीलाई शुक्रबार नै उद्योग वाणिज्य सङ्घ हरिवन र नेकपा (एमाले) क्षेत्र ३ को क्षेत्रीय कमिटीले स्वागत तथा सम्मान गरेका छन् ।
काठमाडौं: उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयसँगको सहकार्यलाई अझै बिस्तार गर्ने बताउनुभयो । नवीकरणीय ऊर्जा उत्पादन तथा विधुत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो । अहिलेको सरकारको प्राथमिकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रवाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानका लागि राजदूत पोलिटसमक्ष आग्रह गर्नुभयो ।
सुनसरी: सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ। यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटक पटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
काठमाडौं: नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ सोमबारदेखि हुने भएको छ। यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिताका निर्देशक अजय विष्टले जनाएका छन्। ब्वाइजरगल्र्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२–३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ। छनोटको ब्वाइजमा नेपालबाट ९, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान ३–३, अमेरिका र हङकङबाट समान २–२ तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। गल्र्समा नेपालबाट ९, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट १–१, मंगोलियाबाट २ र भारतबाट ४९ खेलाडी सहभागी हुने छन्। प्रतियोगिताअन्तर्गत सर्किट २ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ। खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।
पोखरा: जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरण गर्न स्कुल बसलाई चेकिङ गर्न थालेको छ । पोखराको बजारभित्र सञ्चालन भएको स्कुल बसहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाइएपछि स्कुल बसहरुलाई चेकिङ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । १४१ वटा बस चेकिङ गरिएको थियो । पाठकले भने, ‘११७ वटा बसमा गल्ति भेटिएको छ । ७ वटा बस कारवाहीमा परेका छन् ।’ ‘पोखरा भित्र रहेका स्कुल बसहरुले ट्राफिक नियम पालना नगरेको व्याकप गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएका छौं, पाठकले भने, ‘अनुगमनको क्रममा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाएका छौं ।’ ‘स्कुल बसका चालकहरुले लाइन्सेस देखि बसको कागजपत्रहरु समेत साथमा नराखेको पाइएको छ । सम्बन्धित विद्यालयलाई पत्र काटेर यसलाई नियन्त्रण गर्न छलफल गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ पाठकले भने । बुधबारदेखि स्कुल बसहरुलाई बढी चेकिङ गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो। निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते दिनको १२ बजे बस्नेछ।
काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् । ‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’ स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’ गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।
काठमाडौं: चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । सर्वोच्चमा आज (शुक्रबार)देखि सञ्चालनमा आएको हेल्थ डेस्कको उद्घाटन अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले गर्नुभएको हो । डा। बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हेल्थ डेस्क हप्ताको तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) बिहान १० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

